रिपोर्टर्स क्लब नेपालले यस वर्षको बाबुछिरी शेर्पा स्मृति फोटो पत्रकारिता पुरस्कार विकास कार्कीलाई प्रदान गर्ने भएको छ। पुरस्कारको राशी २५ हजार रुपैयाँ र ताम्रपत्र छ। एक दशकभन्दा बढी समयदेखि फोटो पत्रकारितामा सक्रिय कार्की हाल अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा कार्यरत छन्।
यसैगरी कुलप्रसाद-चेतकुमारी धमला मोफसल पत्रकारिता पुरस्कार पत्रकार शशी कोइरालालाई प्रदान गर्ने निर्णय गरिएको छ। यो पुरस्कारको राशी २० हजार रुपैयाँ र ताम्रपत्र छ। डेढ दशकदेखि पत्रकारितामा सक्रिय कोइराला हाल मोफसलको सुनसरीबाट प्रकाशित हुने ‘प्रतिक्षण’ दैनिकका सम्पादक/प्रकाशक हुन्।
यसैगरी उत्कृष्ट क्रियाशील युवा पत्रकारिता पुरस्कार-२०७१ हिमालयन टाइम्स् अंग्रेजी राष्ट्रिय दैनिकका पत्रकार टीकाराम प्रधानलाई प्रदान गरिने भएको छ। एक दशकदेखि पत्रकारितामा सक्रिय प्रधान प्रिन्सिपल करेसपन्डेन्ट छन्। यो पुरस्कारको राशि १५ हजार रुपैयाँ र ताम्रपत्र छ।
रिपोर्टर्स क्लब नेपालको १७ औं वार्षिकोत्सवका अवसरमा यही चैत्र १७ गते आयोजना हुने समारोहमा यी सबै पुरस्कार प्रदान गरिनेछ।
क्लबले यस वर्षको तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनका समाचार प्रमुख तीर्थ कोइराला, सर्वोत्कृष्ट युवा पत्रकारिता पुरस्कार काठमाडौं पोस्टका चिफ सब-एडिटर अनील गिरी र उमासिंह स्मृति महिला पत्रकारिता पुरस्कार-२०७१ पत्रकार बीणा सिन्हालाई र कृष्णा पौडेललाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय गरिसकेको छ।