मलेसियाबाट एउटी आमाको फोन आयो- ‘मेरो छोरा जसरी नि बचाइदेऊ, ऋण गर जे गर म कमाएर पठाउँछु, तर बचाइदेऊ।’
अनि धुलिखेलको कारागारबाट तिनै छोराका बाबुको सन्देश आयो,‘मेरो छोरालाई सञ्चो हुन्छ कि हुन्न?’
यी आमाबाबुका छोरा अहिले केएमसीको आइसियुमा अचेत अवस्थामा छन्। तिनै छोरा युनिकको होस् कुरेर बसेकी छन् रेनु। काकी भएपनि युनिक उनलाई मम्मी भन्छन्।
उनका बाबुआमालाई स्वास चलेको बाहेक रेनुले अर्को कुनै राम्रो खबर पठाउन सकेकी छैनन्।
***
शनिबार मध्यान्ह। धरती अकस्मात हल्लीन थाल्यो। घर भित्र र बाहिर बसेका हजुरआमा, हजुरबा,काकी र दिदीहरू घर छोडेर भागे।
युनिक आँगनमै खेलीरहेका थिए, अत्तालिए र घर भित्र छिरे। उनले सुरक्षाको ओत लिएको आफ्नै घर भुइँचालो थेग्न नसकेर लड्यो।
उनी भित्र परे, अन्य परिवार बाहिर।
भूईँचालो थामियो। सबै परिवार एकै ठाउँमा भेला भए, तर युनिक थिएनन्। बल्ल युनिकको खोजी हुन थाल्यो, कहाँ गए?
गाँउभरी खोजेर नभेटिएपछि भत्केका आफ्नै दुई घर नजिक पुगेर हजुरबुवाले बोलाए- युनिक, युनिक।
‘मलाई छिटो निकाल्नुस् यहाँबाट’, हजुरबाको आवाज सुनेपछि युनिक चिच्याए। भूकम्प आएको तीन घण्टा वितिसकेको थियो।
युनिक कहाँ छन्, कतापट्टी परे पत्ता लागेन। रोएको मात्रै सुनियो।आँगन जोडिएका उनीहरूका दुवै घर थचक्कै बसेका थिए।
युनिक पुरिएको थाहा पाएपछि गाँउभरीका मान्छे जम्मा भएर घर पन्छाउन थाले।
त्यो खबर सुनेर लोकन्थली बस्ने उनकी काकी रेनु झनै अतालिइन्।
‘घरभित्र भएको थाहा भएको अर्को तीन घण्टापछि मात्रै उनलाई बाहिर निकाल्न सकियो’, उनकि काकीले भनिन्, ‘यति डर लाग्यो कि पुरिएको छोरालाई लिन जाने हिम्मत जुटाउनै सकिन।’
त्यसपछि युनिककी फुपू ट्याक्सी लिएर युनिकको घर बाउन्न किलो पुगिन्। राति ९ बजे उनीहरू त्यहाँबाट काठमाडौं हिँडे।
अस्पताल ल्याउँदासम्म पनि उनी बोलिरहेका थिए। बाहिरबाट देख्दा, उनको गाला भित्र पसेको थियो, मुख बांगो थियो। तर, भित्र के के चोट छ, यकिन थिएन।
उनलाई फ्रुटी खुबै मनपर्छ। आइतबार बिहान युनिकले पानी मागेका थिए काकीले खुवाइदिइन्। अनि फ्रुटी मागे।
पिँधमा थोरै बाँकी भएको कोकको बोतल थियो खुवाइदिनै लाग्दा नर्सले चिसो नखुवाउन भनिन्।
युनिकलाई स्वास फेर्न गाह्रो हुँदै आयो। त्यसपछि उनी बेहोस भए। अहिलेसम्म होस खुलेको छैन्। बिहिबारदेखि त उनको पिसाब पनि बन्द भएको छ।
बेहोस भएपछि इमर्जेन्सीबाट आइसीयु लगिएको हो।
***
बुधबार। भत्केको घरबाट बचेका सामान पनि हराउलान् भन्ने डरले उनका हजुरबा-हजुरआमा युनिकलाई काकीको भरमा छोडेर गए।
‘चिया खान बाहिर जाँदा पनि उसको होस खुल्छ कि भन्ने आश लाग्छ, फेरि औषधि चाहिन्छ कि अथवा झन् बढी च्याप्छ कि भनेर फर्किहाल्छु’, रेनुले भनिन्।
उनी यी सात दिन अस्पतालबाट कतै गएकै छैनन्।
युनिककी आमा, सम्झनाको मलेसियाबाट बारम्बार फोन आउँछ। उनी फोनमा रून्छिन्। रेनुले नरोऊ भनेर सम्झाउन पनि सक्दिनन्।
सम्झना भनिरहन्छिन्, ‘म किन यहाँ आउनुपरेको होला?’
