फोटोःमाओवादीद्धारा २०५५ सालमा दुबै आँखामा तेजाव छर्केर घाईते बनाईएका शर्मा श्रीमती बिष्णुको सहारामा। फाइल फोटोःसेतोपाटी
माओवादी कार्यकर्ताद्वारा तेजाव छर्केर दुवै आँखाको ज्योति गुमाउन विवश रुकुम खोलागाउँ–९ का गोपालप्रसाद शर्मा यतिबेला श्रीमती विष्णुको सहारामा आँखाको उपचारार्थ कहिले काठमाडाँै त कहिले नेपालगन्ज र रुकुम गर्दैमा दिन बिताइरहेका छन् ।
विसं २०५५ मा फरक आस्था राखेको भन्दै गोपालप्रसादलाई गाउँकै माओवादी कार्यकर्ताले ज्यान लिने उद्देश्यले आक्रमण गरेका थिए । माओवादीले उनका दुवै आँखामा तेजाव छर्कंदा आँखाका ज्योति गुमेको श्रीमती विष्णुले बताइन्।
घरमा रहेका नाबालक छोराछोरीको हेरचाह गर्ने उमेरमा पतिको हेरचाह गर्नुपर्ने अवस्था आएको गहभरी आँसु झार्दै उनले भनिन्। ५४ वर्षीय गोपालप्रसाद पूर्णरुपमा आँखा देख्दैनन्।
विसं २०५५ पुस महिनाको एक साँझ खाना खाएर सुत्ने तयारी गरिरहेका शर्मालाई बास पाइन्छ की भन्दै पाहुना बनेर आएका माओवादी कार्यकर्ताले आँखामा तेजाव र मट्टितेल छर्केर आगो लगाएको घटना सम्झँदा उनलाई अहिले पनि सपनाजस्तो लाग्दछ।
त्यतिबेला शर्मा भागेर बाँच्न त सफल भए। त्यतिले पनि नपुगेर माओवादी कार्यकर्ताले उनको परिवारलाई गाउँ निकाला गरी कब्जा गरेको घर जग्गासमेत अहिलेसम्म पनि फिर्ता नगरेको उनले सुनाए।
नेपाली काँग्रेसका तर्फबाट गाविस अध्यक्ष बनेका शर्मा अहिले नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि छन् । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला प्राप्त उपचार खर्चबाहेक राज्यबाट अन्य कुनै सहयोग नपाएको उनको दुखेसो छ ।
शर्मा भन्छन्– विगतमा त जे भयो भयो अब सबैले उचित राहत, न्याय र परिपूरण पाउने बेला हामी आफ्नो घर गृहस्थी आफँै कमाउन पाए हुन्थ्यो।
घाइते पतिको बैशाखी बनेर हिँड्न विवश विष्णुको पतिको उपचार र घरजग्गा फिर्ताको सम्बन्धमा जिल्ला स्थित राजनीतिक दल र सरोकारवाला भने मुकदर्शक बनेको गुनासो छ।
तेह्र वर्षसम्म उपचारको खोजीमा भौतारिँदा पनि उपचार नपाएकामा भने शर्मा निकै खिन्न छन्। रासस