कक्षाकोठामा पहेँलो र निलो रङका टेबल। एक विद्यार्थीलाई एउटा कुर्सी। कुर्सीहरू एकले अर्कोलाई सम्मुखमै देख्न सकिने गरी मिलाएर राखिएका।
कक्षा कोठाका भित्तामा एकातिर ह्वाइटबोर्ड, अर्कोतिर टाँसिएका चित्रहरू। यी चित्र विद्यार्थी आफैँले बनाएका हुन्। उनीहरूले बनाएका सामग्रीहरू यसैगरी भित्तामा टाँस्छन्।
कुन विद्यार्थीले असल काम गर्यो र कसले खराब गर्यो भन्ने मूल्याङ्कन बोर्ड कक्षाकोठा बाहिरै सबैले देख्न सक्ने गरी टाँसिएको छ।
ढोकाबाट छिरेर त्यो बोर्ड हेर्दै सिधै पुस्तकालय छिर्न सकिन्छ। कोठाभरि कुर्सी र टेबल छन्, किताबहरू र्याकमा मिलाएर राखिएका छन्। ब्लुम नेपाल स्कुल सामान्य स्कुल जस्तै देखिन्छ तर पढाउने तरिका भने नौलो छ।
ललितपुर एकान्तकुनास्थित ब्लुम नेपालमा पाठ्यक्रमअनुसारको पढाइ मात्र हुँदैन। विद्यार्थी आफ्नो रुचीअनुसार पढाइ प्रक्रियामा सहभागी हुन्छन्। शिक्षकहरू कुन विद्यार्थीलाई कुन विषयमा रुची छ भन्ने पत्ता लगाउँछन् अनि त्यही पढाउँछन्। संगीतमा रुची नहुनेले त्यो विषय पढ्नु पर्दैन, तर रुची हुनेका लागि विशेष कक्षा सञ्चालन हुन्छ।
* * *
अमेरिका र युरोपमा उच्च शिक्षा लिएका तीन नेपाली युवाले स्वदेशमै आफ्नो ज्ञान बाँड्ने माध्यम बालबालिकाको शिक्षालाई बनाएका हुन्।
‘जसरी दुर्गम गाउँको गरिब परिवारमा जन्मेर हामीले विश्वस्तरीय शिक्षाको अवसर पायौँ, हरेक गरिब विद्यार्थीले यसरी नै अवसर पाउनुपर्छ,’ ब्लुम नेपाल विद्यालय चलाउने तीनजना युवाको एउटै सोच छ।
रामप्रसाद सुवेदी, राजेन्द्रसिंह विष्ट र रवीन्द्र श्रेष्ठ बाल्यकालदेखिका साथी हुन्। गरिब र जेहेन्दार विद्यार्थीलाई बूढानीलकण्ठ स्कुलले छात्रवृत्ति दिन्थ्यो। सीमित कोटाको छात्रवृत्तिका लागि हुने कडा प्रतिस्पर्धा जितेर उनीहरूले बूढानीलकण्ठमा पढ्न पाएका थिए।
स्कुल पढ्दैदेखि उनीहरू असाध्यै मिल्ने साथी बने। बूढानीलकण्ठको पढाइपछि उनीहरू छुट्टिए, पढ्नकै लागि विदेश लागे।
युरोप अमेरिकाका विश्वविद्यालयमा पढाइसकेर तीन वर्षअघि तीनैजना स्वदेश फर्किए- यस्तो स्कुल खोल्ने सपना देखेर, जहाँ थोरै पैसामा आफैँले पाएजस्तो शिक्षा दिन सकियोस्।
* * *
रुकुमबाट बूढानीलकण्ठ हुँदै अमेरिकाको एमआइटी विश्वविद्यालयमा पुगे राम। विश्वविद्यालयमा उनका सहपाठीहरू आफ्नो बिजनेस र करियरबारे छलफल गरिरहेका हुन्थे।
जब नेपालबारे समाचार पढ्थे राम खिन्न हुन्थे। आफ्नै उमेरका विद्यार्थीहरू कलेज बन्द, तोडफोड टायर बाल्ने जस्ता काम गरेको समाचार हुन्थ्यो।
‘जब म नेपालबारे जान्न समाचार पढ्थेँ, यहाँका क्याम्पसहरूमा विद्यार्थीका गतिविधिले मेरो चित्त दुख्थ्यो,’ देशको मायाले उनी निथ्रुक्क हुन्थे।
