अक्षय तृतियाको अवसर पारेर मंगलबार भक्तपुरमा शिव–पार्वती विवाह गरिएको छ। भक्तपुरको सिपाडोलमा रहेको केदारनाथको शिर डोलेश्वर महादेव दुलाहा र टौमडीमा रहेको सिद्धिलक्ष्मीलाई दुलही मानेर विवाह गरिएको हो।
ब्रह्मा, बिष्णु, इन्द्र, नारद, नन्दी, भिङ्गीलगायतका प्रतिरुप बनाई पञ्चे र धिमाह बाजागाजासहित सर्वसाधारण जन्तीको रुपमा सहभागी भएका थिए।
ेकेदारनाथको शिरबाट हिँडेको जन्तीलाई दुलही पक्षका हिमालय पर्वत र मेनुकाले च्यामासिङ्गको मूल गेटमा स्वागत गरेका थिए।
विवाहको कार्य राजोपाध्य, जोशी, र कर्माचार्यद्वारा शास्त्रीय विधि र परम्मपरा अनुसार महादेव र पार्वतीको विवाह सम्पन्न भएको थियो। वर बधुलाई साँझ करिब पाँच बजेतिर टौमडीबाट विधिपूर्वक विदाई गरिएको थियो।
नेपालमा यस्तो किसिमको शिव पार्वतीको विबाह दोस्रो पटक भएको हो। यसअघि वि.स. २००६ सालमा भक्तपुरमै नासमनाको पार्वती र दत्तात्रयको शिवबीच विवाह भएको थियो। यो विवाहले भाइचारा शान्ति र सद्भावको विकास गर्दै समन्वयको दुरी कायम राख्न समेत सहयोग पुग्ने विश्वास गरिएको छ। (तस्बिरहरू : भरतबन्धु थापा/रामगोपाल तमखु)