बुद्धिसागर बस्यालको गीत छः न सकिन्छ गरी खान न सकिन्छ मरी जान बुढेसकालैमा......।
धेरै नेपाली वृद्धावृद्धाको मनको भावको प्रतिध्वनि बनेको यो गीतको ८३ वसन्त पार गरेका म्याग्दीका मीनबहादुर शेरचनाका लागि भने कुनै अर्थ छैन। परिवारले डोलीमा राखेर ८४ मनाईदिने बेलामा उनी भने सगरमाथाको चुचुरो दोस्रो पटक चुम्न शुक्रबार बिहान लुक्ला उडेका छन्।
लुक्ला उड्नु अघिल्लो साँझ उनीसँग ठमेलमा भेट भयो। भेट हुनुअघि उनका बारेमा मेरो दिमागमा स्केच बनेको थियो– बुढ्यौली शरीरको। तर, उनी त्यस्ता देखिएनन्। गाडीबाट ओर्ले। सिधा बनेर ठमठम हिँडे। सर्ट पाइन्ट, स्टकोट र क्याप टोपीमा ठाँटिएका उनले नमस्कार फर्काउँदै दह्रोसँग हात मिलाए।
ज्यानमात्र होइन उनको सोच पनि बलिष्ठ रैछ, नातिसमानको मान्छेसँग सहजसँग हात मिलाउन सक्ने।
‘बाउ आमाको म एक्लो छोरो हुँ’, उनले विगत उदिन्न शुरू गरे। एक्लै छोरो भएकाले उनलाई बावुआमाले लाडप्यारले हुर्काए। म्याग्दीको भुरूङ–९ मा सन् १९३१ जुन २० मा जन्मेका शेरचनको गाउँमा पढ्न जाने स्कुल थिएन। खरिपाटीको जमानामा उनले गाउँका पण्डितसँग बाह्रखरी सिके। गाउँमै उनको बाल्यकाल बित्यो। उनलाई पढ्न मन लाग्थ्यो तर पढने विद्यालय थिएन। पैसा भएकाहरु भारत गएर पढ्थे। उनका बुवासँग भने भारत पठाएर पढाउने पैसा थिएन। ‘पढ्ने ठूलो धोको थियो। तर, किसानी गर्ने बुवासँग नगद पैसो थिएन’, उनले भने, ‘पढ्न पाइन्छ कि भनेर लाहुरमा भर्ती भएँ।’
ब्रिट्रिस लाहुरे बनेका उनी सिंगापुर र मलाया (मलेसिया) पुगे। सन् १९४८ देखि १९५३ सम्म लाहुरे बन्दा उनले ब्रिट्रिस साम्राज्यले गर्ने दमन देखे। यो सँगै स्वतन्त्रताको लागि ज्यानको तिलाञ्जली दिन पनि तयार हुने रैथाने जनता पनि देखे। मलेसियामा स्वतन्त्रताका लागि लडेका विद्यार्थी, किसान देख्दा उनलाई लाग्यो– यिनीहरू देशको लागि ज्यान दिइरहेका छन्। हामी पेट पाल्न अरूको बन्दुक बोकिरहेका छौं। उनले जागिर छोडने निर्णय गरे।
‘सहकर्मी र हाकिमले जागिर नछोड्न सल्लाह दिएका थिए। तर, मैले छोडें जस्ले जेसुकै भने पनि आफूले चाहेको गरेरै छोड्ने मेरो आदत छ’, उनले भने।
लाहुरे हुँदा उनले केही पढे। देश दुनियाँ देखे। केही पैसा पनि कमाए। २५ वर्ष पुगिसकेका थिए। एक पटक संसारलाई फन्को लगाएर मात्र ३२ वर्ष पुगेपछि बिहेबारी र घरजम गर्नुपर्ला भने मनमनै योजना बुनेका थिए। नेपाल आएपछि विश्वयात्रा गर्ने योजना बनाए। त्यसका लागि उनी सिंगापुरसम्म पुगेका थिए। तर, त्यसभन्दा अघि बढ्न सकेनन्। उनले चाहेर पनि विश्वयात्रा गर्न सकेनन्।
