लतिलपुर, झम्सिखेलमा रहेको उनको भव्य आवास क्षेत्रभित्र शुक्रबार बिहान पुग्दा कुनै एउटा बैंकका कर्मचारीहरू उनलाई बैठक कक्षमा पर्खिरहेका थिए। कोठामा प्रवेश गर्नासाथ उनीहरूले हस्ताक्षरका निम्ति कागजात अघि सारे।
एकपछि अर्को कागजमा हस्ताक्षर गरिरहँदा उनले प्रश्न गरे, ‘यति थोरै ऋणका निम्ति कति धेरै कागज। संसारमा कहीँ हुन्न यति धेरै कागजको काम।’
६० वर्षीय उमेश श्रेष्ठको देब्रे हातमा रहेको ७ लाख पर्ने रोलेक्स घडीभन्दा केही गुणा बढीमात्र थियो त्यो ऋण। त्यो उनले सञ्चालनमा सहयोग गर्दै आएको ल्याब स्कुलका लागि लिइएको ऋण थियो।
‘ऋण थोरै होस् वा धेरै यति नै कागजमा सही गर्नुपर्छ,’ बैंकका कर्मचारीले थपे, ‘यति नगर्ने हो भने नेपाल राष्ट्र बैंकले हामीलाई समातिहाल्छ।’
बैंकका कागजागतमा सही गर्नु यिनको जीवनमा नियमित कार्य हो। प्रत्येक ठूला आयोजनाका निम्ति उनी यसरी नै ऋण लिइरहेका हुन्छन्। त्यसो त उनी आफैँ उद्ममका निम्ति ऋण दिने बैंकहरूका प्रबन्धक पनि हुन्। प्राइम, मेघा, सेन्चुरी र कन्ट्री डेभलपमेन्ट बैंकमा उनको संलग्नता छ।
व्यक्तिले एकबारको जुनीमै यति धेरै सुविधासम्पन्न स्थानमा बस्ने हैसियतमा आफूलाई पुर्याउन कति मिहिनेत गर्नु पर्ला कल्पना गर्न पनि गाह्रो हुन्छ। व्यापारिक दृष्टिले महँगो यो क्षेत्रमा उनको आफ्नो आवास भवनका साथै नजिकै स्कुल भवन छ। पार्किङ लटभरि गाडीका ताँती छन्।
पूर्वी पहाडी जिल्ला भोजपुरको सदरमुकाम भोजपुर बजारबाट अवसरको खोजीमा चार दशकअघि खाली हात राजधानी काठमाडौं झरेका श्रेष्ठ अहिले नेपालका सफलतम उद्ममी मध्येका एक हुन्।
जतिसुकै संवृद्धिमा पुगे पनि यिनी बिर्सँदैनन्- झण्डै पाँच वर्ष यिनी आफैँले स्कुल बस चलाएका थिए। उनी आफैं बस लिएर विद्यार्थी लिन जान्थे। यसले उनलाई प्रत्येक बालबालिका र तिनका अभिभावकलाई चिन्ने मौका दियो । सम्बन्ध यिनी यसरी राख्छन् कि यी अभिभावकहरू अहिलेसम्म पनि यिनका निकट मित्र जस्ता छन्।
इमानदारी र मिहिनेत जोडियो भने व्यक्तिको जीवनलाई सफलताले चुमिरहन्छ। त्यस्तो व्यक्तिका लागि अवसर आफैँ आउँछन्। बस्, त्यसका निम्ति अर्को एउटा सर्त पनि छ- अरूभन्दा फरक काम गर्ने ध्येय।
उमेश समयलाई चिन्छन्। अनि आउने समयको आँकलन गर्दै तदनुकूलकै उद्मममा आफूलाई लगाउँछन्।
उनलाई आफ्नो सम्पत्ति कति भयो होला भन्ने हिसाब छैन किनभने यसको मूल्य बढिरहेको छ। प्रत्येक दिन बढ्छ। उनका नयाँ-नयाँ उद्मम थपिइरहेका छन्। शिक्षादेखि जलविद्युत्सम्ममा उनी बिस्तारित भएका छन्।
