नक्कली सुन देखाई १५ लाख ठगी गरेको आरोपमा एक दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ललितपुर लामाटार-६ बस्ने ५८ वर्षीय रामबहादुर थापा भुजेल र उनकी श्रीमती ३५ वर्षकी धनमाया वास्तोला भुजेल छिन्।
उनीहरुले लमजुङ-३ चितितिलहार घर भई काठमाडौं कलंकी बस्ने विनिता परियार र मुक्ति प्रसाद वस्तीलाई सुन भनेर फलामको टुक्रा १५ लाखमा बेचेका थिए।
पोखराबाट काठमाडौं आउँदा एउटै बसको यात्रा गर्ने क्रममा चिनजान गर्दै हामीसँग सुन छ लगानी गर्नुहोस् सस्तोमा सुन दिन्छौ भनेर १५ लाख लिएर सुन भनि रुमालमा फलामका टुक्रा बाँधेर दिई ठगी गरेको पीडितले अपराध महाशाखामा दिएको निवेदनमा उल्लेख छ ।
प्रहरीले भुजेल दम्पतीलाई लगनखेलबाट पक्राउ गरेको हो।
प्रारम्भीक अनुसन्धानका क्रममा उनीहरुले यसअघि पनि सुन भन्दै सिन्धुपाल्चोक थाङपालचाप-७ घर भई का.जि. गोकर्णेश्वर १३ नयाँवस्ती बस्ने ७३ वर्षीय टिकाध्वज खत्रीबाट २ वटा सुनको औठी समेत ठगी गरेको स्वीकारेको प्रहरीले जनाएको छ।
दुवैलाई ठगी मुद्दामा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको अपराध महाशाखाले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।