धनगढी नगरपालिका वडा नम्बर ३ चटकपुरका २८ वर्षका रमेश बिष्टको हत्या आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा धनगढी नगरपालिका वडा नम्बर ३ चटकपुरकै थानेश्वर गौतम, सोही ठाउँका भुपेन्द्र जोशी र बैतडीको महारुद्र गाविस वडा नम्बर ६ का दीपक ओझा रहेका छन्।
उनीहरु सबैलाई धनगढीबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक विश्वराज खड्काले जानकारी दिएका छन्।
उनले हत्या आशंकामा सोधपुछका लागि पक्राउ गरेको बताएका छन्। 'आशंकामा सोधपुछका लागि नियन्त्रणमा लिएको हो' उनले भने–'सोधपुछ जारी रहेकाले घटनामा संलग्नता छ कि छैन भन्ने बारेमा स्पष्ट भन्न सकिने अवस्था छैन।'
फागुन २२ गते दिनभर होली मनाएका बिष्ट साँझ मोहना नदीमा डुबेर बेपत्ता भएका थिए। प्रहरीले फागुन २३ गते बिहान मात्रै बिष्टको शव नदीमा डुबेको अवस्थामा फेला पारेको थियो।
बिष्टको शव मोवाइल र पर्स समेत पाइन्टको गोजीमा रहेको अवस्थामा फेला परेको थियो। स्थानीयले उनीसँगै अन्य तीन जना समेत रहेको जानकारी दिएपछि प्रहरीले खोजी गरेको थियो।
फागुन २२ गते साँझपख एक व्यक्ति नदीमा डुबेर बेपत्ता भएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेको थियो। प्रहरीले घटनास्थल नजिकैबाट बिष्टले चलाउँदै आएको से २ प ४१३९ नम्बरको मोटरसाइकल फेला पारेको थियो।
मोटरसाइकल फेला पारेको प्रहरीले शव नभेटिएसम्म नदीमा डुबेर मृत्यु हुने व्यक्तिको सनाखत गर्न सकेको थिएन।
प्रहरीले मोटरसाइकलका आधारमा बिष्ट नै नदीमा डुबेको हुनसक्ने आशंका गरेको थियो।
यस्तै प्रहरीले मसुरीया गाविसस्थित सुनपाल सामुदायिक वन क्षेत्रबाट एक थान भरुवा बन्दुक र मृत बँदेल फेला पारेको छ।
स्थानीय बासिन्दाले जानकारी दिएपछि ईलाका प्रहरी कार्यालय मसुरीयाबाट प्रहरी सहायक निरिक्षकको नेतृत्वमा गएको टोलीले लोड नभएको एक थान भरुवा बन्दुक र करिव २० किलोको मृत बँदले फेला पारेको थियो।
मृत अवस्थामा फेला परेको बँदेल प्रहरीले इलाका वन कार्यालयका कर्मचारीहरुको रोहबरमा गाडेको छ।