जंगबहादुरकालीन बेलायती चिकित्सक ओल्डफिल्डले चित्रण गरेको भाइदेगाः मन्दिरको एक भाग।(बायाँ) र वर्तमान संरचनामा ज्यावल प्रहार गरी पुरानो संरचना निर्माणको सुरुवात गर्दै संस्कृतिविद् सत्यमोहन जोशी।(दायाँ)
पाटन दरबार स्क्वायरभित्रै भूकम्पले भत्काइदिएको एउटा ऐतिहासिक महत्त्वको मन्दिरले ८० वर्षपछि फेरि आफ्नै स्वरूपमा उभिन पाउने भएको छ। १९९० सालको त्यो प्राकृतिक प्रकोपमा परेको भाइदेगाः (विश्वेश्वर) मन्दिरमा बिहीबार क्षमापूजा गरियो। त्यसैबेला संस्कृतिविद् सत्यमोहन जोशीले ज्यावल प्रहारगर्दै मन्दिर पुनः निर्माणको थालनीसमेत गरे ।
१९९० सालको भुइँचालोले पाटन दरबार स्क्वायरका थुप्रै संरचना नष्ट गरेको थियो। भत्किएजति सबैको पछि पुनर्निर्माण भयो। विशेषगरी मोहनशम्शेरका बेलामा राज्यको ढुकुटी प्रयोग गरेर यी संरचना फेरि तयार पारिएका थिए। तर, भाइदेगाः मन्दिरले भने फेरि आफ्नो पुरानो स्वरूप अर्थात् पेगोडा शैलीमा उभिन पाएन। यसलाई मुगल शैलीको झल्को आउने गरी बज्रको ‘टोपी’ लगाउने काम मात्र भयो।
भत्केको मन्दिरको गजुरलाई सबैभन्दा माथि राखियो र जसोतसो कामचलाउ देखिने गरी छाडियो। किन? ‘राज्यकोषबाट पुनर्निर्माण हुँदा यो एउटा मन्दिरलाई पैसा नपुगेकाले बाँकी राखियो भनेर पत्याउन मुस्किल पर्छ,' बिहीबार समारोहमा उपस्थित स्थानीय बुढापाका भनिरहेका थिए, ‘सायद राजाले बनाएको दरबार क्षेत्रमा जनताका तर्फबाट बनेको एउटै मन्दिर भएकाले यसलाई फेरि ठड्याउनु तत्कालीन राणा शासकले आवश्यक ठानेनन्।’
विभिन्न मल्ल राजाहरूले तयार पारेको मन्दिर र दरबारले भरिएको पाटन दरबार स्क्वायरमा यो एउटा मन्दिर मात्र राजपरिवारभन्दा बाहिरका व्यक्तिले बनाएका थिए। फर्पिङबाट आएका सर्वसाधारण भगीरथ भैया जो पछि चौतारिया (प्रधानमन्त्री) बन्नपुगे। तत्कालीन राजा श्रीनिवास मल्लका अत्यन्त विश्वासिला भगीरथ भैयाले जनतासँग मिलेर सन् १६७९ मा यस मन्दिरको निर्माण गराएका थिए।
उपत्यकाको काशी कनेक्सन हाम्रो लेखपढमा ऐतिहासिक काठमाडौं उपत्यकालाई बाह्य सम्पर्कबाट ओझेलमा परेको स्थान भनेर बुझाउने गरिएको छ। तर, दरबार स्क्वायरको एउटा कुनामा रहेको यस मन्दिरले चार सय वर्षभन्दा पहिलेको उपत्यका र बाह्य संसारबीचको सेतु बुझ्न सहयोग गर्छ। त्यो हो- काशी विश्वनाथसँगको त्यो बेलादेखिको सम्बन्ध। सन् १६६९ मा आजको बनारस र उतिबेलाको काशीस्थित विश्वनाथको मन्दिरलाई ध्वस्त पारेर औरंगजेबले ज्ञानबाकिम मस्जिद उभ्याइदिए। शिवजीको यो मन्दिरलाई भारतीय उपमहाद्वीपकै एउटा मुख्य शक्तिपीठका रूपमा मान्दै आएका हिन्दुका निम्ति उनीहरूको आस्थाको केन्द्र बिटुलो बन्न पुग्यो।
