संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)को भूकम्पबाट क्षतिग्रस्त कार्यालय खुलाउन बेलायतले सहयोग गर्ने छ। नेपालका लागि जीवनरेखा सरह मानिने सडक सञ्जाल खुला राख्ने कामको संयोजन गर्न सकियोस् भनेर बेलायतले यो सहयोग गरेको हो।
सहयोग अन्तर्गत बेलायती अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डिफिड) ले डोलिडारको नयाँ कार्यलयका लागि आवश्यक भवनको ४ महिनाको भाडा तिरिदिने छ। कार्यालय भवनका लागि डिफिडले दिने पैसा डिफिडको ‘ग्रामीण पहुँच कार्यक्रम (र्याप)' बाट रकमान्तरण गरिनेछ।
‘ग्रामिण पहुँच कार्यक्रम (र्याप)' नेपालमा सञ्चालन गरिरहेको गरिबी घटाउने कार्यक्रम हो जसले सरसामान, बजार र सेवामा गरिव र सीमान्तकृतहरूको पहुँचलाई सबल तुल्याउँछ।
डिफिड नेपालकी प्रमुख डा गेल मार्जेटीले भनिन्–यो अभूतपूर्व संकटसँग जुध्न कडा मिहिनेत गरिरहेको नेपाल सरकारसँग सधैँ काँधमा कँाध मिलाएर काम गर्ने कुरामा हामी विश्वास गर्छौं। भूकम्पप्रतिको सफल प्रतिक्रियाको अर्थ सफल सरकारी प्रयास हुनेछ। राहत प्रयास सकेसम्मको प्रभावी होस् भनेर बेलायतले नेपाल सरकारका सबै मन्त्रालयहरूसँग नजिकबाट संयोजन गरिरहेको छ। यसै अन्तर्गत हामी डोलिडारलाई यसको पूर्ण क्षमतामा फर्किन सहयोग गर्नेछौं। नेपालको सडक सञ्जाललाई पुन सञ्चालनमा ल्याउन विभागको निकै महत्व छ।
डिफिड र डोलिडार र्याप अहिले आफ्नो दोस्रो चरणमा छ र नेपालका पूर्वी, मध्य र सुदुर पश्चिम क्षेत्रका ७ जिल्लामा सञ्चालनमा छ।
वैशाख १२ गतेको ७.८ रिक्टर स्केलको भूकम्पले पुर्याएको क्षतिको सामाना गर्न डिफिडले नेतृत्वदायी भूमिका खेलेको छ। कूल साढे तीन अर्ब रूपैयाँ र बेलायती जनताले थप ५ अर्ब ६ करोडको प्याकेज सहित हाल भइरहेका राहत प्रयासमा डिफिड सबैभन्दा ठूलो दाता हो। राहत र पुननिर्माण प्रयासमा डिफिडले नेपाल सरकारलाई सहयोग जारी राखेको छ ।