पक्राउ परेका गिरोहका सदस्य र कल बाइपास गर्दैगर्दा बरामद भएको सामान। तस्बिर : खिलानाथ ढकाल/सेतोपाटी
जिओआईपी (जिएसएम ओभर इन्टरनेट प्रोटोकल) गराइरहेको गिरोहका दुई सदस्यलाई प्रहरीले मोरङको विराटचोकबाट पक्राउ परेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोलीले शुक्रबार कोसी हरैंचा नगरपालिका–१ बाट उपकरणसहित समातेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा देवराज बस्नेत र कबिन भुजेल छन्। प्रहरीका अनुसार स्थानीय सलबहादुर अधिकारीको घरमा कोठा भाडा लिई कल बाइपास गराइरहेको सूचनाका आधारमा उनीहरूलाई उपकरणसहित पक्राउ गरिएको हो।
प्रहरीले शुक्रबारै पत्रकार सम्मेलन गरी गिरोहलाई सार्वजनिक गरेको छ। प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्सालका अनुसार केन्द्रीय अनुसन्धान ब्युरोले कल बाइपास गराइरहेको सूचना दिएपछि ब्युरोसहितको टोली गिरोहलाई पक्राउ गर्न सफल भएको हो।
लम्सालका अनुसार कल बाइपासमा सक्रिय भइरहेकै बेला कोठामा छापा मारिएको हो। छापा मार्दा ओछ्यानको खाटमुनी उपकरणहरूबाट कल बाइपास भइरहेको थियो। प्रहरीले उपकरणसहित ठूलो परिमाणमा नेपाल टेलिकमका सिम, एनसेलका केही सिम र रिचार्ज कार्ड बरामद गरेको छ।
‘केन्द्रीय ब्युरोले यो सूचना दिएपछि हामीले ब्युरोको टोलीसहित प्रहरीलाई खटाएका थियौं,' प्रहरी उपरीक्षक लम्सालले भने, ‘प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेकामध्ये एक जना पहिलेदेखि नै कल बाइपासमा संलग्न व्यक्ति रहेछन्।'
कल बाइपास भइरहेको कोठाबाट जिओआईपी डिभाइस तीन थान, एनटिसी र एनसेलका प्रयोग नभएका १० थान सिम, नेटसेटर लेखिएको एनसेल सिमसहितको डाटा कार्ड, सिई १५८८ लेखिएको डाटा कार्ड, सोनी एचपी/डाटा कम्पनीको पेनड्राइभ तीन थान, प्रयोग भएका एनटिसीका ३९६ थान सिम, एनसेलका चार वटा सिम, एनटिसी २०० रूपैयाँका रिचार्ज कार्ड सय थान, १०० रूपैयाँका रिचार्ज कार्ड २०० थान, टिपिलिङक राउटर २ थान, डेल कम्पनीको ल्यापटप २ थान, मल्टिप्लग, एडप्टर तीन थान, इन्भर्टर १ थान, ब्याट्री एकथान, स्टेपलाइजर र केबल बरामद भएको प्रहरीले जनाएको छ।
एसपी लम्सालका अनुसार पक्राउ परेका व्यक्तिमध्ये देबराज विगतदेखि नै कल बाइपास गराउन सक्रिय थिए। खोटाङ जिल्ला अर्खौले गाविस वडा नं. ३ घर भएका बस्नेतलाई सुनसरी हाँसपोसा–४ मा बसी बल बाइपास गराउने कार्यमा संलग्न भइरहँदा इटहरीबाट दुई वर्षअगाडि पक्राउ गरिएको थियो। उनी अदालतबाट ६० हजार धरौटी बुझाएर थुनामुक्त भएका थिए। बस्नेतसँगै पक्राउ परेका पाँचथर बलने–६ बस्ने भुजेल पहिलोपटक पक्राउ परेका हुन्।
प्रहरीले उनीहरूलाई अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा कल बाइपास गराउने गिरोह ठूलो रहेको अनुमान प्रहरीले गरेको छ। ‘उनीहरूको सम्पर्कमा रहेका अन्य व्यक्तिमाथि अनुसन्धान भइरहेको छ,' लम्सालले भने, ‘कल बाइपासबाट ठूलो राजश्व नोक्सान भएको हुनसक्छ, अनुसन्धानपछि पत्ता लगाएर सार्वजनिक गर्छौं।'
के हो जिओआईपी कल बाइपास?
जिओआईपी कल बाइपासको नेटवर्क अन्तर्राष्ट्रिय तहहुँदै नेपालसम्म आइपुगेको हो। प्रहरीका अनुसार विदेशबाट नेपाल फोन आउने नेटवर्क सर्भरलाई बीचबाटै डाइभर्ट गरी कलबाइपास गरिन्छ।
कल बाइपासबाट टेलिकमले पाउने राजश्व गिरोहले बीचबाटै गायब पार्ने हुनाले टेलिकमलाई सिधै नोक्सान पुग्छ। प्रहरीले पहिले पहिले बेलाबेला कल बाइपासमा संलग्नलाई पक्राउ गर्ने गरेको थियो।
विदेशमा कल बाइपासमा संलग्न गिरोहले नेपालसम्म सञ्जाल विस्तार गरेर टेलिकमलाई नोक्सान पुर्याइरहेको प्रहरीको भनाइ छ। ‘विदेशबाट आउने फोनको नेटवर्क सर्भरलाई बीचबाटै डाइभर्ट गरेर टेलिकमका सिममामार्फत कल बाइपास गरिन्छ, त्यसो गर्दा विदेशबाट आउने नम्बर नेपाली नम्बर नै हुन्छ,' अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक दुर्गा दाहालले सेतोपाटीसँग भने, ‘त्यसो गर्दा टेलिकमलाई तिर्नुपर्ने राजश्व गिरोहले बीचमै गायब पार्ने भएकाले यस्तो गिरोह सक्रिय भइरहे टेलिकम टाट पल्टिन्छ।'
पहिले भिओआईपी (भ्वाइस ओभर इन्टरनेट प्रोटोकल) प्रचलनमा थियो। अहिले नेपाल टेलिकमले जिएसएम (ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन) प्रयोगमा ल्याएपछि जिओआईपीबाट गिरोहले कल बाइपास गर्ने गरेको छ।
जिएसएम सेवामा इन्टरनेट राम्ररी चल्ने भएकाले नेपाल टेलिकमबाट छुट्टै इन्टरनेट सेवा किन्नु नपर्ने भएकाले गिरोहलाई सजिलो हुने गरेको प्रहरी निरीक्षक दाहाल बताउँछन्। कल बाइपास अनुसन्धान निकै जटिल हुने हुनाले छोटो समयमा सबैकुरा पत्ता नलाग्ने दाहाल बताउँछन्।