कांग्रेस सहमहामन्त्री एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का मेहलकुना, नाङ्गीका एक स्थानीयसँग कुरा गर्दै
मेहलकुनाको भेरीनदी दक्षिणतिर उकालो चढेपछि पुगिन्छ- नाङ्गी गाउँ। हुन त गाउँमा सडकदेखि बिजुली बत्ति सबै पुगेको छ। तर, एउटै कुराको अभावले गाउँलाई नाङ्गोजस्तै बनाइदिएको छ। त्यो हो– सिँचाइको असुविधा।
‘कुलामाथि खेत, भोको रह्यो पेट,’ पूर्वगृहमन्त्री एवं सुर्खेत क्षेत्र नं. १ का सभासद पूर्णबहादुर खड्का नाङ्गी पुग्दा स्थानीय गीता शर्माले मार्मिक रूपमा गाउँको पीडा पोखिन्।
वास्तवमै गीताको गीतभित्र सिंगो नाङ्गी गाउँको पीडा लुकेको छ। नाङ्गी सुविधाको खोजीमा उत्तरपूर्वी सुर्खेतको सिम्ताबाट बसाइँ सरेर आएका व्यक्तिको बाहुल्यता भएको गाउँ हो। उनीहरुले खड्कासँग सिँचाइबाहेक अरुथोक मागेनन्।
‘फेरि अर्कोपटक आउँदा पहिले सिँचाइ पठाइदिनुहोला,’ गीताले भनिन्, ‘हामीलाई विकासबाहेक अरु केही पनि चाहिएको छैन।’
सोही गाउँका शिवलाल शर्माले रित्तो ट्यांकी देखाएर गाउँको पीडा व्यक्त गरे। ‘सिँचाइको लागि ट्याङ्की त बनाइएको छ, तर अहिलेसम्म पानी खसेको छैन,’ उनी भन्दै थिए, ‘विकासको नाममा हामीलाई ढाँट्ने काममात्र भएको छ।’
करिब एक सातासम्म पूर्वी सुर्खेतका विभिन्न गाउँ घुमेका कांग्रेस सहमहामन्त्रीसमेत रहेका खड्काले गाउँमा विकासको मागबाहेक अरु कुरा सुनेनन्। नयाँ संविधान, संघीयता र शासकीय स्वरुपजस्ता राष्ट्रिय मुद्दासँग स्थानीयको कुनै सरोकार छैन। त्यसैले त संविधान निर्माणको म्यान्डेट दिएर पठाइएका सभासद गाउँ आउँदासमेत उनीहरुले ती विषयमा बोल्न चाहेनन्।
‘हाम्रो भोको पेट जसले भरिदिन्छ, त्यही हाम्रो सरकार हो,’ मेहलकुना मानिकेकी कौशीला कामीले भनिन्, ‘यो डाँडामा कसैले पनि विकास गरेनन्, आश्वासनमात्र दिए, अहिले नेताज्यू यहीँ आएर हेरेपछि केही हुन्छ कि भन्ने आशा पलाएको छ।’
मानिकेको पीडा अझ दर्दनाक छ। करिब दुई सय जनसंख्या रहेको दलित बस्ती मानिकेमा एक सिजनमात्र अनाज फल्छ। स्थानीय उत्पादनले वर्षमा मुश्किलले तीन महिना खान पुग्छ। बाँकी महिना बेसाहाले धान्नु पर्छ। सिँचाइ सुविधा पुगेमा दुई सिजन बाली लाग्ने र तरकारीलगायत नगदे बालीसमेत उब्जाउन सकिने हुँदा जीवनयापन सहज हुने स्थानीयले आफ्ना नेतालाई सुनाए।
सोही गाउँका ८५ वर्षीय रविलाल सुनार उमेरले ‘डाँडामाथिको जून’ भए पनि उनीभित्र रहेको विकासरुपी आशाको दीयो भने निकै चम्किलो छ। विकासको विम्बको रुपमा सधैँ आफूसँग राख्ने लौरो टेकेर दैलोमा पुगेका खड्कालाई स्वागत गर्त उनी ठमठमी हिँडेर अगाडि आइपुगे। खैरो कोटको गोजीबाट सेतो कागज निकाल्दै सभासदतिर हात लम्काए। त्यो उनको जीवनको पहिलो पत्र थियो, जसमा सिंगो गाउँको साझा पीडा कोरिएको छ। ‘हामीलाई अरु केही चाहिएको छैन, सिँचाइ भए पुग्छ,’ मागपत्रको सार सुनाउँदै उनले भने।
