कोरियामा सम्पन्न १७ औ एसियाली खेलकुदमा कास्यपदक जित्न सफल एकमात्र खेलाडी विमला तामाङ्गलाई धादिङ–नुवाकोट समाज यूकेले नगदसहित सम्मान गरेको छ।
शनिवार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रमका मुख्य अथिति सभासदद्धय दिलमान पाखि्रन, पर्शुराम तामाङ्ग, समाजका महासचिव हरिसिंह वाईवा तामाङ्ग र कोषाध्यक्ष गोलबहादुर तामाङ्गले सयूक्त रुपमा सम्मानपत्र सहित २ लाख ८ हजार रुपैयाको चेक हस्तान्तरण गरेका थिए। कार्यक्रममै हालै बेलायतमा सम्पन्न दशौं अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा कास्यपदक जित्न सफल नेपाली खेलाडी मनोज लामालाई १५ हजार नगद सहित सम्मान गरिएको थियो।
कार्यक्रम सभासद दिलमान पाखि्रनले विमला तामाङ्ग खेलको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा मुलुकको नाम राखेको भन्दै राष्ट्रले उनलाई जतिसुकै सम्मान गरे पनि बढी नहुने बताए। उनले राज्यले खेलाडीहरुलाई सोचे अनुसार सम्मान गर्न नसकी रहेको अवस्थामा जनताको तहबाट सम्मान गरिनु सकारात्मक भएको भन्दै यस्ता सम्मानहरुले खेलाडीहरुलाई अझै बढी उपलब्धि हात पार्न उत्प्रेरित गर्ने विश्वास ब्यक्त गरे।
अर्का सभासद पर्शुराम तामाङ्गले विमलाले नेपालको ईज्जत राखेको भन्दै राज्यले यस्ता प्रतिभाहरुलाई सम्मान गर्नु पर्ने बताए। उनले तामाङ्गको सफलता धादिङ्ग र नुवाकोटको नभई मुलुककै सफलता भएको भन्दै यस्ता प्रतिभालाई सम्मान गर्ने परम्पराले खेल क्षेत्रको विकासमा लाग्न अरुलाई पनि उत्साहित बनाउने बताए। उनले सात समुन्द्र पारीबाट नेपाली खेलाडीलाई सम्मान गरेकोमा समाजलाई धन्यबाद समेत दिए।
समाजका महासचिव हरिसिंह वाईवा तामाङ्गले समाजले २०१४ को डिसेम्बर भरी फेसबुकबाट सञ्चालन गरेको अभियानबाट सो रकम संकलन भएको भन्दै आफूहरुले नेपालको विकासको लागि विदेशमा रहेर पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे। उनले नेपाली खेलाडीलाई सम्मान गर्न पाएकोमा खुसी समेत ब्यक्त गरे। उनले विश्वमै नेपाली झण्डालाई फरफराउन सफल खेलाडी विमलालाई जति सम्मान गरे पनि कम हुने बताए।
कोषाध्यक्ष गोलबहादुर तामाङ्गले खेलाडीद्धय मुलुकको प्रतिष्ठा उचाल्न सफल भएकोले उनीहरुलाई सम्मान गरेको उल्लेख दिदै आगामि दिन देशको शिर ठाडो पार्ने सबैलाई सम्मान गर्ने बताए। उनले विदेशी भूमिमा बसेर नेपालको सुख र दुखमा सहभागि हुन पाएकोमा खुसी ब्यक्तगरे।
सम्मानित तामाङ्गले सम्मानले आफूलाई थप जिम्मेवार बनाएको भन्दै भोलीका दिनमा मुलुकलाई चिनाउन अझै कडा मेहनत गर्ने प्रतिबद्धता ब्यक्त गरिन। उनले आफूलाई यस ठाँउमा पुर्याउन गुरु धु्रब बिक्रम मल्ला र बलाजु तेक्वान्दो डोजाङ्गप्रति आभार ब्यक्त गरिन।
अर्का सम्मानित खेलाडी मनोज लामाले सम्मानले आफूलाई उत्साहित बनाएको बताए ।