व्यावसायिक खेती अहिले उनको अर्को आकर्षण हो। उनको दिमागमा व्यावसायिक कृषिका कैयन योजनाले झुत्ती खेलिरहेका हुन्छन्। आफ्नो जन्म जिल्ला भोजपुरका रित्ता डाँडामा कागती फलाउनेदेखि छिमेकी जिल्ला संखुवासभाका डाँडामा चियाखेती लगाउने, मकवानपुरमा माछापालन गर्नेसम्मका विचारको कार्यान्वयन उनी गर्दैछन्।
उनको जीवनमा आर्थिक संवृद्धिको यात्राको सुरुवात् भने लिटल एन्जल्स स्कुलले गराएको हो। निजी क्षेत्रबाट स्कुल खोल्ने खासै प्रावधान नभएको आजभन्दा ३७ वर्षअघिको नेपालमा उनले शिक्षामा गरेको नौलो प्रयोगले उनलाई एउटा सफल व्यवसायीका रूपमा उभ्यायो।
* * *
२०२८ सालमा उमेशले भोजपुरको विद्योदय माध्यामिक विद्यालयबाट एसएलसी पास गरे। थप अध्ययन गर्ने कलेज त्यहाँ थिएन।
‘अवसरको खोजी गर्दै म काठमाडौं आएँ’ उमेशले आफ्नो विगत केस्राकेस्रा पारेर छोडाउन थाले, ‘दुःखसुख गरेर पढेँ।’
उनले आर्टस् र शिक्षामा स्नताक तहको पढाइ सिध्याए। अनि बने क्षेत्रीय शिक्षा निर्देशनालयका कर्मचारी। लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर उनी प्राथमिक विद्यालय निरीक्षक बनेका थिए। चार/पाँच वर्ष काम गरेपछि उनलाई नयाँ काम गर्ने हुटहुटी लाग्यो।
२०३५/०३६ सालतिर सरकारले निजी क्षेत्रलाई पनि स्कुल सञ्चालन गर्न दिने भयो। उनले २०३६ सालमा जागिरे जीवन परित्याग गरे। उमेशलाई त्यो बेलामा के लाग्यो भने बाबुआमाले छोराछोरीको पढाइका लागि दुःख गरेर पनि धेरै खर्च गर्छन्। हो, यही अनुभूतिले उनलाई निजी स्कुल खोल्नपट्टि आकर्षित गर्यो।
त्यो बेला नेपालका नामीमध्येको विद्यालय सेन्ट जेभियर्स र सेन्ट मेरिज स्कुल जावलाखेल/झम्सिखेलमै थिए । यी दुई स्कुलको बीचमा उनले विद्या लिम्बूसँग मिलेर लिटल एन्जल्स् स्कुल खोल्ने तयारी गरे। त्यो बेलासम्म विद्या ज्ञानोदय स्कुलमा पढाउँथिन्।
२०३७ साल श्रीपञ्चमीको दिन ३५ जना विद्यार्थीलाई भर्ना गरेर यो स्कुलको विधिवत् स्थापना भयो। पहिलो वर्षको अन्त्यमा ६५ जना विद्यार्थी भए।
यो मिहिनेको समय थियो। उनले कठिन परिश्रम गर्न थाले। आफैंले कम मूल्यका शैक्षिक सामग्री प्रयोग गरेर पढाउने थाले। अभिभावकसँग यिनले राम्रो सम्बन्ध राखे। उनीहरूसँग बेलाबेलामा बैठक गर्थे। अभिभावकहरू नै यिनको स्कुलको नाम फैलाउने राजदूत बने।
मिहिनेतले स्कुलको विस्तार ज्यामितीय अनुपातमा हुन थाल्यो। दोस्रो वर्ष स्कुलमा १ सय ५० र तेस्रो वर्ष ३ सय ५० विद्यार्थी भए।
