महाकाली नदीको बीच भागमा रहेको टापूमा अलपत्र परेका स्थानीयलाई सुरक्षा निकायले आज दिउँसो उद्धार गरेको छ। बालुवा र गिट्टी संकलन गर्न नदीको बीचको टापूमा पुगेका उनीहरू पानीको बहाव बढेपछि त्यहाँ फसेका थिए।
नेपाली सेनाको महेन्द्रनगरस्थित हनुमानध्वज गुल्मका गुल्मपति सेनानी डम्बरबहादुर आलेमगरले जनाएअनुसार भीमदत्तनगरपालिका-१३ ऐरीघाट क्षेत्रमा महाकाली नदीको बीच टापूमा फसेका बालबालिकासहित ३५ जनाको सकुशल उद्धार गरिएको छ।
सशस्त्र प्रहरी र सेनाको टोलीले डुंगाको सहारामा उनीहरूलाई सकुशल उद्धार गरेको सेनानी आलेमगरले जनाए।
तीन दिन लगातार परेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि महाकाली नदीको बीच टापूमा बालुवा, ढुंगा संकलन गर्ने र गिट्टी कुट्नेहरू अलपत्र परेका हुन्।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेका अनुसार महाकाली नदी किनारको टापूमा गएर बालुवा, ढुंगा र गिट्टी संकलन गर्ने उनीहरू त्यहीँ छाप्रा बनाएर काम गर्थे। आज एक्कासि पानी बढेपछि समस्या भएको हो।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा स्थानीयवासीलाई टापूबाट उद्धार गरिएको उनले जनाए। रासस