भेरीनदीको दक्षिणतिर डाँडामा पर्ने मेहलकुनाको मानिके गाउँ, जसलाई बत्तिमुनिको अँध्यारोभन्दा फरक पर्दैन। २०२४ सालमा त्यहाँ बस्ती बसेको हो। उतिबेलाका दुई/चारवटा घर अहिले बढेर २६ पुगे। सानो करेसाबारी झण्डै ४० बिगाहा खेतीयोग्य जमिनमा फैलियो। तैपनि सिंगो गाउँले सुरुदेखि अहिलेसम्म सिँचाइ असुविधाको एउटै दुःख भोगिरहेको छ।
वरिपरि हरियो जंगलले घेरिएको मानिके गाउँ झट्ट हेर्दा जति मनमोहक देखिन्छ, भुइँतिर आँखा गाड्दा उत्तिकै उराठलाग्दो। शीर ठाडो गरेर हेर्दा देखिने हरियालीलाई फुस्रो माटोले गिज्याएझैं लाग्छ। ‘सिँचाइ पुगेको भए त यो ठाउँ स्वर्गै हुन्थ्यो,’ पहिलोपटक मानिके पुगेका खड्कासँग रविलालले भने, ‘मर्नेबेला मेरो बिन्ती छ, जसरी हुन्छ यहाँ खेती लगाउने पानी पुर्याइदिनु पर्यो।’
सुर्खेतमा खड्काको छवि विकासवादी नेताको रूपमा स्थापित छ। उनी गृहजिल्ला आएको बेला स्थानीयको घरमा बास बस्नेगरी हप्तौँसम्म गाउँमा हराउँछन्। त्यसैले पनि होला, स्थानीयले उनीसँग विकासको ठूलो अपेक्षा गरेका हुन्छन्।
गाउँमा पुगेपछि जनताको अपेक्षा व्यक्तिपिच्छे फरक-फरक पाइन्छ। कोही आफ्नो व्यक्तिगत समस्या सुनाउँछन् भने कोही गाउँ र क्षेत्रको विकासको लागि माग गर्छन्। सबै गाविस सडक सञ्जालले छोएको पूर्वी सुर्खेतमा अहिले सिँचाइ, खानेपानी र विद्युतीकरण प्रमुख मागको रुपमा आएका छन्।
बडाखोलीमा पुगेपछि भने कृषि क्याम्पस स्थापनाको महत्वाकांक्षी माग अघि सारियो। नेपाल राष्ट्रिय उच्च माविका प्राचार्य ढालबहादुर खत्रीले विद्यालयको पूर्वाधारमा क्याम्पस स्थापना गर्न सकिने संभावना औंल्याए। ‘क्याम्पस स्थापना भएमा यसले कृषि शिक्षाको प्रसार गर्नुका साथै स्थानीय स्तरमा कृषि व्यवसाय प्रवर्द्धन गर्न मद्दत पुर्याउँछ,’ उनले भने, ‘यसको लागि सरकारले पनि सहयोग गर्नुपर्यो।’
बडाखोलीबाट फर्किदै गर्दा बीच बाटोमा एक महिला दौडिँदै आएर खड्कालाई रोकिन्। उनले हातमा रहेको कागजको टुक्रा खड्कालाई दिँदै निर्देशनात्मक शैलीमा भनिन्, ‘श्रीमान्को सरुवा जसरी पनि गरिदिनुहोला।’
दैलेखमा रहेका उनका श्रीमान्लाई अन्यत्र कतै सरुवा गर्नु थियो। यसको लागि उनले आफ्नो गाउँमा सधैँ आइरहने खड्कालाई गुहारिन्। ‘जति कडा शैलीमा भने पनि यो जनताले दर्शाएको माया हो,’ खड्काले उनीबाट छुट्टिएपछि भने, ‘कोही हप्काउँछन्, कोही गाली गर्छन्, जे भए पनि यो मलाई गरिएको आत्मीयता हो।’
राजधानीमा राजनीतिक वार्ता गर्दै थकित भएका कांग्रेस सहमहामन्त्री खड्काले सुर्खेतका गाउँमा पुगेपछि भने जनताको अपेक्षा फरक भेटिएको प्रक्रिया दिए। ‘जनतालाई विकासबाहेक अरु चाहिएको छैन,’ उनले भने, ‘हामी दलका नेताहरू भने राजधानीमा अनेक मुद्दामा झगडा गरिरहेका छौं।’