त्रिभुवन विश्वविद्यालय अन्तर्गतको समाजशास्त्र र मानवशास्त्र संकायको केन्द्रीय विभागमा विद्यार्थीले केही दिनदेखि ताला लगाएका छन्। फ्लेक्समा प्रिन्ट गरेर उनीहरुले आफ्ना माग राखेका छन् र त्यसको मुनि लेखेका छन–विद्यार्थीको आन्दोलनले मेरो रौं पनि हल्लिदैन। प्रा.डा. ओम गुरुङ (मानवशास्त्री)।
गुरुङ नेपालका मानवशास्त्रीमात्र होइनन् सो विभागका प्रमुख पनि हुन। गुरुङले नियोजित रुपमै समाजशास्त्रलाई हेला गरेको र मानवशास्त्र संकायलाई मात्र राम्रो बनाउन पहल गरको आरोप विद्यार्थीको छ। गुरुङले विद्यार्थी आन्दोलनलाई अवमूल्यन गरेकाले प्रिन्ट गरेरै उनको भनाइ लेखिएको विद्यार्थीले बताएका छन्।
स्नताकोत्तर तह तेस्रो सेमेष्टरका विद्यार्थीको सेक्सन मर्ज (गाभिएको) गरिएको विषयमा शुरु भएको आन्दोलनमा अहिले एमफिलमा विद्यार्थी पनि थपिएका छन्, समाजशास्त्र पढाउने शिक्षकको पनि यसमा नैतिक समर्थन रहेको छ।
उनीहरुको मुख्य माग मानवशास्त्र छुट्टै विभाग बनाउनु पर्ने र प्रमुख गुरुङले राजीनामा दिनु पर्ने छ। आन्दोलनरत विद्यार्थीले समाजशास्त्र पढने विद्यार्थी धेरै, प्राध्यापक कम तर मानवशास्त्र पढ्ने विद्यार्थी कम, प्राध्यापक धेरै हुँदापनि विभागीय प्रमुख गुरुङले प्राध्यापक थप्नुको साटो सेक्सन मर्ज गरेको बताएका छन्। समाजशास्त्रमा धेरै विद्यार्थी र स्रोत पनि धेरै भएको गुरुङले विभाग छुट्टाउन नदिएको विद्यार्थीको आरोप छ।
८ वर्षसम्म विभागको प्रमुख हुँदा आफ्नै विभागका विद्यार्थीले पहिलो पटक राजीनामा मागेको उल्लेख गर्दै आफूले नियतवश मानवशास्त्र र समाजशास्त्रलाई विभेद नगरेको विभाग प्रमुख गुरुङले बताए। ‘मैले डिपार्टमेन्टलाई सकेजति राम्रो बनाउन पहल गरिरहेको छु‘, उनले सेतोपाटीसँग भने। गुरुङले अहिलको आन्दोलनमा विद्यार्थीभन्दा केही प्राध्यापकको स्वार्थ बढी जोडिएको बताए। ‘सुरुमा सेक्सन मर्ज र पठनपाठनको मुद्धा मात्र थियो अहिले मेरो राजीनामा र विभाग छुट्टाउने माग थपेका छन्‘ उनले भने ‘यसमा डिपार्टमेन्टमा राम्रो नहोस् भन्ने प्राध्यापकको पनि स्वार्थ जोडिएको छ।
विभाग टुक्राउने सम्बन्धमा आफूले सिफरिश गरेको तर त्रिवि पदाधिकारीहरु मानविकीका कम विद्यार्थी भएका विभागलाई मर्ज गर्नुपर्ने योजनामा रहेकाले सफल नभएको उनी बताउँछन्। ‘पदाधिकारीसँग कुरा गर्दा मानवशास्त्र र समाजशास्त्रको छुट्टै विभाग बनाउने हो भने शिक्षाशास्त्रमा १० विभाग थप्नुपर्छ भन्नुहुन्छ, विद्यार्थी त्यसो नहुनुमा मलाई दोष दिन्छन्‘ गुरुङले भने।
त्रिविका उपकुलपति हिराबहादुर महर्जनले पनि तत्काल विभाग छुट्टाउन नसकिने बताए। ‘कसैले भन्दैमा कसरी नयाँ विभाग बनाउन सकिन्छ?‘ उनले भने ‘हामी कम विद्यार्थी भएका विभाग नै मर्ज गर्ने सोचिरहेका छौं।‘
आन्दोलनरत विद्यार्थीले गुरुङको राजीनामा र मानवशास्त्रको छुट्टै विभाग नभएसम्म आन्दोलन नरोक्ने बताएका छन्। त्रिविले अहिले नै नयाँ विभाग बनाउन नसकिने अडान राखेको छ। ६ महिनापछि अवकाश पाउन लागेका गुरुङ आफूले राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताउँछन्।
कुनैबेला विवाहित महिला धेरै पढ्ने भएपछि ‘बुहारी डिपार्टमेन्ट‘को उपमा दिइएको यो विभागमा सेमेष्टर सिस्टम लागुभएसँगै विद्यार्थी घटिरहेका छन्। समाजशास्त्रमा सेमेष्टर लागु हुँदा भर्ना भएका ८९ जना तेस्रो सेमेष्टरमा पुग्दा ५५ जनामा झरेका छन्। यो डिपार्टमेन्टमा वार्षिक प्रणालीमा एक वर्षमा ८ सय जना विद्यार्थी पनि भर्ना भएका थिए। विद्यार्थी घटेपनि छुट्टै विभागको माग किन? ती विद्यार्थी नेता भन्छन– मानवशास्त्रलाई त बुहारी डिपार्टमेन्टमा पनि नातिनीको जस्तो व्यवहार गरियो।