काभ्रेपलाञ्चोकमा भूकम्पका कारण घर भत्किदा विभिन्न गाविसमा कम्तिमा ४५ जनाको मृत्यु भएको छ भने झण्डै १२० जना घाइते भएका छन् ।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालका अनुसार जिल्लाको कलातेभूमिडाँडामा २ जना, कुशादेवीमा ३ जना, देउपुर गाविसमा २ जना, महादेवस्थानमा २ जना लगायत अन्य विभिन्न गाविसमा उनीहरुको मृत्यु भएको हो।
प्रजिअ ढकालले मृत्यु भएकाहरुमध्ये केही बालबालिका र महिला समेत रहेको तर विस्तृत विबरण आइनसकेको जानकारी दिँदै घाइतेहरुको धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको बताए।
हामीले उद्धार कार्य जारी राखेका छौं, प्रजिअ ढकालले भने। भूकम्पका कारण घरमा च्यापिएर मर्नेको संख्या अझै बढ्ने अनुमान प्रशासनले गरेको छ । भूकम्पका कारण कति घर क्षतिग्रस्त भएका छन् भन्ने बिषयमा समेत विस्तृत बिवरण आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
आज दिउँसो ११:५६ बजे देशभर भूकम्पको अनुभव गरिएको थियो । रासस