नेपाल विद्यार्थी सङ्घले भूकम्पपीडितलाई त्रिपाल बेचेको भन्ने भ्रामक समाचार सम्प्रेशण गर्ने दुई अनलाइन विरुद्ध बुधबार मुद्दा दर्ता गरेको छ।
नेपालपाटी अनलाइनका अध्यक्ष युवराज कार्की, प्रबन्ध निर्देशक सरिता निरौला र सम्पादक प्रेम गौतम, र झिल्को अनलाइनका सम्पादक सीता अधिकारी र प्रबन्ध निर्देशक प्रकाश लामिछानेविरुद्ध महानगरीय प्रहरी परिसर हनुमानढोका अपराध अनुसन्धान महाशाखामा विद्युतीय अपराध विरुद्धको मुद्दा दर्ता गरेको नेवि सङ्घका प्रवक्ता युपी लामिछानेले जानकारी दिए।
नेपालपाटीले यही वैशाख २१ गते ‘नेवि सङ्घले विदेशीले दिएको त्रिपाल बेच्दाबेच्दै प्रहरी फन्दामा’ भन्ने शीर्षकमा र झिल्को अनलाइनले वैशाख १६/१७ गतेदेखि नै ‘सहयोग पाएको त्रिपाल समेत बेचियो’ भन्ने शीर्षकमा समाचार सम्प्रेषण गरिरहेको उनले बताए।
सङ्गठनलाई नै बदनाम गराउने तरिकाले समाचार सम्प्रेषण गरेको भन्दै उनले भने–‘यदि त्यसो गरेको भए प्रमाण ल्याउन म चुनौती दिन्छु।’
सङ्गठनले भूकम्पपीडितका लागि विभिन्न खालका राहत कार्यक्रम गर्नेदेखि लिएर सडक बढार्ने काम समेत गर्दै आइरहेको उनले बताए। रासस