घरमा आएपछि बुवाले उनकै शब्दमा ‘दिलदेखि आँसु चुहाएर’ विवाह गर्न आग्रह गरे। ‘जो ल्याउँछस् ल्या छोरा, बिहे गर्दैनस् भने हामीलाई मारी दे। अनि जहाँ जहाँ मन लाग्छ घुम्नु, बुवाले एकरात भन्नुभयो’, उनले सम्झिए।
भर्खर लाहुरबाट फर्केका उनको चर्चा गाउँभरी नै थियो। कहि हिँडे पनि केटी नै हेर्न आएको हो कि भन्थे,’उनले विगत सम्झिए,‘ अहिले त म यस्तो छु त्यतीबेला कस्तो थिए होला आफैं सोच्नुहोस्,’ उनले भने। जवानीमा उनको लोभलाग्दो ज्यानको चर्चा गाउँमा मात्र थिएन। एकपटक बेलायत जाँदा त्यहाँको एनअारएन (गैरअावासीय नेपाली) संगठनले एक नेतासँग भेट्ने कार्यक्रम मिलायो। श्रीमतीसहित भेट्न अाएका नेताकी श्रीमतीले शेरचनलाई सोधिन्- कतिवटा िबहे गर्नु भएको छ?
मामाचेली फुपू चेलीमा हक दावी लाग्ने थकाली संस्कृति अनुसार फुपूकी छोरीका लागि कुरा चल्यो। तर, बिहेको कुरा फिल्मको जस्तो बनिदियो। फुपूकी छोरीका फुपूका छोराले पनि हक दावी गरेछन्। १३ वर्षकी पूर्णकुमारीका लागि ग्यांग फाइट नै होलाजस्तो भो। ‘लतारेर भएपनि ल्याउँछु भनेर गएका थियौं’, उनी फिस्स हाँसे, ‘तर केटीलाई सोध्दा उसले मैसँग बिहे गर्छु भनिछ।’
पूर्णकुमारीसँग उनको विहे त भयो। तर, कार्तिक महिना परेकाले घर भित्राउन मिलेन। ‘एक महिना अर्काको घरमा राखेर मंसिरको महिनामात्रै आफ्नो घरमा ल्याए।
पूर्णकुमारीसँगको घरजमपछि उनको विश्वयात्राको योजनामा पनि ब्रेक लाग्यो। छोराको आश गर्दा गर्दै पाँच छोरी जन्मिए। ‘छोरा नभई हुन्न भन्ने मान्यता थियो, काइली छोरीपछि छोरा जन्मियो’, उनले भने। ७ सन्तानको लालनपालनाम उनी अल्झिए। यसैबीच उनले गाउँमा व्यवसायीक स्याउ खेती गर्ने योजना पनि बनाए। तर गर्न सकेनन्। त्यपछि कहिले ठेक्कापट्टामा लागे, कहिले राजनीति गरे। जिन्दगीका आरोह अवरोह चलिरहे।
***
उनको घरबाट धवलागिरी हिमाल देखिन्छ। त्यही हिमाल देखेर उनलाई हिमालको चुचुरोमा पुग्न रहर पलायो। सगरमाथा चढेपनि हिमाल आरोहीले सातपटक प्रयास गर्दापनि धवलागिरी चढ्न सकेका थिएनन्। ‘धवलागिरी चढ्न सके त’ शेरचनले मनमनै सोचेका थिए ‘रेर्कडै हुन्छ।‘ उनी त्यसको धाउन्नमा लागे। विश्वेवरप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला उनले शेरचनलाई धवलागिरी आरोहरणका लागि बनेको समितिको इञ्चार्ज बनाइदिए। कामसँगै उनले हिमाल चढ्ने तरिका पनि सिके।
