नेपाल पत्रकार महासंघ उदयपुरका साधारण सदस्य रामप्रसाद भट्टराई (सचिन) को हत्याको विषयमा महासंघ र प्रेश चौतारीका विभिन्न शाखाले सत्यतथ्य पत्ता लगाउन माग गरेको छ।
महासंघ उदयपुर, सुनसरी र प्रेश चौतारी सुनसरी, मोरग र उदयपुरले संयुक्त रुपमा प्रेश विज्ञप्ति प्रकाशित गर्दै सत्यतथ्य पत्ता लगाउन आइतबार माग गरेको हो। पत्रकार भट्टराई गत ११ गते वेवारिसे अवस्थामा इटहरी २६ आँपगाछीमा मृत फेला परेका थिए। टाउको तथा अनुहार विक्षत भएको अवस्थामा फेला परेका उन्को रहस्यमयी ढंगले हत्या भएको हुन सक्ने महासंघ र चौतारीको अनुमान छ।
उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा शव राखिएको छ। अहिले पोष्टमार्टम हुने क्रम जारी रहेको छ। महासंघ उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेतद्धारा हस्ताक्षरित विज्ञप्तिमा हत्या सुनियोजित भएको भन्दै प्रशासनलाई सत्यतथ्य सार्वजनिक गर्न माग गरेको हो। त्यस्तै प्रेश चौतारी सुनसरी, उदयपुर र मोरगले संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गर्दै सत्यतथ्य बाहिर ल्याउन माग गरेका हुन्।
सचिन प्रेश चौतारी उदयपुरका कोषाध्यक्षसमेत हुन्। पीडित परिवारलाई क्षतिपूर्ति दिनसमेत सरकारसँग माग गरेका छन्। घटनाको प्रकृति र शवको अवस्था हेर्दा घटना नियोजित रहेको चौतारीको समेत ठहर छ। प्रेश चौतारीका सुनसरी अध्यक्ष देवेन्द्र कार्की, मोरगका अध्यक्ष रामचन्द्र अधिकारी र उदयपुरका भरत खड्काले संयुक्त विज्ञप्ति प्रकाशित गरेका हुन्।