अमेरिकामै उनले जाने- राम्रो शिक्षाले नै राम्रो मान्छे बनाउने हो। राम्रो संस्कार बसाउने पनि शिक्षाले नै हो।
उनलाई भेट्न अमेरिकाकै अर्को कलेजमा पढ्ने रवीन्द्र बेलाबेला पुग्थे। त्यही बेला रामले आफ्नो चिन्ता बाँडे। राम र रवीन्द्रले अर्का साथी राजेन्द्रसँग पनि यही चिन्ता बाँड्न थाले, इन्टरनेटको कुराकानीमा। उनी फिनल्यान्डमा अध्ययनरत थिए।
उनीहरूले योजना बनाए- नेपाल फर्केर स्कुल खोल्ने। तीनैजना नेपाल फर्के।
यहाँको अवस्था उनीहरूलाई थाहै थिएन। स्कुल खोल्ने अनुमति पाउन उनीहरूले एक वर्ष दु:ख झेल्नुपर्यो। सञ्चालनमा रहेको विद्यालयको स्वामित्व आफ्नो नाममा बनाउन यति धेरै कर्मचारीलाई रिझाउनु पर्ला भनेर उनीहरूले सोचेकै थिएनन्। ‘त्यही बेला चाल पाइयो नेपाली प्रशासनको दुरुह अवस्था,’ रामले भने।
तर उनीहरू थाकेनन्, किनभने उनीहरू सपना बोकेर स्वदेश फर्किएका थिए। ‘हामीले नेपालको ब्युरोक्रेसी बुझ्न पाइयो नि,’ राजेन्द्र केही उज्याला देखिए। किनभने उनीहरूले त्यो सानोतिनो लडाइँ जितिसकेका छन्।
स्कुल चलाउने अनुमति पाएपछि गाउँगाउँ गएर उनीहरूले विद्यार्थी ल्याए। सुरुको १७ जना विद्यार्थी थिए, एकदेखि ८ कक्षासम्म।
स्कुल खोले पनि विद्यार्थी र शिक्षक त जहाँ पनि हुन्छन्। नेपालमा त यस्तो देखिएको छ, निजी स्कुल खोल्नेले कमाउने पैसा नै हो। गुणस्तरीय शिक्षा तपसिल मात्रै भएको छ। तर यी तीन युवा खेती गर्न होइन, गुणस्तरीय शिक्षाको बिउ उमार्न आएका हुन्।
प्रत्येक बच्चामा आफ्नै खाले गुण हुन्छ, त्यो गुण चिनेर मलजल गर्न सके योग्य नागरिक बन्न सक्छन्। धेरैले अनदेखा गरेको यही सामान्य कुरा उनीहरूले दिने शिक्षाको मूल आधार हो।
उनीहरूले स्कुलमा पढाउनुभन्दा पहिले बालबालिकाहरूको इच्छा बुझ्न थाले। कुन विद्यार्थीलाई गणितमा रुची छ, कुन विद्यार्थीलाई नेपालीमा र कुनलाई कम्प्युटरमा रुची छ।
बच्चाहरूको मनमा भएका अनगिन्ती रहरलाई टिपेर पढाउनु यी तीनको रहर हो।
राजेन्द्रले बेलीविस्तार लगाउँदै थिए।
‘हामीकहाँ खुबी हुनेलाई झन् प्रमोट गरियो, रुची हुनेलाई कसैले हेरेन,’ रमेशले भने, ‘तर जमाना अर्कै भएको छ।’
यो जमानामा हरेक बच्चालाई व्यक्तित्व विकासका सम्पूर्ण अवसर दिनुपर्छ भन्ने उनीहरूको मान्यता छ।
‘हरेक बच्चाको केही न केही इच्छा हुन्छ,’ राजेन्द्रले भने, ‘हरेक बच्चा महत्त्वपूर्ण हुन्छ।’
* * *
राम नेपाल फर्किएको उनकी आमालाई रमाइलो लागेन। ‘यहाँ किन फर्केको? सबै मान्छे त विदेश जान्छन्। यहाँ के हुन्छ र?’ उनको मान्यता थियो।
दुर्गम गाउँमा बस्ने र सामान्य चेत भएकी आमाले समेत नेपालमा छोराको भविष्य नदेख्ने गरी बिग्रिइसकेको रहेछ मुलुक?
