ललितपुरस्थित सेन्ट जेभियर्स र सेन्ट मेरिज विद्यालयको चरम लापरवाहीका कारण बिहानैदेखि जावलाखेल आसपासका क्षेत्रमा सवारी जाम भएको छ । विद्यालयमा नयाँ भर्नाका लागि विद्यार्थीहरुको छनोट परीक्षाका लागि पार्किङको उचित व्यवस्था नगर्दा सर्वसाधारणले भने सास्ती पाएका छन्।
पूल्चोकदेखि जावलाखेलसम्म सवारी जाम भएको छ भने जावलाखेलचोकबाट सेन्ट जेभियर्सतर्फ जाने सडक पनि अस्तव्यस्त छ। जिल्ला प्रहरी कार्यालय अगाडि रहेको पार्किङले सडक पूरै ढाकिएको छ, जस्का कारण पैदल यात्रु समेत समस्या परेका छन्। सडकको बीचमा नै मोटरसाइकल पार्किङ राखेर जावलाखेल क्लवले पैसा असुली रहदाँ समेत प्रहरी अधिकारी छतबाट रमिता हेरिरहेका छन्।
सेन्ट जेभियर्स र मेरिजको परीक्षाका कारण सवारी आवागमनमा समस्या भएको ललितपुर ट्राफिक प्रहरीका प्रमुख सिताराम हाछेथुले जानकारी दिए। सेन्ट जेभियर्स र मेरिजको भित्र थुप्रै खाली स्थान छ। तर वर्षोदेखि उसले त्यस क्षेत्रमा सवारी साधन पार्किङ गर्न दिँदैन। अन्य बखत पनि सडक नै ढाक्ने गरी उसले सवारी आवागमनमा अबरोध गर्दै आएपनि कुनै कारबाही हुन सकेको छैन।
सेन्ट जेभियर्स र मेरिजले प्रहरी अधिकारीलाई वर्षेनी विद्यार्थी भर्नामा कोटा दिने गरेको र त्यो गुम्ने डरले उसलाई कारवाही गर्न नसकिएको स्रोतले बतायो।