गत वैशाख १२ को शक्तिशाली भूकम्पले निम्त्याएको विपत् व्यवस्थापनमा अहिले सरकार, देश–विदेशमा रहेका नेपाली, दातृ निकाय र मित्रराष्ट्र सबै लागिपरेका छन्।
यस्तैमा नेपालीहरुले सुरु गरेको सामाजिक सञ्जाल ‘सगुनडटकम'ले पनि भूकम्पपीडितहरुलाई राहत सहयोग गरिरहेको छ। ‘सगुन'को संयोजनमा भूकम्पबाट बढी प्रभावित जिल्लाहरु सिन्धुपाल्चोक, काभ्रे, धादिङ र काठमाडौं उपत्यकामा राहत वितरण र सहयोग अघि बढिरहेको जनाइएको छ।
मंगलबार मात्रै सगुन संयोजनको टोली काभ्रे र सिन्धुपाल्चोकको विकट एवं बढी क्षति पुगेको स्थानमा पुगेर राहत वितरण गर्यो।
‘सगुन' संयोजनको उक्त टोलीमा हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै'का कलाकार एवं सरकारको ‘सरसफाइ दूत' सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) को जोडी सहभागी थियो।
यस्तै, पछिल्लो समयमा दर्शकको रोजाइमा परेको टेलिश्रृंखला ‘भ›गोल'का कलाकारहरु कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे) र ‘कक्रोज'लगायत राहत वितरणमा खटिए। अमेरिकाबाट फर्किएलगत्तै धुर्मुस र सुन्तलीको जोडी राहत वितरणमा सक्रिय भएको हो।
टोलीले काभ्रेको पोलाटी गाविस र सिन्धुपाल्चोकको फुल्पिंग–५ र ८ मा राहत वितरण गरेको छ। राहतस्वरुप टोलीले पीडितलाई त्रिपाल, म्याट, औषधिलगायत दैनिक उपभोग्य वस्तु चामल, नुन, तेल, चिउरा पनि वितरण गरेको जनाइएको छ।
‘सगुन'को टोलीमा रहेका जीव विज्ञानका प्रतिनिधि, गणेशमान सिंह मेमोरियल अस्पतालका प्रतिनिधिसहितले स्थानीयलाई राहत वितरण गरेका हुन्। औषधिसहितको उक्त टोलीमा भारतबाट आएका वरिष्ठ चिकित्सक सुशील मेहतासमेत संलग्न थिए ।