उपत्यकाबाट महत्त्वका साथ काशी विश्वनाथको यात्रा गर्नेहरूको भावनामा यसरी चोट पुगेपछि तत्कालीन चौतारिया भगीरथ भैयाले विश्वनाथकै मन्दिर पाटनमा बनाउने निधो गरे। यो त्यही प्रयासको प्रतिफल थियो। काशी विश्वनाथकै शिवलिंगसँग मिल्दोजुल्दो मूर्तिसहितको भव्य मन्दिर तयार भएपछि त्यतिबेला वरपरका राज्यबाट समेत दर्शनार्थी निम्त्याइएको थियो। उनीहरूको बसोबासका निम्ति लामो पाटीसमेत निर्माण गरिएको थियो। पुल्चोकबाट जाँदा मंगलबजार पुग्नेबित्तिकै लमतन्न परेको यो लामो पाटीमा अहिले माथितिर क्याफे र तल विभिन्न सोभिनियर पसल एवं बैंकका एटिएम देख्न सकिन्छ।
यसरी काशी विश्वनाथको मन्दिरकै रूप प्रतिस्थापन गरे पनि भाइ (भगीरथ भैया)ले बनाएकाले यो मन्दिर भाइदेगाः का नामबाट चिनिन पुग्यो। यसलाई विशेश्वर मन्दिर भनेर स्थानीयले पुज्छन्। ८० वर्षपछि आफ्नै रूपमा सन् २०११ मा यो मन्दिरलाई फेरि यसको पुरानै रूपमा फर्काउने प्रयास जनस्तरबाट सुरु भयो। अग्रज पत्रकार, बैंकर र स्थानीय समाजसेवीले यसको अग्रसरता लिए। एउटा कमिटी पनि गठन गरियो, जसको संरक्षक र अध्यक्षमा संस्कृतिविद् सत्यमोहन जोशीलाई राखियो।
यसरी सुरु भएको प्रयासमा पैसा जुटाउन त्यति गाह्रो परेन। ललितपुर उपमहानगरपालिका, बैंकर पृथ्वीबहादुर पाण्डे, नर्वेली दूतावास र ललितपुरकै स्थानीय वासिन्दाबाट रकम संकलन हुन थाल्यो। ‘सुरुमा यसलाई तयार पार्न डेढ करोडको लागत अनुमान गरिएको थियो,’ अभियानमा संलग्न पत्रकार कनकमणि दीक्षित भन्छन्, ‘अहिले फेरि लागत बढेर चार करोड रुपैयाँको व्यवस्था गर्नुपर्ने भइसकेको छ।’ मन्दिरको पुनर्निर्माणमा चारै स्रोतबाट बराबरजस्तो लगानी हुन लागेको छ।
यसरी यो मन्दिरलाई फेरि पुरानो पहिचान दिनका निम्ति आर्थिकभन्दा पनि अर्को ठूलो चुनौती थियो, राष्ट्रसंघीय सम्पदा निकाय (युनेस्को)को सहमति। ‘यो विश्व सम्पदा सूचीमा परेको स्थान हो,’ समारोहमा उपस्थित पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले सुनाए, ‘युनेस्कोको पूर्व स्वीकृति नभई यसको संरचना फेर्न सम्भव थिएन।’ त्यसका निम्ति सबैभन्दा पहिले मन्दिरको वास्तविक स्वरूप अहिलेको जस्तो नभई बेग्लै थियो भन्ने कुराको प्रमाण आवश्यक पर्थ्यो। यो अभियानमा लागेकाहरूले त्यसको पर्याप्त प्रमाण र तस्बिर उपलब्ध गराएपछि विभागले ‘हेरिटेज इम्प्याक्ट एसेसमेन्ट’ समेत गराएको दाहाल सुनाउँछन्। यसरी सबै निकाय मिलेर युनेस्कोलाई वस्तुस्थिति बुझ्न सहयोग गरेपछि गत अक्टोबरमा उताबाट सहमतिपत्र प्राप्त भयो।