त्यही तरिका र सीपले उनलाई सन् २००८ मा ७६ वर्षको उमेरमा सगरमाथाको चुचुरोमा पुर्यायो। त्यतिबेला उनी संसारकै बढी उमेरमा सगरमाथाको चुचुरोमा पुग्ने ब्यक्ति बनेका थिए। सन् २०१३ मा जापानी नागरिक युचिरो मिउराले ८० वर्षमा चुचुरो चुम्दै शेरचनको रेकर्ड तोडे।
त्यहि वर्ष उनी पनि सगरमाथा चढ्न गएका थिए। मौसमले साथ नदिएपछि उनी क्याम्पबाटै फर्किए। उनको रेकर्ड त मिउराले तोडेकै हुन्। कतिपयले अहिले उनलाई मिउराको डाहा गरेर सगरमाथा चढ्न लागेको भन्छन्। ‘मिडियामा पनि त्यस्तो कुरा आएकाले दुःख लागेको छ’, उनले भने ‘उहाँ(मिउरा) त मेरो आदर्श हो, गरे सकिन्छ भन्ने प्रेरणा दिनुभएको छ।’
***
शेरचन बिहान ४ बजे उठ्छन्। नित्यकर्म गरेपछि व्यायाम गर्छन्। ‘मिलिटरीमा हुँदा सिकेको हल्काफुल्का व्यायाम गर्छु,’ उनले भने, ‘तर सँधै गर्नुपर्छ नत्र गरेको काम लाग्दैन।’ खानामा उनी चामलको परिकार सकभर खाँदैनन्। गहुँ र कोदोको रोटी धेरै खान्छन्। अझ कोदोको परिकार बढी खान्छन्।
लाहुरे हुँदा लडेर फुक्लिएका २ दाँत (नक्कली) बाहेक सबै दाँतले चपाउन सक्छन्। आँखापनि राम्ररी देख्छन्। ‘कान भने सानैदेखि कम सुन्थें, तर मिलिटरीमा भर्ना हुँदा जाँच्नेले पनि थाहा पाएन’, उनले हाँस्दै भने।
खानपिन र नियमित व्यायाम नै उनको स्वास्थ्यको राज हो। त्यसमा उनको सोच र साहसले पनि भूमिका पक्कै खेलेको छ। सोच नै सबै कुराका मापक भएको कुरा उनले ८ दशक लामो जीवनबाट बुझेका छन्। त्यसैले आफ्नै उमेरका बुढाबुढीलाई बुढो भइयो, काम गर्न सकिन्न भन्ने कहिलेपनि नसोच्न उनी सल्लाह दिन्छन्। सगरमाथाको चुचुरो चढेर उनी देखाउन चाहन्छन्- संसारमा इच्छाशक्ति भए असम्भव भन्ने केही छैन्। ‘मैले सगरमाथा टेकेपछि बुढाबुढीले साहस पाउनेछन्, युवापुस्ताले प्रेरणा,’ उनले भने।
अर्को दिन बिहानै हिँड्नुपर्ने भएकाले उनी अलि हतारमा थिए। सहयोगीले उनको जुत्ता मिलाईदिए। ‘समयले पर्खदैन, यताउती मिलाउनु पर्नेछ। भन्नुपर्ने कुरा धेरै थिए। फर्केर आएर कुरा गरौलाँ’, उनले कुराकानीको बिट मार्न खोजे। छुट्टिने बेलामै मैले आर्शिवाद मागें।
‘सोचेका सबै कुरा पूरा होउन’ उनले भने। एकछिन पछि थपे,‘सोचेरमात्र चाहेका कुरा सबै पूरा हुँदैनन्। सफलता पाउन मिहिनेत र साहस पनि जुटाउनु।’
मैले सहमतिमा टाउको हल्लाएँ। उनलाई यसो भन्ने हक आर्जेका छन्, ८४ वर्षको उमेरमा उनी मिहिनेत र साहस जुटाएरै ८८४८ मिटर अग्लो चुचुरो चुम्ने यात्रामा निस्केका छन्।