शनिबार गएको विनाशकारी महाभुकम्पपछि स्वदेश फर्कन चाहने आफ्ना नागरिकहरुलाई घर फर्काउन नेपालको सिमावर्ती भारतीय राज्यहरुले गाडी पठाएका छन्।
भारतीय गृहमन्त्री राजनाथ सिंहले आफ्नो ट्वीटरमार्फत नेपाल छोड्न चाहने आफ्ना नागरिकहरुलाई स्वदेश फिर्ता गर्न गाडी पठाएर सहयोग गर्न आफूले गरेको सिमावर्ती राज्यहरुलाई आग्रह गरेको बताएका छन्। केन्द्रीय सरकारको तर्फबाट गरेको अनुसार तत्काल बिहार, उत्तरप्रदेश लगायतका राज्य सरकारबाट तदारुकताका साथ काम भएकोमा उनले संबन्धीत राज्य सरकारलाई धन्यवाद पनि दिएका छन्।
नेपालमा विभिन्न पेशा र व्यवसायमा संलग्न भारतीय नागरिकले नेपालमा आएको प्रलयकारी महाभुकम्पको त्रासदीबाट छटकारा पाउने उद्देश्यले आइतबारदेखि नै स्वदेश फर्कन चाहदै काठमाडौंबाट बाहिर जाने नाकाहरुमा जम्मा भएका थिए।
अचाना आइलागेको राष्ट्रिय विपदको बेलामा पनि सार्वजनिक सवारी साधनको न्यून संख्यामा सेवा र सेवा दिइरहेका सवारी धनी र चालकहरुले मनपरी भाडा असुल्ने क्रम शुरु भएपछि राजधानी बाहिर जान चाहने स्वदेशी तथा विदेश यात्रुहरु समस्यामा परेका छन्।
साथै भारतीय गृहमन्त्री सिंहले भारतीय संसदमा बोल्दै नेपालमा आइलागेको विपदमा र नेपाली जनताले भोग्नु परेको पिडामा भारतीयहरुको पूण साथ रहेको बताएका छन्। उनले नेपालमा गएको भुकम्पमा परी पुरिएका व्यक्तिहरुको खोजी, उद्धार तथा राहत वितरणका लागि भारतीय सेनाको इन्जीनियरीङ टोलीसँग १८ वटा मेडिकल टिम नेपालमा पठाएको जानकारी दिएका छन्।