सार्वजनिक स्थलमा फोहोरमैला फाल्दै हुनुहुन्छ भने सजग हुनुहोस्, अब त्यो सार्वजनिक अपराध ठहर भई तीन महिना कैद र एक लाख रूपैयाँ जरिवाना हुन सक्दछ। फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ र ३९ मा भएको यो व्यवस्था अब कडाइका साथ लागू गर्दै नेपाल सरकारले २०७२ वैशाख १ गतेदेखि काठमाडौँ उपत्यकामा प्लास्टिक झोला निषेध गर्ने तयारी गरेको छ। यसका लागि सरकारी र गैरसरकारी निकायबाट जनचेतना एवं प्रचारप्रसारका काम तीव्ररूपमा भइरहेका छन्।
यसै सन्दर्भमा बिहीबार यहाँ राष्ट्रिय वातावरण प्रदूषण नियन्त्रण नेपाल (नेप्को नेपाल) ले ‘बजार जाँदा घरबाट कपडाको झोला बोकेर जाऔँ, काठमाडौँ सहरलाई प्रदूषणमुक्त बनाऔँ’ भन्ने नारासाथ जनचेतनामूलक अन्तर्क्रियाको आयोजना गरेको छ।
कार्यक्रममा पूर्वमन्त्री गणेश साहले प्लास्टिक झोलाबाट निस्कने टक्सिन तत्त्वले वायु प्रदूषण गर्ने भएकाले यसको प्रयोग निषेध गरिनु मानव स्वास्थ्यका लागि सकारात्मक कदम भएको बताए। काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन महाशाखाका राजाराम कर्माचार्यले प्लास्टिक झोलाको प्रयोगपछि प्राकृतिक स्रोत पानी, माटो र हावा प्रदूषित भएकाले शुद्धीकरणका लागि निषेध गरिनु उचित हुने बताए।
काठमाडौँको फोहोर व्यवस्थापनका लागि महानगरपालिकाले दैनिक नौ लाख रूपैयाँ खर्च गर्ने गरेको जानकारीसमेत कर्माचार्यले दिए। नेप्को नेपालका अध्यक्ष सुरेन्द्र आचार्यले २०६८ सालमा आएको फोहोरमैला व्यवस्थापन ऐन कार्यान्वयन नहुँदा प्लास्टिक झोलाले खेत र पेट दुवै भरिएको बताए। रासस