ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकलबाट खसेकी युवतीको सोही ट्रकले किचेर मृत्यु भएको छ।
सोमबार दिउसो पौने २ बजेतिर बल्खुबाट किरण घले २४ वर्षीया इन्द्रमाया मगरलाई पछाडि राखेर बा.६३प ४९६६ मोटरसाइकलमा कोटेश्वर जाँदै थिए। तीव्र गतिमा मोटरसाइकल चलाएका उनले ग्वार्को चोकनजिकै मे१ख १३३३ नम्बरको ट्रकलाई ओभर टेक गरे।
प्रत्यक्षदर्शी इमाडोलका सानुभाई श्रेष्ठले सेतोपाटीलाई जनाएअनुसार कोटेश्वरबाट बस सातदोबाटोतिर आउँदै थियो। किरणले हत्तपत्त ब्रेक लगाए। सडक चिप्लो थियो। पछाडि बसेकी इन्द्रमाया खसिन्। त्यही ट्रकको पछाडिको चक्काले उनलाई किच्यो। र, उनको घटनास्थलमै मृत्यु भयो।
इन्द्रमाया चाल्नाखेलकी हुन्। प्रहरीले भने इन्द्रमायाको मृत्यु उपचारका क्रममा ग्लोबल अस्पतालमा भएको दाबी गरेको छ।
‘ट्रकले किचेपछि प्रहरी टोलीले उनलाई तत्काल अस्पताल लगे पनि बचाउन सकिएन। चालक किरण र मोटरसाइकललाई कुनै क्षति भएको छैन,’ ललितपुरका डिएसपी किसनसिंह थापाले भने।
किरण हलचोकमा कार्यरत सशस्त्र प्रहरी हवल्दार भएको बुझिएको छ। प्रहरीले ट्रक चालक, सहचालक र केही प्रत्यक्षदर्शीसँग घटनाबारे सोधपुछ गरिरहेको छ। ६ महिनाअघि पनि तीव्र गतिमा रहेको मोटरसाइकलबाट खस्दा एक युवतीको सोही स्थानमा ट्यांकरले किचेर ज्यान गएको थियो।