ठ्याक्कै एक महिना भयो, उनी अस्पताल बस्न थालेको। चमेली मगर यसअघि कहिल्यै यति लामो समय अस्पताल बसेकी थिइनन्।
उनकी छोरी संगीताको एसिडले डढाएको अनुहारको घाउ निको बनाउन डाक्टरहरू तारन्तर बेडमा आइरहन्छन्। घरि ड्रेसिङ, घरि औषधी अनि पत्रकार र अन्य सहयोग गर्ने र चासो राख्ने पनि संगीता बसेको काठमाडौँ मेडिकल कलेजको बेड नं. ४५७ मा पुगिरहन्छन्। सहानुभूति दिन्छन्। घाउ कति निको भयो? भनेर सोध्छन्।
चमेलीलाई भने छोरीको अहिलेको पीडाभन्दा उनको बाँकी भविष्यको सुर्ताले सताइहन्छ।‘यो घाउ त निको होला। तर, उसको मनमा लागेको घाउ त बाँचुञ्जेल रहन्छ नि’, उनले सेतोपाटीसँग भनिन्।
१२ वर्षअघि रामेछापको खनियाँपानी ८ बाट चमेली श्रीमान् प्रेमसँगै काठमाडौं आएकी हुन्। त्यतिबेला संगीता ४ वर्षकी थिइन्। छोरा सन्तोष ३ वर्षका।
स्कुलको आँगन नै नटेकेकी चमेलीले काठमाडौंमा भाँडा माझ्ने काम पाइन्। उनका श्रीमान् प्रेम माछा बेच्ने थाले। त्यस्तै काम गरेर मगर दम्पतिले दुई छोराछोरी हुर्कायो। छोराले सात कक्षामै पढाइ छोडिदियो।
पछिल्लो समय बाबुआमा र छोरा क्याटरिङमा काम गर्थे। एकै ठाउँमा होइन, जहाँ काम पायो त्यहीँ। संगिता भने पढिरहेकी थिइन्। उनले स्कुलै टेकिनन्, बूढाले ५ कक्षासम्म पढे। छोराले ७ कक्षामै पढाइ छोडिदियो। चमेलीलाई पढाइको भर छोरी संगीतामै थियो।
‘पढी भने मेरोजस्तो बाँच्नका लागि अरुका जुठा भाँडा माझ्नु पर्दैन, फाइनान्समा जागिर खाई भने राम्रै हुन्छ, सोचेकी थिएँ........’ उनी रोकिइन्। उनको त्यो सपनामा गएको फागुन १० गतेको घटनाले ब्रेक लगाइदियो।
एसएलसीको तयारी गरिरहेकी संगीता अस्पतालाको शय्यामा पुगिन्। छोरीलाई स्याहार्न आमा चमेली पनि दिनरात अस्पतालमै बसिरहेकी छन्।
संगीताको अनुहारमा रामेछापकै जीवन बिकले एसिड छ्यापेको प्रहरीसँग स्वीकारेका छन्। आफूहरूबीच प्रेमसम्बन्ध भएको तर जातका कारणले संगीता र उनको परिवारले हेपेकोले सहन नसकी एसिड प्रहार गरेको जीवनले बयान दिएका छन्।
चमेली भने आफूहरूले जातपातको कुरा कहिल्यै नगरेको बताउँछिन्। ‘अर्काको जातसँग हाम्रो के चासो?’ उनले भनिन्, ‘हामीले उनीहरूको जातलाई कहिल्यै हेपेका छैनौं, यो कुरा भगवान्लाई थाहा होला।’
उनका अनुसार ०६९ सालमा झोछेंको उनीहरू बसेको घरमा जीवनको परिवार पनि आयो। माथिल्लो तला जीवन परिवार बस्न थाले। जीवन पढे-लेखेका थिए। उनैले ८ कक्षामा पढ्दै गरेकी संगीतालाई नजानेको विषय सिकाइदिन्छु भन्ने प्रस्ताव राखेपछि चमेलीले पनि हुन्छ भनिन्। संगीता जीवनसँग पढ्न थालिन्। त्यहीँ ट्युसन पढाइको सम्बन्ध जीवनका भाषामा प्रेममा भयो। तर, चमेलीका अनुसार जीवनले संगीतालाई दुर्व्यवहार गर्न थाले। मिलिजुली बसेको परिवारमा कलह जन्मियो। बाझाबाझ धेरैचोटी पर्थ्यो। एकदिन चोकमै संगीताका भाइ सन्तोष र जीवनको झगडा पर्यो। झगडामा दुवै परिवारका अरु सदस्य पनि थपिए। जीवनका परिवारले प्रहरीमा मुद्दा हाले। प्रहरी दुवै परिवारलाई मिलेर बस्ने सर्तमा मिलापत्र गरिदियो।
