‘हामीलाई रेसम फिलिलि हेर्न लैजानुस,बाबा’, छोरी बिहानैदेखि उफ्रिरहेकी थिइन्, ‘आज घुम्न जाने, मेरा सबैजना साथीले त धरहरा पनि चढीसके!’
बिहानभरि खुट्टा बजार्दै ओल्लो र पल्लो कोठा गरिरहेकी छोरीकै पक्षमा थिइन् आमा, ‘कहिलेकाहाँ त हामीसँग पनि घुम्न गए हुन्छ केरे।’
सुन्धारामै धरहरा छ, नजिकै रहेको सिभिल मलमा फिल्म हल। ‘धेरै घुमिरहनु पनि पर्दैन यिनीहरूको धोको पूरा गर्नुपर्यो,’ चमत्कार पौडेलको मन मानिसकेको थियो बिहान।
वैशाख १२ गतेको आकाश भने बिहानैदेखि उजेलीअधेरी गरिरहेको थियो।
खाना खाएपछि त्यही आकाश हेरेर चमत्कारले आफ्नो अन्तिम निर्णय सुनाए, ‘आजको मौसम ठीक छैन नजाने।’
आमाछोरी गनगन गर्दै बसे।
***
दाजुहरुले सँगै बसेर तास खेल्न बोलाएकाले जाने तर्खर गर्दै थिए उनी। फोन आयो।
फोनमा बोलिरहेकै बेला कोठाका सामान थर्रर कामे। अर्को पलमा त घरै मच्चिन थाल्यो। उनीहरू भाग्न लाग्दा पल्लो कोठाबाट बुवाले सम्झाए, ‘भाग्न हुन्न बाबु, यहीँ बस।’
धर्तीको कम्पन थामियो।
उनीहरु आफ्नो घर छोडेर बाहिर निस्के। बनस्थली खरिबोटमा एउटा ग्रील कम्पनीको ग्राउण्ड छ, त्यही शरण लिए। उनीहरूका दाजुभाई खलक पनि सबै त्यहीँ जम्मा भए।
दुई दिन बिते, धर्ती हल्लीन छोडेको थिएन।
उनीहरुलाई घर पस्ने आँट आएन।
***
१४ गतेका दिन, मोटरसाईकलमा एकजना मान्छे उनीहरुकै पालमा आए, भेट्न भनेर। पौडेल दाजुभाइहरू तासमा जमेर भूइँचालोको कम्पनले ल्याएको त्रासबीच
रमाउने प्रयासमा थिए।
निमेषमै मोटरसाइकलबाट ओर्लिएर र हेल्मेट पनि खोले।
चिनजानकै वकिल रहेछन्, मुकुन्द शर्मा पौडेल।
असिन पसिन भएर आएका उनले सोधे,‘चमत्कार जी तपाइँ होइन?’
राम्रैसँग चिनेका मान्छेले यसरी सोध्दा उनीहरुलाई अचम्म लाग्यो।
उनले आफू हुँ भन्नै पाएका थिएनन्, ती वकिलले फेरि भने, ‘तपाइँ जिवितै हुनुहुँदो रहेछ!’