रामले पो अवसर पाएर रुकुमको सुदूर गाउँबाट बूढानीलकण्ठ आउन पाए। त्यहाँ राम्रो शिक्षा पाएकै कारण अमेरिका उड्न पाए। तर उनका साथीहरू त यतै छोडिए। यही कुरा उनले आमालाई सम्झाउन खोजे।
‘आमा मजस्तै अरुले पनि राम्रो शिक्षा पाउनु पर्छ, म यहाँ स्कुल खोल्छु,’ रामले आमालाई सम्झाउन खोजे।
‘खै के होला र?’ आमालाई चित्त बुझेकै छैन।
रवीन्द्रका बाबुआमा त काठमाडौंकै बासिन्दा हुन्। पढे-लेखेको र राम्रै आर्थिक हैसियत भएको परिवार हो उनको।
उनले अमेरिकाबाट फोन गरेर भनेका थिए- म त नेपाल फर्कंदै छु।
उनका बुबाले पत्याएनन्।
फर्कन्छु भन्ने छोरालाई नआइज् भन्न पनि सकेनन्। उनीहरूलाई पनि चित्त बुझेको छैन अझै।
‘भन्न त केही भन्नुभएन तर उहाँहरूको आँखामा देख्छु, मैले अमेरिकाबाट फर्केर राम्रो गरिनँ,’ रवीन्द्र मुस्कुराए।
हुन पनि हो, यिनीहरूका स्कुले साथी त नेपालमा भन्दा विदेशमा भेटिन्छन्। भिसा लागेका मान्छे नेपाल फर्किने सपनै देख्दैनन् अचेल।
तर रवीन्द्रलाई नेपाल फर्केकोमा कुनै पछुतो छैन आमाबाबुका आँखामा अझै आफूप्रतिको द्विविधा देख्ने रवीन्द्र आफ्नो निर्णयमा ढुक्क छन्। आफूले देखेको सपना पूरा गर्ने अठोटसाथ उनी स-साना नानीहरूका हात समातेर लेख्ने, पढ्ने र खेल्ने गर्छन्।
‘म २५ वर्षको भएँ, मैले केही गर्न सकिनँ कि भन्ने उमेरै भएको छैन,’ उनले भने, ‘मेरो ३० वर्षमा पनि केही गर्न सकिएन छ भने रिग्रेट होला।’
उनले यसोभन्दा राम र राजेन्द्रले टाउको हल्लाइरहे। स्वदेशप्रतिको मायाले हुरुक्क भएर देशको विकासमा हातेमालो गर्न आएको भन्छन् उनीहरू।
यी दुईवर्षमा उनीहरूले के परिवर्तन गरे त?
