धरानमा पैसाको प्रलोभन देखाउँदै फेरि किशोरी बलात्कारको प्रयास भएको छ। इनरुवा नगरपालिका घर भई हाल धरान १० मा डेरा गरी बस्दै आएको ३२ वर्षीय साजिद अन्सारीले ५० रुपैयाको प्रलोभन देखाउँदै एक दलित किशोरीलाई बलात्कारको प्रयास गरेका हुन्।
बलात्कारको प्रयास गर्ने अन्सारीलाई तत्कालै छिमेकीहरुको सहयोगमा प्रहरीले शनिबार राति पक्राउ गरेको छ भने आइतबार जर्वजस्ती करणी उद्योगमा मुद्दा दर्ता गर्दै कारबाहीको प्रक्रिया अघि बढाएको छ।
अन्सारीले आफ्नै कोठामा बोलाई बलात्कारको प्रयास गर्दा चिच्याएपछि छिमेकीहरुले थाहा पाएका थिए। त्यसपछि उनकै कोठामा कोठामा थुनेर छिमेकीहरुले प्रहरीलाई खबर गरेका थिए। एक सातामा धरानमा यो दोस्रो पटक हो। यस अघि पनि धरानमै १० रुपैयाको प्रलोभन देखाउँदै ७ बर्षीया बच्चीलाई बलात्कारको प्रयास गरेका थिए।
किशोरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य चेकजाँचसमेत प्रहरीले गरिसकेको छ। प्रारम्भिक अनुसन्धानमा अन्सारीले बलात्कारको प्रयास गरेको देखिएकाले मुद्दा थप गरी कारबाहीको प्रक्रिया अघि बढाइएको इप्रका धरानका डिएसपी सुदमकुमार सिजापतिले बताए।
जर्वजस्ती करणी महलका अनुसार बलात्कार गरेको प्रमाणित भए ७ देखि १० वर्षसम्म जेल सजायसँगै क्षतिपूर्तिसमेत भराउने कानुनी प्रावधान रहेको डिएसपी सिजापतिले बताए। उनले ति किशोरीलाई साँझ ६ बजे कोठामा लगेर बलात्कारको प्रयास गरेका थिए।