मानवको सहज पहुँच नहुने स्थानको आपतकालीन रूपमा तुरुन्त तस्बिर लिन पर्यो भने स्याटेलाइटको प्रयोग गरिन्छ।
मुलत: फौजी प्रयोजनका लागि विकास गरिएको भएता पनि आजकल भूकम्प जस्ता विनाशकारी प्राकृतिक प्रकोपले पुर्याएको क्षतिको आंकलन गरेर उद्दार तथा राहत परिचालन गर्नका लागि तुरुन्त तस्बिर लिनका लागि पनि विकसित मुलुकहरुले व्यापक रुपमा यी स्याटेलाइटको प्रयोग गर्छन्।
यस्ता स्याटेलाइटहरु ३०० देखि १४०० किलोमीटर उचाईको कक्षमा रहेका हुन्छन्। एकै पटकमा कैयन वर्ग किलोमिटर क्षेत्रको तस्विर लिन सकिने र आवश्यकता अनुसार कुनै पनि देश/क्षेत्रको तस्विर लिन सकिने हुँदा आपतकालिन् प्रयोजनका लागि यस्ता तस्बिरहरु निकै सहयोगी र प्रभावकारी हुन सक्छन्।
पृथ्वीको सतह भन्दा निकै उचाइबाट खिचिने हुँदा यी तस्विरहरु जमिनमा बसी साधारण क्यामेराले खिचेको जस्तो सफा भने हुदैनन्।
हामीले जमिनको सतहमा बसेर तस्विर लिँदा घरको भित्ताहरुको तस्विर आउँछ भने स्याटेलाइटले आकाश/अन्तरिक्षमा रहेर तस्विर लिने हुँदा यी तस्विरहरुमा घरको छानाहरु देखिन्छ । तसर्थ यस्ता तस्विरहरु हेरेर विभिन्न बस्तुहरु छुट्याउनका लागि केहि अभ्यास आवश्यक पर्दछ।
साथै घरको भित्ताहरु मात्र चर्किएको/भत्किएको तर छाना केहि नभएको छ भने स्याटेलाइट तस्विरमा यस्तो क्षति आंकलन गर्न सकिदैन।
विकसित देशहरुको आफ्नै स्याटेलाइट हुने हुँदा आपतकालीन अवस्थामामा तुरुन्त यसको प्रयोग गरि राहत तथा उद्दार गर्ने गरेता पनि हामी अर्को देशमा भर पर्नु पर्ने हुँदा प्रभावकारी रुपमा यसको फाइदा लिन नसकेको अवस्था छ ।
डिजिटल ग्लोब नामक अमेरिकी कम्पनीले नेपालको भूकम्पको उद्दार कार्यका लागि नि:शुल्क उपलब्ध गराएको केहि स्थानहरुको भूकम्प भन्दा पहिलेको र पछिको स्याटेलाइट तस्विरहरु तल दिईएको छ । तस्विरमा भूकम्पको विध्वंश आफै हेर्नुहोस् ।
काठमाडौँ, धरहरा: पहिलो तस्विरमा ढलेको धरहराको फेद देखिन्छ, साथै दक्षिण-पश्चिम भेगको पर्खाल समेत नभएको पनि स्पस्ट देखिन्छ। दोस्रो तस्विरमा धरहरा र धरहराको छायाँ समेत प्रस्ट रुपमा देखिन्छ।
सिन्धुपाल्चोक, थान्पालधाप गा.वि.स. को धाप गाउँ: यस गाउँको ९०% भन्दा बढी घर पूर्णत ध्वस्त भएको देख्न सकिन्छ ।
गोर्खाको वारपाक गाउँ: यस गाउँको दक्षिण-पश्चिम कुनाका सबै घरहरु पूर्णत ध्वस्त भएको देखिन्छ भने बाँकि गाउँका लगभग ७०% घरहरु ध्वस्त भएको अनुमान गर्न सकिन्छ ।
सिन्धुपाल्चोक, मेलम्ची बजार: झोलुंगे पुल छेउका घरहरु ध्वस्त भएको देखिन्छ।
रसुवा, लाङ्टाङ् गाउँ: बैशाख १२ मा आएको भूकम्पका कारण आएको हिमपहिरोले पुरेर लाङ्टाङ् हिमालको आधार नजिक प्रसिद्ध पदयात्रा मार्गमा रहेको लाङ्टाङ् गाउँ लगायत वरिपरिका साना वस्तीहरु (च्याम्की, थांगस्याप र मुंडू) समेत पूर्ण रुपमा पुरिएको देखिन्छ । हिमपहिरोको क्षति यति ठुलो छ कि हिमपहिरो पछिको तस्विर हेरेर पहिले यो ठाउँमा बस्ति रहेको थियो भन्ने अनुमान गर्न समेत सकिन्न ।