शनिबार आएको महाभूकम्पका कारण मुलकै सबै भन्दा पुरानो र ठूलो वीरअस्पताल चर्किएपछि सबै विरामीलाई नजिकैको ट्रमा सेन्टरको भवनमा सरिएको छ।
भवन चर्किएपछि ओपिडि सेवा पनि बन्द गरिएको निर्देशक स्वयं प्रकाश पण्डितले सेतोपाटीलाई जानकारी दिए।
भुकम्प गएकै दिन देखि वीरका विरामीलाई ट्रमा सेन्टरमा सारिएको हो। पहिलेदेखि नै भर्ना भएर उपचार गराइराखेका विरामीलाई र भूकम्पपिडितहरुलाई छुट्टा छुट्टै ठाँउमा राखेर उपचार गराइएको छ।
भूकम्प जाँदा निकै संवेदनशील मानिएको आइसीयु कक्षमा पाँच जना विरामी थिए। पाँच जना मध्ये केहीलाई अन्य अस्पताल रिफर गरिएको थियो भने एक जनालाई ट्रमाकै आइसीयुमा सारीएको थियो।
अब इन्जिनियरहरुलाई देखाएर उनीहरुको सल्लाह अनुसार विरामी वीरकै भवनमा सार्ने वा नसार्ने निर्णय गर्ने निर्देशक पण्डितले बताए।
उनका अनुसार,भवन भूकम्पीय दृष्टीले खतराजनक छ भन्ने कुरा पहिले देखि नै थाहा भए पनि यसको विकल्पबारे छलफल मात्रै भइरहेको थियो। वीर अस्पतालको भवन एकसय वर्ष पुरानो भैसकेको छ।