स्वास्थ्य शिक्षा र सेवालाई मेडिकल माफियाका हातबाट मुक्त गर्न आमरण अनशन बसेको ९ औं दिनमा डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर अवस्थामा पुगेको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा डा. केसीको स्वास्थ्यलाई निकटबाट नियालिरहेका एक चिकित्सकले जनाएअनुसार उनको जीवन रक्षाका निम्ति तत्काल आइसियुमा स्थानान्तरण गर्न ढिला गर्नुहुन्न।
‘डा. केसीको स्वास्थ्य गम्भीर अवस्थामा छ,’ ती चिकित्सकले सेतोपाटीसँग भने, ‘गम्भीर बिरामीहरूको उपचारका निम्ति राख्ने सबैभन्दा उत्तम स्थान आइसियु हो।’
लगातार भोकै बसेका कारण उनी अत्यन्तै कुपोषित अवस्थामा रहेका बिरामी हुन्। ‘शरीर सञ्चालनका निम्ति अत्यावश्यक रसायनहरूको अभाव देखिन थालिसकेको छ,’ ती चिकित्सकले भने, ‘रगतमा यसलाई मापन गर्दा प्यारामिटरहरू सामान्य देखिए पनि चिकित्सकहरूले यसलाई ‘फल्स नर्मल’ भन्ने गरेका छन् किनभने इन्ट्रासेलुलर लस (कोषिकाहरूको क्षय)ले मात्र रगतको मात्रा स्थिर भएको हो।’
ती चिकित्सकका अनुसार उनको सम्पूर्ण शरीरका निम्ति अत्यावश्यक रसायन घटिरहेका छन्। डा. केसीले मुखबाट र अन्य सप्लिमेन्टसहरू लिन अस्वीकार गरेका छन्। उनको गम्भीर अवस्थाका कारण यसअघि नै सलाइन दिन नथालेको भए झनै गम्भीर अवस्था हुने थियो। ‘सामान्य अवस्थाको शरीरले यस्तो परिस्थितिलाई धेरै दिन धान्न सक्दैन,’ ती चिकित्सकले भने, ‘स्वस्थ र युवा व्यक्तिहरू मात्र कम क्यालोरी लिएर लामो समयसम्म जीवित रहन् सक्छन्।’
‘भोकै यति लामो समयसम्म जीवित रहन सक्नु आफैंमा उल्लेख्य घटना हो,’ ती चिकित्सकले भने, ‘यति लामो समयसम्मको भोक हड्तालसँग दुई महत्वपूर्ण पक्ष जोडिएका छन्। उनलाई अस्वाभाविक मुटुको धडकन हुने रोग ‘अरिथमिया’ हुने सम्भावना प्रबल छ। त्यस्तै रगतमा जीवाणुहरूको संक्रमण हुने ‘सेप्सिस’को सम्भावना पनि उत्तिकै बढी छ।’
डा. केसीको शरीर अत्यन्तै कमजोर रहेको र शरीरले कुनै किसिमको भोजन नपाएको अवस्थामा सेप्सिस आक्रमणको खतरा रहन्छ। त्यसैगरी उनी बसेको स्थानमा विभिन्न व्यक्तिको आवतजावतका कारण पनि संक्रमणको खतरा रहेको चिकित्सकहरूले बताएका छन्। ‘डा. केसीको शरीरभित्र के भइरहेको छ भन्ने थाहा नपाउनु सबैभन्दा निराश हुने स्थिति हो,’ ती चिकित्सकले भने, ‘भोकै बसेको बेलामा शरीरको अवस्था कस्तो हुन्छ भन्ने जानकारी चिकित्सकहरूलाई समेत कमै सिकाइएको विषय हो, यो भन्नु पनि आफैंमा लज्जाको विषय हो।’
‘अहिले उहाँ निकै थकित हुनुहुन्छ,’ अनसनस्थलमा रहेका एक चिकित्सकले सोमबार अपराह्न सेतोपाटीसँग भने।