प्रहरीले मेलमिलाप गरिदिएको परिवारको झगडा बाहिर मिले पनि भित्रैभित्रै भुसको आगो बनेको रहेछ। जीवनले आफ्नो परिवारलाई संगीताको परिवारले अपमान गरेको र छुवाछुत गरेको भन्दै त्यसको बदला लिने योजना बनाए। चमेलीका परिवार भने आफ्नै काममा व्यस्त रहे।
गत फागुन १० गते ट्युसन पढन गएकी संगीतासहित तीन छात्रामाथि एसिड हानेको खबर आएपछि सुरुमा त मगर परिवारले कसले हान्यो भन्ने कल्पनै गर्न सकेन। प्रहरीले दिनदिनै केरकार गर्न थाल्यो। कसैसँग दुस्मनी छ कि भन्दा उत्तर एकै आउँथ्यो – माथिल्लो तलामा बस्ने जीवनको परिवार।
तर, जीवन भारत गएको भनेकाले उनीहरूले भन्ने आँट गरेनन्। धेरैदिनसम्म अनुसन्धान गर्दा पनि एसिड हान्नेको टुंगो नलागेपछि चमेलीले नै जीवनको नाम भनेकी रैछन्। ‘सबैलाई सोधिसकेपछि जीवनलाई पनि सोध्न पर्यो भनेर प्रहरीलाई भनेकी हुँ,’ चमेलीले भनिन्। उनले भनेअनुसार नै प्रहरीले अनुसन्धान गर्दै जाँदा जीवनलाई एसिड हानेको अभियोगमा पक्राउ गर्यो।
जीवनलाई ज्यान मार्ने उद्योगमा प्रहरीले मुद्दा चलाएको छ। उनलाई कानुन अनुसार कारबाही गर्नुपर्ने चमेलीको माग छ। तर, जीवनलाई जे कारबाही गरे पनि छोरीको मनमा लागेको घाउ निको नहुने कुराले उनको मन उज्यालो हुन सकेको छैन।
१६ वर्षकी संगीताका शरीरका अन्य भागबाट मासु ल्याई अनुहारमा हालिएको छ। डाक्टर भन्छन्, ‘जे उपचार गरे पनि उनको अनुहार पहिलेजस्तो हुँदैन।’
‘मेरो त आधा जिन्दगी बितिसक्यो, उसको त बाँकी छ। त्यस्तो अनुहार लिएर कसरी बाँच्ली? मेरी छोरीको जिन्दगी त बाँच्नका लागि मात्र बाँच्नु हो अब त...’, उनी एकछिन मौन बनिन्।
दुनियाँका जुठा भाँडा माझेर पढाएकी, कराँते सिकाएकी उनकी छोरी अस्पतालको शय्यामा छिन्। संगीतासँगै चमेलीका सपना पनि शय्यामा परेका छन्। निको भएपछि उसले ऐना हेर्ली, साथीसंगी देख्ली। आफ्नो अनुहार हेरेर के सोच्ली? चमेलीका मनमा अचेल यस्तै-यस्तै अनुत्तरित प्रश्न खेलिरहन्छन्।
उनी भन्छिन् – मेरी छोरीले त यस्तो भोग्नु पर्यो। अरु कसैका छोरी चेलीले यस्तो भोग्नु नपरोस्। एसिडले छोरीको अनुहार डढेपछि कति पीडा हुन्छ भन्ने मलाई मात्र थाहा छ। तर, अरु आमालाई यस्तो पीडा नपरोस्।
अरु छोरी चेलीलाई पनि यस्ता अपराधबाट जोगाउन यो विषयमा सबैले ध्यान दिनुपर्ने चमेलीको बुझाइ छ। ‘अरुले पनि उसले त एसिड हानेको थियो, म पनि हान्छु भन्ने सोच्न पनि नसकोस्,’ उनले भनिन्, ‘कानुन बनाउनेले यो घटनाबाट सिकेर अरुलाई यस्तो हुन नपर्ने गरी कानुन बनाए सबैलाई राम्रो होला।’
तस्बिर : प्रकाश लामा
यो पनि पढ्नुहोस्
जातपातको एसिडले जन्माएका जीवन