इजिप्टमा सन् २०१२ मा भएको रङ्गशाला दङ्गाका लागि भएको पुनः सुनुवाइमा एक अदालतले ११ जना फुटबल प्रशंसकलाई मृत्युदण्डको निर्णय सुनाएको छ । नहरयुक्त नगर पोर्ट सइदमा भएको उक्त दङ्गामा ७४ व्यक्तिको मृत्युभएको थियो ।
तल्लो अदालतले यस दङ्गामा संलग्न भएको भनी २१ व्यक्तिलाई मृत्युदण्डको निर्णय दिएको थियो र पुनरावेदन अदालतले यस विषयमा ७३ व्यक्तिमाथि पुनः सुनुवाइको आदेश दिएको थियो ।
सन् २०१२ मा उक्त नगरको समूह अल–मार्सी तथा काइरोको अल–अहलीबीच खेल भएको थियो र खेलपछि दङ्गा आरम्भ भएको थियो ।
आइतबार निर्णय ११ जना फुटबल समर्थकमाथि दिइएको हो र यसलाई इजिप्टको ग्रान्ड मुफ्तीमा पुनरावलोकनका लागि पठाइएको छ ।
यस अदालतले यी फुटबल समर्थक तथा उनीहरूका प्रतिबादी माथिको निर्णयमा अन्तिम निर्णय मे ३० मा दिनेछ ।
यसमा ७३ व्यक्तिलाई प्रतिबादी बनाइएको छ र त्यसमा नौ प्रहरी अधिकारी तथा अल–मार्सीका तीन अधिकारी पनि समावेश छन् । बाँकी अल–मार्सी क्लबका समर्थक रहेका छन् ।
अदालतले मृत्युदण्डको निर्णय सुनाइएका दुई व्यक्तिलाई हालसम्म पक्राउ गर्न सकिएको छैन ।
सुरक्षाका कारण काइरोमा राखिएको उक्त अदालतको सुनुवाइमा पीडित तथा प्रतिवादी कसैका पनि परिवार उपस्थित भएका थिएनन् ।
यस निर्णयमा पुनरावेदन गर्न सकिन्छ ।
पोर्ट सइद रङ्गशालामा भएको उक्त दङ्गापछि कायरोमा केही दिनसम्म हिंसा फैलिएको थियो र त्यसमा सुरक्षाकर्मीसँगको भिडन्तमा थप १६ व्यक्तिको मृत्यु भएको थियो ।
तल्लो अदालतले २१ व्यक्तिलाई मृत्युदण्डका निर्णय सुनाएपछि उक्त नगरमा पुनः दङ्गा फैलिएको थियो र त्यसमा करिब एक दर्जन व्यक्तिको मृत्युभएको थियो । रासस/एएफपी