प्रहरीले काठमाडौंको बसन्तपुरमा ट्युसन पढ्दै गरेका छात्रामाथि भएको एसिड आक्रमण गर्नेलाई पक्राउ गरेको छ। जीवन बिक नाम गरेको व्यक्तिलाई पक्राउ गरी आज ११ बजे पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो।
महानगरीय प्रहरी प्रभाग (मेट्रो) प्रवक्ता नारायण सिंह खड्काका अनुसार हनुमान ढोका प्रहरीले काठमाडौंको टोखाबाट बिकलाई समातेर काठमाडौं प्रहरीलाई बुझाएको हो। महानगरीय आयुक्तको कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गरी घटनामा संलग्न आरोपी सार्वजनिक गरेको हो।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा हनुमान ढोकाका एसएसपी पुस्कर कार्कीका अनुसार हिजो राति ११ः ४५ बजे पक्राउ गरेको हो। कार्कीका अनुसार बिक संगीता मगर बस्ने घरमै डेरा गरी बस्ने ब्यक्ति हुन्।
यसअघि प्रहरीले स्केच बनाएर शंकास्पद केहीमाथि निगरानी गरेको थियो। पीडित विद्यार्थी र ट्युसन सेन्टर नजिकैका स्थानीयसँगको छलफल र बयानका आधारमा प्रहरीले बनाएको स्केच बनाएको थियो।
आक्रमणकारीले लगाएको कपडाको रंग, हिँडाइ र कुँदाइका आधारमा केही शंकास्पद व्यक्तिमाथि निगरानी बढाइएको थियो।
प्रहरीले यो घटनामा प्रेमसम्बन्ध, साथीहरुबीच झैंझगडा वा मनमुटाब, पारिवारिक रिसइबी र परिवारबाहेकका अन्य व्यक्तिसँगको रिसइबीजस्ता विषयमा केन्द्रीत भएर अनुसन्धान गरेको थियो।
यही वर्ष एसएलसी दिने तयारीमा रहेका रामेछाप घर भई वसन्तपुर बस्ने १६ वर्षीया संगीता मगर एसिड प्रहारबाट गम्भीर घाइते भएकी छन् । सङ्गीताको छाती, पेट र खुट्टा पोलेको छ । सीमाको अनुहारमा एसिड प्रहार गरिएको थियो । गम्भीर घाइते भएकी सिमालाई काठमाण्डौ सिनामङ्गल स्थित के एम सी अस्पतालमा उपचार भइरहेको छ।
यो पनि हेर्नुहोस्