नेपालका लागि जापानी राजदूत मासासी ओगावाले अर्थमन्त्री रामशरण महतलाई भेटी बनेपा-बर्दिबास सडक निर्माण पूरा भएको र आगामी वर्ष नेपाल सरकारलाई हस्तान्तरण गर्ने जनाएका छन्। जापान सरकारको अनुदान सहयोगमा निर्मित १६० किमी लामो उक्त सडकको निर्माण आव २०५३/०५४ मा सुरु भएको उल्लेख गर्दै अब निर्माण पूरा भएको जनाइएको छ।
अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्रीले नेपालको आर्थिक विकास विशेष गरी जलविद्युत् क्षेत्रका विकासका क्षेत्रमा जापानले लिएको सक्रियता र अहम् भूमिकाका लागि प्रशंसा गरेको अर्थमन्त्रीका प्रेस सल्लाहकार गजेन्द्र विष्टले जनाए।
जापानी राजदूत ओगावाले अर्थमन्त्री महतको हालै सम्पन्न जापान भ्रमणले दुई मुलुकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन सफल भएको पनि बताएका थिए।
भेटमा अर्थमन्त्री महतले बनेपा-बर्दिबास सडकको गुणस्तर राम्रो भएको भन्दै सन्तुष्टि व्यक्त गरेका थिए। काठमाडौँबाट पूर्वी तराईलाई छिटो जोड्ने सो मोटरबाटो करिब २२ अर्ब रुपैयाँ लागतमा निर्माण भएको हो।
जापान तनहुँ जलविद्युत् आयोजनाको प्रमुखमध्येको एक दाता राष्ट्र पनि हो। जापानले नागढुंगास्थित सुरुङ मार्गको निर्माणमा पनि उल्लेख्य सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
अर्थमन्त्री महत, सडक विभागका महानिर्देशक तथा इन्जिनियरलगायतको टोलीले हालै जापान भ्रमण गरी नेपालमा प्रभावकारी हुने टनेल प्रविधिको अध्ययन तथा अवलोकन गरेको थियो। रासस