नेपाल आयल निगमले विभिन्न वित्तीय संस्थाबाट लिएको करिब १० अर्ब रुपैयाँ ऋण तिरेको छ। निगमले इन्डियन आयल कर्पोरेसन(आइओसी) लाई करिब पाँच अर्ब २० करोड र कर्मचारी सञ्चय कोषलाई एक अर्ब ५० करोड ऋण भुक्तानी गरेको हो।
निगमले भोलि बुधबार नागरिक लगानी कोषसँग लिएकोमध्ये तीन अर्ब ऋण भुक्तानी गर्दैछ। निगमले कोषबाट आठ अर्ब ६६ करोड ऋण विभिन्न समयमा लिएको थियो। तीन अर्ब भुक्तानी गरेपछि पाँच अर्ब ६६ करोड तिर्न बाँकी रहने आयल निगमले जनाएको छ।
निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले विभिन्न संस्थासँग लिएको ऋण तिर्ने निर्णय गरेको प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले जनाए। उनका अनुसार निगमले आइओसी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत संस्थालाई ३१ अर्ब ३२ करोड ऋण तिर्न बाँकी छ।
निगमले कोषबाट १२ प्रतिशत व्याजदरमा ऋण लिएको भन्दै चर्को आलोचना भएको थियो। दुई वर्ष पहिले तत्कालीन अर्थमन्त्री शंकरप्रसाद कोइरालाले ब्याजदरमा दुई प्रतिशत घटाएर १० प्रतिशत कायम गर्न निर्देशन दिएका थिए।
निगमले हालसम्म आठ पटक मूल्य समायोजन गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य प्रतिव्यारेल ४७ अमेरिकी डलरसम्म घटेको थियो।
यस्तै निगमले मूल्य घटबढ हुँदा बजार प्रभावित नहोस् भनेर स्थापना गरेको मूल्य स्थिरीकरण कोषमा पनि हालसम्म दुई अर्ब २७ करोड रकम जम्मा गरिसकेको प्रवक्ता घिमिरेले जनाए।
निगमले गत महिना ५४ करोड रुपैयाँ नाफा गरेको थियो। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य हालकै अवस्थामा कायम रहे निगमको नाफा बढ्नेछ।
अन्तर्राष्ट्रिय बजारमा निरन्तर रूपमा पेट्रोलियम पदार्थको मूल्य ओरालो लागेपछि नेपाल आयल निगमको आर्थिक अवस्था सुदृढ बन्दै गएको हो। निगमले स्वचालित मूल्य प्रणालीलाई लागू गर्दै अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन गरेपछि ऋण तिर्न सक्षम भएको हो। रासस