शनिबार गएको विनाशकारी महाभूकम्पका कारण उत्पन्न गास र वासको समस्याका बढ्दै गएपछि राजधानीमा बाहिर जाने सर्वसाधारणका लागि गाडी अभावको समस्याले थप गाँजेको छ।
दुई दिन दुई रात खुला चौर र सडकमा अभावपूर्ण जीवन बिताउनु परेपछि तराईबाट मजदुरी र सानातिना व्यवसाय गर्न राजधानी आएर बसेका अधिकांश मध्यम र निम्नवर्गका मानिसहरु स्थिति सामान्य नभएसम्म बाहिर जान चाहेपनि गाडी नपाउँदा घण्टौं कुर्न परेको छ।
सोमबार बिहान फर्पिंङ हुदै वीरगञ्ज जान गाडी खोज्दै बल्खुचोकदेखि त्रिवि गेटसम्म ओहोरदोहोर गरिरहेका करिब ४८ वर्षिय मनोजले सेतोपाटीसँग भने, ‘यहाँ बस्न खानकै समस्या भएपछि विरगञ्ज जाउँ भनेको गाडी नै पाइएन।’
तरकारीको व्यापार गर्दै आएका मनोजले सामान्य रूटको टाटा सुमो गाडी नपाएपछि रिजर्भमा भए पनि जान खोज्दा पनि पाउन नसकिरहेको उनले गुनासो गरे।
काठमाडौं कहिले फर्कने भन्ने प्रश्नको जवाफमा उनले भने, ‘स्थिति सामान्य भएमा एक सातापछि फर्कनू पर्ला।’
चाबहिलमा मोटरसाइकल वर्कसपमा काम गर्ने २२ वर्षिय प्रदिप चौधरीलाई भूकम्पले निम्त्याएको समस्या सँगै पारिवारिक समस्या थपिएको छ। उनकि ७० वर्षिय आमाको आइतबार राति निधन भएपछि दुई बहिनीलाई लिएर घर जान खोजेको गाडी नपाउदा बल्खु चोकमा तीनघण्टादेखि कुरिरहेका छन्।
त्यसैगरी रंङको काम गर्ने भारतका सोनालाल सँगै अरु ११ जना साथीहरु विरगञ्ज जान गाडी कुरीरहेका थिए।
‘यहाँ न बस्न पाइन्छ, न खान, त्रासमा बसी काम बिहिन अवस्थामा बेहाल हुनुभन्दा पाएदेखि नियमित रुपमा लाग्नेभन्दा ज्यादा पैसा तिरेर भएपनि घर जाने थियौं,’ उनले भने।
कतिपय व्यक्तिहरू साथमा रहेको पैसा सकिँदै जादा राजधानीमा खानबस्न मात्र हैन गाडीभाडा पनि नभएपछि फर्पिङको बाटो हिँडेरै विरगञ्ज लागेको त्रिवि गेट अघि भेटिएका एक व्यापारीले बताए।
उनीहरुमध्ये कतिपय कलिला युवाहरुले पसलबाट केही पोका चाउचाउ र विस्कुट लिएर भोलिसम्ममा भएपनि वीरगञ्ज पुग्ने भन्दै बिहान ५ बजेदेखिनै समूह समूहमा मिलेर हिडेका छन्।