सबैजना चकित परे।
‘अनि को हो त टिचिङ अस्पतालमा?’ उनको होसहवासै थिएन।
‘के भनेको यस्तो पाको मान्छे भएर पनि?’यसपाली चमत्कारले उनलाई प्रश्न गरे,‘म त यैँ छु देखिहाल्नु भो नि’
‘म पनि त फेण्ट नभै आको छु, धन्न तपाई होइन रहेछ,’ उनी अझै हतास थिए।
वरिपरि रहेका परिवारजन सबै मुखामुख गरे।
***
त्यही दिन बिहान टिचिङ अस्पतालबाट मुकुन्दलाई फोन आयो, प्रहरीको।
‘धरहरासँगै खसेर घाइते भएका बाग्लुङ अमलाचौरका चमत्कार पौडेलको खल्तीमा तपाईको भिजिटिङ कार्ड रहेछ, तपाई सनाखत गर्न आइदिनुपर्यो ।’
प्रहरीले यसोभन्दा मुकुन्दको आँखामा यीनै चमत्कारको अनुहार आएछ। बाटामा चमत्कारसँगका सम्झनाहरु सिनेमाका रिल झैं घुम्न थालेछन्।
अस्पताल पुगेर मृतकको अनुहार उनले सनाखत गर्नै सकेनन्। सुन्निएको थियो। शरीर पनि सग्लो थिएन। मुकुन्दले ठम्याउन सकेनन्। चमत्कारका आफन्तलाई फोन गर्ने आँट पनि गरेनछन्।
आफै गएर बुझ्ने सुर कसेछन्।
त्यसपछि उनी बनस्थली पुगे। सिधै घर जान आँट आएनछ। चमत्कारकै आफन्तको पसलमा पुगेर उनले सोधे।
‘चमत्कारहरु त त्यहीँ छन् भर्खरै यहीबाटो त्यता गएका हुन्,’ पसलमा त्यस्तो जवाफ पाएपछि मुकुन्द ग्रील कारखानातिर गएका थिए।
***
मुकुन्दका कुरा सुनेपछि भने चमत्कारले आफूलाई सुस्तरी छामे।
शनिबार बिहान धरहरा जाने सोच बनाएको सम्झेर उको मुटु ढक्क फुल्यो।
‘हामी घरमा बस्न डर लागेर पालमा बसिरहेका थियौँ उनी मै मरेको भन्दै आएपछि त छाँगाबाट खसे झैँ भए नी,’ चमत्कारले भने। ‘त्यसो भए अस्पतालमा भएको मरेको मान्छे को हो जसको परिचयपत्रमा तपाईँकै नाम र ठेगाना पनि तपाईकै छ?’ मुकुन्दले सोधे।
त्यसपछि फेरि चमत्कारका परिवारको मुखामुख भयो।
उनको नाम नौलो लागेर एकजना आफन्तले आफ्ना छोराको नाम राखेको उनीहरुलाई याद छ।
‘उनी त दिल्लीमा पढ्न गएका छन् हाम्रो गाउँमा अर्को को छ चमत्कार पौडेल भनेर खोज्न थाल्यौँ,’उनले भने।
गाउँकै एक जना आफन्तले अल्लिबेरमा पत्ता लगाए, ‘उनी त अमलाचौर गाविसकै सरंगीका हरिनारायणका छोरा हुन्।’
चमत्कारलाई बल्ल याद भयो ती मान्छे को थिए। उनीहरु दुबैको नामको रामकहानी रोचक थियो।
***
चमत्कारको बाग्लुङ बलेवा क्षेत्रको चिनिएकै राजनितिक परिवारका हुन्।
उनका जेठबुवा र कान्छोबुवा प्रधानपञ्च भैसकेका थिए। उनका बुवा घननाथ पौडेल शिक्षक। त्यसैले उनीहरुको खान्दान त्यो भेगमा परिचित थियो।
उनका बाबु घननाथका साथी थिए, सरंगीका हरिनारायण शर्मा पौडेल।
तिनै हरिनारायणले चमत्कारका बुवा घननाथ र आमा हुमकुमारीको विहे गराइदिएका हुन्।
चमत्कार जन्मिएको एकवर्ष पछि हरिनारायणका छोरा पनि जन्मिए।
‘तपाईँका छोराको नाम के राख्नु भयो?’ एकदिन हरिनारायणले घननाथलाई सोधे रे।
‘चमत्कार!’
