महाभूकम्पको एक साता बितिसक्दा पनि धेरै व्यक्तिहरूले आफूलाई समालिसकेका छैनन्। धेरैका चेतन र अवचेतन मनमा भयले बास गरेको छ।
आखिर बृद्धदेखि बालबालिकासम्मका मनमा त्यो दिन गडेका डर स्वाभाविक हो? ‘यो स्वाभाविक हो' मानसिक रोग विशेषज्ञ विश्ववन्धु शर्माले सोमबार सेतोपाटीसँग भने, ‘अनायासै आएको भूकम्पले धेरैलाई अशक्त महसुस गराउँछ।’
‘अझ यसरी डराएको बेला व्यक्तिले आफूलाई अवाक महसुस गर्छ,’ उनले भने।
डा. शर्माका अनुसार ७.८ रेक्टर स्केलमा आएको अहिलेको जस्तो भूकम्पका तीन किसिमका असर देखिन्छ: एक, तत्कालको असर। दुई मध्यकालीन असर। र तीन, दीर्घकालीन असर।
भर्खरै भुइँचालो आएको छ। त्यसका प्रतिधक्काहरू महसुस भइरहेका छन्। यो तत्कालीन अवस्थामा फेरि पनि यस्तै भुइँचालो आउला कि? भन्ने भय भइरहन्छ। त्यो केही समयपछि त्यो आफै हराएर जान्छ, जुन अहिले हामीले भोगिरहेका छौं।
भुइँचालो जानासाथ कुनै कुनै व्यक्तिमा अस्वाभाविक अस्थिर क्रियाकलाप देखिन थाल्छन्। यसले गरेको क्षतिले रूने, कराउने, चिच्याउने, मुर्छा पर्ने लक्षण देखिन्छन्। ‘दिमागले भएका घटनामा शान्त्वना पाउन नसकेपछि अत्यन्तै भावुक किसिमका भावना आउन थाल्छन्’ उनले भने, ‘यो मानसिक रोग होइन विचलित मानसिक अवस्था मात्र हो।’
शर्माका अनुसार, भुइँचालोमा भएको धनजनको क्षतिका लागि आफ्नै कारणले भएको हो कि भन्ने भावना आउँछ। विस्तारै असुरक्षाको भावना पनि बढ्न थाल्छ।
राहत वितरणलगायतका काममा समेत अलिकति निमुखा र पिछडिएका व्यक्तिहरू पछि परिरहेका देखिन्छ। टाठाबाठाले त्यो बेलामा अगाडि नै सुविधा लिन सक्छन्। यस्तो बेलामा तिनीहरूलाई आफू त प्रकृतिले पनि ठग्ने, मान्छेले पनि पछि पार्ने रहेछ भन्ने हिन भावना जागृत हुन्छ।
‘तिरस्कृत भावनाले पनि मानसिक असन्तुलनको अवस्था आउन सक्छ’, शर्माले भने, ‘त्यसकारण राहत वितरण आदिमा पनि मानसिक आघात नपरोस् भन्नेमा ध्यान दिनुपर्छ।’
भूकम्प जानासाथ परेको मानसिक असर विस्तारै कम हुँदै जान्छ। सुरूका दिनको प्रतिक्रिया धेरैले विर्सदै जान्छन्। परिवार र सम्पत्तिको क्षति पनि क्रमशः मनबाट हट्दै जान थाल्छ।
तथापि भूकम्पपछि मानसिक असन्तुलन देखिन थाल्नेमा शर्माले सजग गराएका छन्। ‘मानसिक रोगको उपचारपछि निको भएका व्यक्तिहरूमा पनि यो फर्कन सक्छ’, उनले भने, ‘मन उथलपुथल भयो भने नयाँ व्यक्तिलाई पनि निस्किन सक्छ।’
उनले यो अवस्थालाई अझ सरलीकृत गर्दै भने, ‘पहिले रोग निको भइसकेकालाई पनि निस्किन सक्छ, पहिला थिएन भने पनि सुरु हुन सक्छ। कमजोर मानसिक अवस्था भएको व्यक्तिलाई यो अवस्था आउन सक्छ।’
यी मध्यकालीन असरपछि दीर्घकालीन रुपमा केही व्यक्तिहरूलाई असर देखिन थाल्छन्। उनीहरूले विस्तारै जेसुकैमा पनि खतरा महसुस गर्न थाल्छन्।
‘यी सबै अवस्थामा मानसिक रोगसरह औषधी गर्नुपर्छ’, शर्माले भने, ‘यस्तो असन्तुलन अलि पछाडि देखिन थाल्छ। धेरैलाई भुइँचालोका कारण मलाई यस्तो भयो भन्ने सम्झना पनि हुन छाडिसकेको हुन्छ।'
डा. शर्माका अनुसार, भुइँचालोको लामो समयपछि देखिने दीर्घकालीन असरमा पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पिटिएसडी) र अगोरा फोविया (एक प्रकारको मनको भयभित अवस्था) जस्ता दुई किसिमका समस्या देखिन सक्छन्।
यस्तो अवस्था आजभन्दा ४०/५० वर्षपछि पनि देखिन सक्छ जसरी भियतनाम युद्धमा लडेका अमेरिकी सैनिकहरूले भोगिरहेका छन्। आफूलाई कुनै घटना नभए पनि अरुलाई परेको देखेर पनि उनीहरूलाई मानसिक आघात पर्न सक्छ।
अगोरा फोवियाको अवस्थामा सम्बन्धित व्यक्ति अग्लो ठाउँमा पनि डराउँछ, होचो ठाउँ देखे पनि डराउँछ। ‘हुँदाहुँदा यस्तो व्यक्तिको दैनिक जीवनमै वाधा पर्न थाल्छ,' उनले भने, ‘यी असर जीवनभरि देखि सक्छन् जुन भुइँचालो आएको केही समयपछि मात्र देखिन थाल्छन्। उचित व्यवस्थापन नगरेमा जीवनपर्यन्त असर गर्न सक्छ।’
शर्माका अनुसार, भुइँचालोले सबैभन्दा बढी असर बालबालिकालाई पार्न सक्छ। त्यसैले उनीहरूका अगाडि यति मरे उति मरे भनेर बयान गर्ने, दिनहुँ टिभीमा भत्किएको, बिग्रेको र मरेको मात्र देखाउने पनि गर्नु हुँदैन।
‘उनीहरूलाई जानकारी दिनु, कसरी भुइँचालोबाट जोगिने भनेर सिकाउनु उचित हो’ उनले भने, ‘भुइँचालोले बालबालिकालाई पिटीएसडी हुने सम्भावना बढी हुन्छ। त्यसैले उनीहरूका अगाडि अतिरञ्जनापूर्ण प्रदर्शनी गर्नू हुन्न।’
भुइँचालोको ट्रमा (क्षति)ले सिर्जित मनोवैज्ञानिक असरलाई समयमै बुझेर त्यसको उपचार गर्न सकिने जानकारी शर्माले दिए। ‘अहिले हामी सबैले भूकम्प पीडितको तत्काल भोजन, स्वास्थ्य, उपचार, बासलाई प्रमुखता दिएका छौं, तैपनि उनीहरूको मानसिक क्षतिलाई बेवास्ता गर्नुहुन्न,’ उनले भने।