रेनुलाई याद छ उनी किन गएकी हुन्, मलेसीया।
युनिकका बुवा ज्यान मुद्दामा जेल परेको ४ वर्ष भयो। उनी जेल परेकै वर्ष हो छोरा जन्मेको पनि।
अहिलेसम्म युनिक सानै छन्, हुर्किदै गएपछि स्कुल पठाउनुपर्छ। हुर्केसँगै उनका आवश्यकता बढ्दै जान्छन्। श्रीमान् जेलपरेपछि युनिकका बाबुको जिम्मेवारी लिने पनि उनैले हो।
चार महिनाअघि उनी मलेसिया जान तयार भइन्। ऋण खोजिन् र उडिन्।
‘छोरालाई तिमीले नै राखेर पढाएपनि हुन्छ, उसैलाई पढाउन त हो म हिँडेको, ख्याल गरिदिनु है,’ संझनाले रेनुलाई भनेकी थिइन्।
१५ दिन अघिसम्म युनिक काकीसँगै थिए। युनिकलाई यहीँ राखेर पढाउने वा घर तिरै पढाउने भन्ने कुरा सुल्झेकै थिएन। रेनु पनि खेतीपाती लगाउन गाउँ गइरहनुपर्थ्यो त्यो बेला युनिकलाई लिएर जान सकिने छैन। फेरि सम्झनाले सरकारी स्कुल होइन बोर्डिङमा राखिदिनु भनेकी थिइन्।
उनीहरुले युनिकलाई बाउन्नकिलोस्थित बोर्डिङमै पढाउने भए।
स्कुल खुल्न लाग्यो भनेर युनिकलाई घर पठाएकी थिइन रेनुले।
मलेसियाबाट अस्ती भर्खरै हो सम्झनाले आफ्नो छोराको भर्ना गर्ने पैसा पठाएको। एघार हजार रेनुको हात पनि लाग्यो। तर, उनले भर्ना गरिदिन भ्याएकी थिइनन्, भूइँचालो आइहाल्यो।
बाउन्नकिलोमा उनीहरूका दुईवटा घर छन् अलीमाथि डाँडामा अर्को घर। तीनवटै घर ढले।
अहिले युनिकका हजुरबा हजुरआमा र माइला काकाको परिवारको बास बारीमा छ।
खान पाएका छन्, कि छ्रैनन्, ओत लाग्ने पाल पाएका छन् या छैनन् रेनुलाई केही थाहा छैन।
उनलाई पनि हेर्न जान मन छ भूइँचालोले ध्वस्त बनाएका आफ्ना घर।
बाबु निको भए त लिएर जाने थिइन्, तर डक्टरहरु हरेक पटक जाँचेर फर्किँदा भन्छन्,‘अब भगवान भरोसा हो,हामीले केही भन्नै सकिदैन।’
अस्पातल आएको भोलिपल्ट युनिकको होस् के भएर गुम्यो डाक्टरहरूले पनि भन्न सकेका छैनन्।
त्यै पनि उनलाई आश छ, युनिकलाई सन्चो हुनेछ। उनलाई आशा छ जेठानीको नासो उनैलाई फर्काउन पाउनेछिन्।