आज अपरान्ह आएको ७.३ म्याग्निच्यूडको धक्काले राजधानी काठमाडौंका धेरै घरलाई बस्न नहुने गरी चर्काएको छ भने केही ठूला भवनहरू जगैसम्म ध्वस्त हुने गरी भत्किएका छन्।
गत वैशाख १२ मा आएको भूकम्पपछि विस्तारै सामान्यीकरणतर्फ गइरहेको जनजीवन त्रसित भएको छ। राजधानीको नयाँबजार, नयाँबसपार्क र सामाखुसीमा ठूल्ठूला भवनहरू भत्किएपछि त्रास अरु घनीभूत भएको हो।
यी भवनहरूमा प्रारम्भिक अनुमानमा कोही नपरेको उद्धारकर्ताहरूले ठानेका छन्। तैपनि उनीहरूले साँझसम्म ती खोजी जारी राखेका थिए।
प्रायः यसरी ढल्ने भवनहरू पाँचदेखि नौ तलेसम्मका छन्। नयाँ बसपार्क नजिकै रहेको मित्रनगरमा भत्किएको एउटा नयाँ होटल र त्यसैसँग रहेको भवनमा कोही पनि हताहत भएका छैनन्। यसअघि गएको भूकम्पले चर्किएका यी घरमा मानिसहरू बस्न छाडेका थिए।
नौतले भवनसँगैको भवनमा फेन्सी पसल गरेर बसेका ललितबहादुर खड्का भूकम्पको धक्का महसुस हुनासाथ सडकपारि नपुगेका भए ज्यान जोगाउन सम्भव हुने थिएन। ‘म आत्तिएर पारि सडकमा पुगेँ’, उनले भने, ‘यसो हेर्नासाथ धुलो उडेर केही देखिएन। घर पूरै ढलिसकेको थियो।’
सामाखुसीको ६ तले भवनमा पनि धेरै मानिस बसेका थिएनन्। तर, त्यसैमा रहेको एउटा छाप्रोमा स्थानीय किशोरहरू साइबर क्याफेमा रमाइरहेका बेला भुइँचालो गएको थियो। तीमध्ये दुईजना भवन भत्किएतिर भागेको ठानी राति अबेरसम्म खोजी जारी राखिएको थियो।
‘कोही हुनुहुन्छ?’ उद्धारकर्ताहरूले बाहिरबाट आवाज दिएर भित्र सन्देश पठाउन खोजेका थिए। तर, उनीहरूले भित्र कुनै जीवित व्यक्ति नभएको निश्कर्ष निकालेका थिए।
भूकम्पबाट भवन ढलेका ठाउँमा रमिते व्यक्तिहरूले गर्दा भने उद्धारकर्ताहरूलाई निकै अप्ठ्यारो हुने गरेको देखियो। अझ उनीहरूले आवाज निकाल्दा उद्धार गर्नुपर्नेहरूले कुनै आवाज दिएको भए पनि सुन्न नसकिने उद्धारकर्ताहरूको गुनासो थियो।