मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर खोटाङको महादेवस्थान-१ का ४६ वर्षीय भरत दाहालको मृत्यु भएपछि उनका आफन्त र स्थानीय आक्रोशित भएका छन्।
घटनाका विषयमा तत्काल छानबिन समिति बनाउनुपर्ने, मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायत माग राख्दै मृतकका आफन्त र स्थानीयीले आफूहरूले राखेको माग पूरा नभएसम्म मृतकको शव नउठाउने बताएका छन्। विद्युत् प्राधिकरणको लापरवाहीका कारण बढी विद्युत् प्रवाह भएको र घटना भएको उनीहरूको आरोप छ।
स्थानीय जनता आक्रोशित बनेपछि प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटा, प्रहरी नायब उपरीक्षक खरेल, नेपाल विद्युत् प्राधिकरण शाखा खोटाङका प्रमुख पुरुषोत्तम रेग्मी, पूर्वसभासद् रामकुमार राईलगायतको टोली घटनास्थलमा पुगेको छ।
गाईघाट–बुइपा ३३ केभी विद्युत् प्रसारण लाइनअन्तर्गत विस्तार गरिएको लाइनमा अचानक ११ हजार भोल्टको विद्युत् प्रवाह भएपछि दाहालको आइतबार साँझ ज्यान गएको स्थानीय टिवन राईले जनाए। यसअघि पनि विद्युत् प्रवाह भएर सोही गाउँकी एक महिलाको दुवै हात र एउटा खुट्टा गुमेको थियो। रासस