कैलाली जिल्लामा गएराति आएको भीषण हावाहुरीसँगै घरमा खसेको रूखमा च्यापिएर २जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विक्रमबहादुर चन्दका अनुसार अत्तरिया नगरपालिका–१३ का विजय बर्मा र वडा नं १३ का दिनेश विकको घरमा खसेको रूखमा च्यापिएर मृत्यु भएको हो ।
उक्त घटनामा अन्य केही व्यक्तिसमेत घाइते भएका छन् । हावाहुरीका कारण जिल्लाका कर्कटपाता र टायलले छाएका सयौँ घरका र विद्यालयका छानासमेत उडाई क्षति पुर्याएको छ । ठाउँठाउँमा रूख ढलेका कारण अवरुद्ध धनगढी—डडेलधुरा राजमार्गको सहजपुर सडकखण्ड र पूर्वपश्चिम राजमार्गको कैलाली सडकखण्ड प्रहरीको सक्रियतामा बिहानबाट सञ्चालन गरिएको छ।
राति ३ बजे आएको हावाहुरीका कारण बिजुलीका खम्बा ढलेकाले विद्युत् आपूर्ति बन्द भएको छ। अधिकांश ठाउँमा टेलिफोन सेवासमेत अवरुद्ध भएको छ । धनगढीस्थित रेडियो पश्चिम टुडेको टावर ढल्दा प्रसारण सेवा अवरुद्ध भएको छ । हावाहुरीले पुर्याएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । रासस