विद्यार्थी बढ्नुसँगै स्कुलले सुविधा थप्न थाल्यो। स्कुलले बस किन्यो। सेन्ट जेभियर्स र सेन्ट मेरिजमै पढाउने अभिभावकले पनि त्यहाँ विद्यार्थी भर्ना गर्न नपाए, अर्को राम्रो स्कुलका रूपमा लिटल एन्जल्स्को नाम लिन थाले। ‘वर्ड अफ माउथ’ अर्थात् एउटाले अर्कोलाई सिफारिस गरेकै भरमा स्कुलको लोकप्रियता चुलिन थाल्यो।
आफूसँग अलिकति स्रोत हुनासाथ उनीहरूले स्कुल सुरु गरेको चार वर्षमै नखीपोटमा ४ रोपनी जग्गा किने। त्यतिले पुग्दैन भनेर सुनाकोठीमा फेरि जग्गा किने, जहाँ अहिले सिभिल होम्सले घर बनाएको छ। त्यो ७ हजार पाँचसय देखि २०/२५ हजार रुपैयाँमा एक रोपनी जग्गा पाइने समय थियो।
स्कुलले प्रगति गर्नुसँग कसरी नाम चलेका ठुल्ठूला स्कुल चलेका छन् भनेर हेर्न लिटल एन्जल्स्को टिम विभिन्न मुलुक जान थाल्यो। उनीहरूले देहरादुनको दूनस्कुलदेखि भारत, पाकिस्तान, श्रीलंकालगायत विभिन्न मुलुक घुमेर अनुभव बटुले।
स्कुल स्थापना गर्नु ठूलो कुरा भएन। तर, यसको स्थायित्व महत्त्वपूर्ण हो भन्ने उनलाई लाग्यो। उनीहरूले यसको लामो इतिहास बनाउन स्कुलको आम्दानीले किनेका जग्गा बेचे। ७ हजार पाँच सय रुपैयाँ रोपनीमा किनेका जग्गाले ४ लाख ५० हजार रूपैयाँ पाउन थाल्यो। त्यसपछि आफ्नो शैक्षिक संस्थाका निम्ति उज्यालो र फराकिलो ठाउँ खोजे।
ललितपुरको हात्तीवनमा ३ सय ५० रोपनीमा फैलिएको जमिनमा लिटल एन्जल्स स्कुल विस्तारित हुन थाल्यो। बीचमा कर्मनाशा नदी पर्ने यो जग्गा किनेको देखेर धेरैले उमेशलाई मूर्ख ठानेका थिए। उनीहरूलाई लाग्थ्यो- कर्मनाशा नदीको नामजस्तै यिनको कर्म पनि नाश हुनेछ। तर, उल्टो भयो।
उनीहरूले नदीका निम्ति पर्याप्त ठाउँ छाडिदिएका छन्। लोभलाग्दो हरियाली छ। फूलैफूलले ढाकेको छ। स्कुलका विभिन्न ब्लकका लागि ठाउँ छ। विद्यार्थीलाई खेल्नेदेखि अन्य गतिविधि, पौडी पोखरी, पुष्प खेती, बेकरीलगायत उपस्थितिले एलए कम्प्लेक्सको भव्यता थपेको छ। बरु अहिले यो संस्थाभित्र मात्रै १ हजार ४ सय ५० जनाले काम गरिरहेका छन्। अनि एलएभित्रका ७ हजार र यसले व्यवस्थापन गरेका स्कुलका ७ हजार गरी १४ हजार विद्यार्थी छन्।
पञ्चायतकै बेला यिनले स्कुल खोल्दा एकैपटकमा १० कक्षासम्म सञ्चालन गर्ने अनुमति थिएन। १० वर्ष लगाएर १० कक्षासम्मको स्वीकृति यिनले लिए। स्कुलमा शिक्षकलाई राम्रो पारिश्रमिक दिए। एक जना पनि विद्यार्थी असफल हुनु हुँदैन भनेर मिहिनेत गरे। त्यसैको परिणामस्वरूप अहिलेसम्ममा यो स्कुलले १५ हजार विद्यार्थीलाई एसएलसी पास गराइसकेको छ।
* * *
देशका इतिहास बोकेका स्कुलहरू धरासायी भइरहेका छन्। दरबार हाइस्कुल, भानु माध्यामिक विद्यालय, आनन्दकुटीको अवस्था हेर्दा कहाली लाग्छ। निजी क्षेत्रमै खुलेका कुनै बेलाका चर्चित स्कुलहरू पनि यसका संस्थापकहरूले राम्रो दृष्टि पुर्याउन नसक्दा बन्द वा धरासायी भएका छन्।
