हामी सोमबार बिहान कलंकी पुग्दा उपत्यका छोड्नेको लर्को थियो। त्यो लर्कोमा तराई मुलका नेपालीको स्पष्ट बाहुल्य थियो। पेशाका हिसाबले कामदार र विद्यार्थी अधिक थिए।
प्रष्टै थियो, भुकम्पको त्रास यही छोडेर उनीहरु घर जान चाहन्थे।
एक हुल विद्यार्थी जस्ता देखिने तन्नेरी गाडी पर्खिरहेका थिए। हामी उनीहरु भएतिर लम्कियौं। बारा सिम्रौनगढका एउटै गाउँका १५ जना विद्यार्थी राजधानीमा आइएस्सी पढ्दा रहेछन्। तीमध्ये धेरै बानेश्वरको एभरेस्ट कलेजमा आइएस्सी पढ्ने युवाहरु रहेछन।
कहाँ जान लागेको?
'घर'
किन?
यही भूकम्पले गर्दा।
भुकम्प त अब सकिगयो नी?
बारा सिम्रौनगढका १८ वर्षे रुपेश कुशवाहाले भने, 'आमाले तिमी जसरि पनि आऊ भन्नुभएको छ, जाने।'
उनले थपे, 'भुकम्प गएदेखि मलाई पनि आमाको मुख हेर्न मन लागिराखेको छ।'
त्यसपछि सबैको मुख खुल्यो। घरमा आमाबाले बोलाएकोले घर जान लागेको सबैले बताए।
आखिर विपत्तीमा सबैभन्दा पहिले सम्झिने परिवारलाई नै हो, परिवारले नै हो।
विद्यार्थी मात्रै हैन, राजधानीमा निर्माण क्षेत्रमा मजदुरी गर्ने अर्को हुलपनि परिवारकै अनुरोधमा मधेश फर्किदै गरेको भेटियो।
काठमाडौंमा ठेक्का लिएर घर निर्माण गर्ने अब्दुल जब्बार आफ्ना १०० जना मजदुरलाई घर फर्काउन कलंकीमा गाडि कुरिरहेका थिए।
हामीले सोध्यौं भुकम्प त सकियो, 'किन घर जाने त उहाँहरू?'
'घरबाट फोन गरेर उँहाहरुको परिवारले छिटै पठाईदेऊ भनेर तारन्तार गरे, त्यही भएर पठाउन लागेको', जब्बारले भने।
भारत बरैचाका प्रमोद ठाकुर पनि जब्बारसँगै काम गर्छन्। उनी श्रीमती र एक छोरासँग काठमाडौं बस्छन। भुकम्पपछि उनी पनि घर हिँडेका छन्।
'घरमा आमाबुवा हुनुहुन्छ, फोन आएको आयै छ। यस्तो बेलामा घरमा सँगै बस्यो भने सबैलाई सन्तोष हुन्छ', उनले भने, 'श्रीमतीलाई मात्रै सन्तोष भएर भएन, आमाबुवाको पनि मन राख्नु पर्यो।'