राजेन्द्र भन्छन्- झट्ट हेर्दा ठूलो नलाग्न सक्छ, ब्लुम नेपालमा पढ्ने ६० जना विद्यार्थीको दिनदिनैको परिवर्तन महसुस गरिरहेका छौँ। गाउँको सरकारी स्कुलमा पढेको भए एबिसिडी घोक्दै हुने थिए। यहाँ त स-साना नानीहरू आफ्ना इच्छाको बारेमा, पढाइका बारेमा आफैँ विचार गर्छन् र छलफल गर्छन्। भोलि उनीहरूले नै हो समाज परिवर्तन गर्ने र गर्छन् पनि।
‘बच्चाहरूले पहिले कति किताब पढ्थे र अहिले कति पढ्छन् भन्नेले पनि परिवर्तन कति भयो भन्ने देखाउँछ, यहाँ बच्चाहरू कोर्समा मात्रै अल्झेर बस्दैनन्,’ रामले अर्थ्याए।
स्कुलमा पारिवारिक वातावरण दिएको उनीहरूको दाबी छ। ‘हामी कक्षाकोठामा शिक्षक हौँ, जब होस्टल पुग्छौँ, कसैका बाआमा कसैका दाजुभाइ बन्छौँ,’ राजेन्द्रले भने, ‘विद्यार्थीहरूसँग हाम्रो सम्बन्ध राम्रो छ, उनीहरू कुनै कुरा पनि सेयर गर्न हिच्किचाउन्नन्।’
गतवर्ष एउटा गाउँमा उनीहरूले यस्तो बालक भेटे, जो काठमाडौँको ‘ठूलो’ स्कुलको होस्टलबाट भागेर आएको थियो। बाआमा चिन्तित थिए।
एक महिना बस्न सकेन भने फर्काउने आश्वासन दिएर उसलाई लिएर आए।
तीन कक्षामा पढ्ने बालक अहिले स्कुलबाट घर जानै मान्दैन रे। दसैँमा पनि अरुभन्दा छिटो स्कुलमा आइपुगेको देखेर उनीहरू कम्ता खुसी भएनन्।
धेरै बालबालिका आइरहे भने के यस्तै वातावरण दिन सक्लान्?
उनीहरू त ढुक्क छन्, हजार विद्यार्थी भए पनि आफ्नो स्कुल परिवारजस्तै हुनेछ।
‘केही गाह्रो छैन, हामीले सबैतिर नभ्याए पनि आफ्ना जुनियरहरूको अभिभावक हाम्रै विद्यार्थी बन्ने छन्,’ राजेन्द्रले भने।
* * *
उनीहरूले आफ्नै लगनीमा स्कुल खोलेका हुन्। विद्यार्थीबाट आउने शुल्क र ब्लुम नेपाल भन्ने एनजिओमा आउने चन्दा कमाइको आधार हो।
उनीहरूलाई आफ्नो स्कुल अझै फराकिलो ठाँउमा होस् भन्ने लागेको छ किनभने मापदण्ड अनुसारका स्कुल भवन, कक्षाकोठा, पुस्तकालय र खेल्ने चौरको व्यवस्था गर्नु छ।
रवीन्द्रलाई जहिले पनि लाग्छ- फुटबल जस्ता खेलमा विद्यार्थीलाई सहभागी बनाउनुपर्छ। खेलले विद्यार्थीलाई प्रतिस्पर्धाका लागि सधैँ तयार रहन सिकाउँछ भन्ने उनले बुझेका छन्।
* * *
गत वर्ष नै जुम्लाबाट एक बालिका स्कुलमा आइन्।
उनलाई नेपालीसमेत आउँदैनथ्यो। लाज, डर र धकले गर्दा उनी चुपचाप बस्थिन्। तर छ-सात महिनामै उनी तगडा निस्किइन्। अहिले अंग्रेजी, नेपाली सबै राम्रो भएको छ।
उसको प्रगति देखेर राजेन्द्र दंग पर्छन्। ‘जब ऊजस्तो नानीले राम्रो गर्छ नि, एकदमै खुसी लाग्छ,’ राजेन्द्रले भने, ‘जब विद्यार्थीको माझमा हुन्छौँ, हामीले सबै कुरा बिर्सिन्छौँ।'
राम र रवीन्द्रले थपे- हामीलाई लाग्छ योभन्दा सुन्दर संसार अर्को छैन।