‘खुब नौलो नाम राख्नु भएछ म पनि छोरो जन्म्यो भने यही नाम राख्छु,’ उनले यसै भन्थे रे।
नभन्दै केहि महिनापछि हरिनारायणको छोरा नै जन्मिए। न्वारनको नाम 'ब' बाट जुर्यो। पण्डितले विष्णु राखिदिए।
आफन्तहरुले उनलाई विष्णु नै भन्न थाले। हरिनारायणले पनि विर्सिए।
छोराको नाम चमत्कार राख्ने बाबुको इच्छा विष्णुले थाहा पाए। जब एसएलसीको रजिष्ट्रेसन फर्म भर्ने बेला आयो विष्णुले सुटुक्क आफ्नो बुवाको इच्छा पूरा गरिदिए।
औपचारिक कागजमा विष्णु चमत्कार पौडेल भैसकेका थिए।
बाबुहरू साथी भएको नाताले यी दुवै चमत्कारको पनि बालकैदेखि चिनजान थियो।
त्यसैले चमत्कारले थाहा पाएका थिए विष्णुले आफ्नो नाम फेरेका छन् भन्ने कुरा।
***
अमलाचौरका चमत्कार पौडेलको मृत्यु भएको कुरा पत्रिकामा आयो। धेरै आफन्त झस्कीए।
उनीहरुको नाम मात्रै होइन, पेशा पनि उस्तै थियो- ब्याङकर।
यी चमत्कार ग्लोबल आइएमईमा काम गर्छन्, विष्णुबाट चमत्कार बनेका स्वाबलम्बन विकास बैँकमा काम गर्थे।
वैंकमा काम गर्ने अमलाचौरका चमत्कार पौडेल भनेपछि धेरैजसोले यिनै ग्लोबलवाला चमत्कारलाई सम्झिन्छन्।
चमत्कारका परिवार र आफन्तलाई समवेदना दिन फोन आउन थाल्यो।
धरहराबाट खसे भनि ठानिएका चमत्ककारको नम्बरमा फोन गर्ने कुरा भएन। आफन्तहरुलाई फोन गरेर 'कठैबरा'बाट कुरा सुरु हुन्थ्यो।
यी चमत्कारलाई आफूले केटाकेटीमा विष्णु भन्ने गरेको चमत्कारको निधनले साह्रै सकस गराइदियो। तिनी स्याङजामा काम गर्थे भन्ने मात्रै थाहा थियो उनलाई।
उनले चिनेजानेका मानिसहरुसँग सोधि खोजी गर्न थाले।
स्याङजा शाखाबाट उनको एकमहिना अघि सरुवा भएको रहेछ।
तर, काठमाडौँ आएको भने त्योबेला ३ चार दिन मात्रै भएको। किर्तिपुर शाखामा सरुवा भएकोले उनले त्यतै डेरा खोजेछन्।
शनिबार विदाको दिन भएकोले उनी सुन्धारा आए, धरहरा चढ्न।
कसैलाई केही खबर नै नगरी उनी एक्लै धरहरा चढ्न गएका भुइँचालो गैहाल्यो। धरहरा ढल्यो।
एक दुई दिन अत्तोपत्तो नलागेपछि आफन्तहरू आफै अस्पताल चहार्न थालेछन्।
***
सानैमा चमत्कार आमासँगै मामा घर जाँदा सरङगी हरिनारायणको घरमा सुस्ताउँथे। अमलाचौर गाविस भए पनि चमत्कारको घर अलि माथि पथ्र्यो।
हरिनारायणको घर तल सरङगीमा।
आफ्नो विहे गरिदिएको र श्रीमानको साथी भएकाले चमत्कारकी आमालाई त्यहाँ पस्न,बस्न र मीठो मसिनो खाएर हिँड्न दकस लाग्दैनथ्यो।
त्यसैबेला केहि महिना फरकका चमत्कार र विष्णुले एकअर्कालाई चिनेका थिए।
अलि ठूलो भएपछि सरङगीको बाटो भएर स्कुल जाँदा आउँदा उनीहरुको चिनजान राम्रैसँग भएको थियो। संवन्ध गाढा हुँदै जाँदा विष्णु पनि चमत्कार भइसकेको पुराना चमत्कार थाहा पाइसकेका थिए।
एसएलसी पछि, घननाथका छोरा चमत्कार क्याम्प्म पढ्न काठमाडौँ आए। दश वर्षअघि होला काठमाडौँबाट सरङगीको बाटो हुँदै माथि आफ्नो घरतिर जानुपर्यो चमत्कारलाई।
सरङगीको एउटा पसलमा दुवै चमत्कारको भेट भयो। सन्चोविसन्चो बारे सोधिखोजी पछि चमत्कारले भने-हतार छ जान्छु। फेरि भेटौँला।
त्यही उनीहरुको अन्तिम भेट भयो।
आफूसँग धेरै किसिमको भावनात्मक सम्वन्धहरू जोडिएका साथीको निधनले चमत्कार दुःखी छन्। शोकमग्न परिवारका सामुन्ने गएर हार्दिक श्रद्धाञ्जली व्यक्त गर्ने साहस भने जुटाउन सकेका छैनन्।
यिनी नै भग्नावशेषमा परेका हुन् की भन्ने ठानेर चमत्कारका आफन्त र साथीभाइसँग सोधिखोजि गर्ने र छड्के बुझ्ने सिलसिला पनि अझै टुङ्गिएको छैन।