सरकारी स्कुलहरूको अवस्था गएगुज्रेको छ। एसएलसीमा शून्य अवस्थामा पुग्नेलाई कुनै कारबाही हुँदैन। राम्रो काम गर्नेलाई पनि पुरस्कृत गरिँदैन। उनी आफ्नो संस्थामार्फत् सार्वजनिक स्कुलको स्तर वृद्धिका निम्ति पनि काम गर्न चाहन्छन्। उनले केही जिल्लाका स्कुलहरूसँग आफ्नो स्कुलको भगिनी सम्बन्ध कायम गराई सहयोग पनि गर्दै आएका छन्।
सशस्त्र द्वन्द्वका बेला निजी तथा आवासीय स्कुलहरूको छाता संगठन प्याब्सनको अध्यक्ष भई दुई कार्यकाल नेतृत्व गरेका उमेशका लागि त्यो सबैभन्दा पीडादायी समय हो। त्यो बेला झण्डै सात सय निजी स्कुल बन्द भए। तर, उनले जिल्ला-जिल्लामा निजी स्कुल खोल्न प्रेरित गरिरहे।
सार्वजनिक स्कुलले राम्रो सेवा गर्न नसकेका कारण अभिभावकहरूले आधा पेट खाएर पनि निजी स्कुलमा पढाइरहेका छन्। त्यसैको फलस्वरूप अहिले ७२ जिल्लामा करिब ९ हजार निजी स्कुल सञ्चालन भइरहेका छन्। राज्यले शिक्षाका लागि ८५ अर्ब रुपैयाँ लगानी गर्छ।
‘त्यो बालुवामा पानी हालेजस्तो छ,’ उनी भन्छन्।
स्कुलहरूमा प्रधानाध्यापक र शिक्षकहरूलाई अधिकारसम्पन्न गराई स्थानीय दाता र अभिभावक रहेका सञ्चालक समितिले सञ्चालन गर्न पाएको भए तिनले काम गर्न सक्ने थिए। तर, सार्वजनिक स्कुलको स्रोत आफ्नो हातमा पार्न स्थानीय राजनीतिक व्यक्तिहरूले प्रतिस्पर्धा गर्दा यी संस्थाहरू बिग्रेर गएका छन्।
नेपाली कांग्रेसबाट हालै संविधानसभा सदस्य मनोनित उमेश अहिले शिक्षामा आमूल परिवर्तनका निम्ति सररकारलाई घच्घच्याउन चाहन्छन्। संसदमा पनि शिक्षासम्बन्धी समितिमै उनी क्रियाशील छन्। शिक्षामा धेरै विकृति आएको हुनाले नर्सरीदेखि विश्वविद्यालयसम्मको सुधारका निम्ति शक्तिशाली आयोग बनाएर त्यसको सिफारिस अनुसार काम गर्नुपर्ने उनको धारणा छ।
उनले आफूलाई विस्तारै स्कुलको दैनिक कामबाट अलग पारेका छन्। उनका सहयोगी र मित्रहरूले यसलाई सञ्चालन गर्छन्। उनी शिक्षा नीति निर्माणमा काम गर्न चाहन्छन्।
उनले अहिले विस्तार गरिरहेको आफ्नो व्यवसाय विद्युत् आयोजना र व्यावसायिक कृषिमा पनि उनले विश्वास गरेका मानिस क्रियाशील छन्। उनी आफूलाई भने पूर्णरूपमा सार्वजनिक सेवामा लगाउन चाहेको बताउँछन्।
नेपालको विकासमा जलविद्युत्, पर्यटन, कृषि आदिलाई उनी गणना गर्छन्। उनका तीन विद्युत् आयोजना पाँचथर पावर कम्पनी, खलंगाड हाइड्रो पावर प्रोजेक्ट र सानीगाड हाइड्रो पावर प्रोजेक्ट सञ्चालनमा छन्। बैंकको ऋण तिरिसकेपछि नाफाको ३० प्रतिशत रकम सामाजिक काममा लगाउन ट्रस्ट बनाउने घोषणा पनि उनले गरे।
