मेडिकल माफियाविरुद्ध आमरण अनसनमा बसेका डा. गोविन्द केसीको मागप्रति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरुले समर्थन गर्दै र्याली निकाल्ने भएका छन्।
प्रतिष्ठानको जुनियर रेसिडेन्सियल वेलफेयर सोसाइटीको नेतृत्वमा डा. केसीको आन्दोलनलाई समर्थन गरेका हुन्। प्रतिष्ठानले यस अघि पनि डा. केसीको समर्थनमा धर्नालगायतको दवावमूलक कार्यक्रम गरेको थियो। पुनः डा. केसी मेडिकललाई सम्बन्धन दिने प्रयत्न गरेको भन्दै पाँचौं पटक आमरण अनसन बसेपछि उनको समर्थनमा देशभर आन्दोलन चर्किन थालेको हो।
डा. केसीले उठाएका मुद्दाहरु र मागहरुलाई सम्बोधन गरिनु पर्नेसँगै उनको जीवनरक्षासमेत गर्नु पर्ने सोसाइटीको माग छ। राज्यसँग पहिला भएका सहमति र सम्झौता कार्यान्वयन हुनुपर्ने भन्दै नैतिक समर्थन गरेको विज्ञप्ति निकालिएको प्रतिष्ठानका प्रवक्ता एवं सहायक अस्पताल निर्देशक डा. पशुपति चौधरीले बताए।
जुनियर वेलफेयरका अध्यक्ष सन्तोष ढुंगानाले दिनानु दिन डा. केसीको स्वास्थ्य स्थितिसमेत खराब हुदै गएकाले उनको जीवनरक्षा पनि पहिलो प्रश्न बनिरहेको बताए। यसैलाई दवाव दिनको लागि प्रतिष्ठानका विद्यार्थी, कन्सल्टेन्ट एमविविएस र विडिएसका विद्यार्थीहरुले र्याली निकाल्ने तयारी गरिरहेका छन्।
जिओपिडी अघिबाट धरानको भानुचौकसम्म र्याली निकाल्दै निःशुल्क उच्च रक्तचाप जाँच्दै डा. केसीका मागहरु नागरिकलाई जानकारी गराइने पूर्व अध्यक्ष डा. मधुर बस्नेतले बताए। त्यस्तै केसीको मागहरु राख्दै दीप प्रज्वलनसमेत गरेर फर्किने तयारी भइरहेको उनले बताए।
नेपाल मेडिकल एसोसिएसनको केन्द्रीय निर्णय के हुन्छ त्यही अनुसार आन्दोलनको कार्यक्रमसमेत फेरबदल हुन सक्ने अध्यक्ष ढुंगानाले बताए।