‘म अहिले नै विल लेखेर ट्रस्टलाई नाफाको ३० प्रतिशत दिन चाहन्छु,’ उनले भने, ‘यो रकम शिक्षा, स्वास्थ्य र साहित्यका क्षेत्रमा खर्च हुनेछ।’
दर्जनभन्दा बढी उद्मममा सक्रिय उमेशले संविधानसभा सदस्य भएबापत पाएको पारिश्रमिक चितवनका चेपाङ बालिबालिकाको स्कुलका लागि खर्च गर्न थालेका छन्। उनी आफ्नो पारिश्रमिकले चेपाङ बालिकाहरूलाई छात्रवृत्ति दिन चाहन्छन्।
गरिबी र बेरोजगारीले घेरिएको समाजमा कुनै एउटा व्यक्ति धनी र उद्यमशील भएर बाँच्न सजिलो पनि छैन। उनको घरमा बिहान भेट्न आउनेहरूको एउटा उद्देश्य जागिर वा पैसा माग्ने हुन्छ। यिनी तिनलाई सकेको सहयोग गर्न तयार हुन्छन्। त्योभन्दा बढी उनी उद्यमशील हुन तिनलाई प्रेरित गर्छन्। आखिर माछा दिनुभन्दा माछा मार्न सिकाइदिनु उत्तम हो भन्ने जापानी उखान उमेशको जीवनमा पनि चरितार्थ हुन्छ।
मैले सोधेँ तपाईंको सफलताको ‘राज’ के हो?
'आफूसँग काम गर्ने व्यावसायिक व्यक्तिहरूलाई विश्वास गर्नु र उनीहरूको सम्मान गर्नु।’
उनी नातेदारलाई संस्थामा नराखेको बताउँछन्। धेरै शैक्षिक संस्था धरासायी हुनुको कारण संस्थापकहरूले म नै सर्वेसर्वा हुँ भन्ने ठान्नु रहेको उनीको ठम्याइ छ। अहिले पनि उनीमा बडप्पन छैन। उही सादगीसाथ सहकर्मीहरूसँग व्यवहार गर्छन्, जुन गुण उनले भोजपुरबाट आउँदा साथमा ल्याएका थिए।
हाम्रो मुलुकका शैक्षिक संस्थाहरूको खराब अवस्था भने नेताहरूको मानसिकता र तिनले राम्रो योजना तथा नीति नल्याइदिएका कारण आएको उनी ठान्छन्।
‘नेताहरू साह्रै व्यक्तिवादी भए,’ उनी भन्छन्, ‘उनीहरू आफ्नो पार्टीभन्दा माथि उठ्न सकेनन्।’
उमेशलाई शैक्षिक संस्थाका जन्मदाताहरूले इतिहास बनाउनु पर्छ भन्ने लाग्छ। अविवाहित उमेश अहिले ६० वर्षका भए।
एलए कम्प्लेक्स विश्वविद्यालय बन्नसक्ने भएको र यसको पर्याप्त सम्पत्ति तथा पूर्वाधार पनि भएकाले उनी विश्वविद्यालय सञ्चालन गर्न चाहन्छन्। त्यसका निम्ति उनले एउटा ट्रस्ट स्थापना गरी त्यसैमार्फत् सञ्चालन गर्न सरकारसँग अनुमति मागेका छन्। ट्रस्ट भनेको सार्वजनिक सम्पति हुन्छ। तर, उनले अनुमति पाएका छैनन्, केही वर्षदेखि यो त्यतिकै थन्किएको छ।
‘यसले किन सबै दिन खोज्यो भनेर उल्टै शंका गर्छन्,’ उनी भन्छन्, ‘उनीहरूले पत्याएनन्।’
यतिका धेरै सम्पत्ति जोडेका छन्। यो सम्पत्ति छोरालाई दिउँला छैन, छोरीलाई दिउँला भन्ने पनि छैन।
उनी भन्छन्- पुस्ता होइन इतिहास बनाउनु पर्छ। पुस्ता सकिन्छ। इतिहास सकिँदैन।
तस्बिर : प्रकाश लामा