तीन वर्षभित्र तयार हुने कन्जर्भेसन आर्किटेक्ट रोहित रन्जितकारको नेतृत्वमा यसको निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसरी तयार पार्दा उतिबेलाको मन्दिरको शैली निकाल्ने मात्र होइन, पूर्णत: हुबहु बनाउने दाबी निर्माण टोलीको छ। त्यसका निम्ति पर्याप्त तयारी पनि भइसकेका छन्। ‘पुराना दस्तावेज, तस्बिर र पेन्टिङहरू नै त्यो भत्किएको मन्दिरलाई चिन्ने मुख्य आधार हुनेछ,’ पत्रकार दीक्षित भन्छन्, ‘त्यसैमा उभिएर प्रत्येक कुनाको निर्माण गरिनेछ।’
पाटन दरबार स्क्वायरस्थित भण्डारखालमा भेटिएका १७ वटा टुँडाल यो मन्दिरलाई बुझ्ने सबैभन्दा मुख्य आधार भएको छ। जंगबहादुरका पालामा आएका अंग्रेज चिकित्सक हेनरी एम्ब्रोज ओल्डफिल्डले चित्रकलामार्फत् तत्कालीन नेपालको जाति, भूगोल र सम्पदालाई दस्तावेजीकरण गरिदिएका थिए। त्यसै क्रममा उनले उपत्यकाका थुप्रै संरचनाको चित्र तयार पारे।
तत्कालीन बेलायती दूतावास (रेजिडेन्सी)का सर्जन ओल्डफिल्ड सन् १८५० देखि १८६३ सम्म नेपालमा सेवारत् थिए। त्यतिबेला उनले तयार पारेका चित्रहरू अहिले अस्तित्वमा नरहेका ती संरचनाहरूको अध्ययन गर्न सहयोगी बनेका छन्। ‘ओल्डफिल्डको चित्र हेरेरै भण्डारखालमा थुपारिएका ती टुँडाल भाइदेगाः कै हुन् भन्ने ठहर गर्न सजिलो पर्यो,' दीक्षित भन्छन्, ‘माथिल्लो भागलाई असाध्यै आकर्षक देखिनेगरी पातहरूको आकार दिइएको यी टुँडाल चित्रमा उत्तिकै आकर्षक हिसाबले वर्णन गरिएको छ।’
यसरी एउटा आधार भेटिएपछि ओल्डफिल्डकै चित्रका आधारमा मन्दिरका नष्ट भएका अन्य भाग पनि तयार पार्न टोलीलाई सजिलो भएको छ। ओल्डफिल्डले त्यतिबेला बनाएका चित्रहरूमा मन्दिरका भित्री भागहरूको कारिगरी पनि मिहिनेतका साथ उल्लेख भएका छन्। ओल्डफिल्डका चित्रहरूबाहेक भक्तपुरमा निकै अघिदेखि संरक्षणका काम गर्दै आएका निज गुत्सफ, गज हाग्मुलर र अस्ट्रियाको ब्रान्ट कलेक्सनबाट फेला परेका तस्बिरहरू पनि उतिबेलाको भाइदेगाः मन्दिरलाई बुझ्न सहयोगी भएका छन्।
यसरी मन्दिरका भित्री भागमा प्रयोग भएका काठ र त्यसमा परेको मिहिनेत हेर्दा उपत्यकामै उल्लेख्य रूपले काठको कारिगरी भएको मन्दिरका रूपमा यसलाई लिन सकिन्छ। ‘९० सालको भुइँचालोले भत्काएपछि त्यत्तिकै छाडिएको अरु पनि धेरै महत्वपूर्ण मन्दिर छन्,’ संस्कृतिविद् सत्यमोहन जोशी भन्छन्, ‘यो एउटाको उदाहरणले टोल-टोलमा जागरण ल्याइदिए र पुरानो वैभव फर्काउने अभियान सुरु भइदिए असाध्यै खुसी लाग्ने थियो।’
अहिलेको भाइदेगाः (सेतो)मन्दिरले पछाडिको दरबार स्क्वायरका संरचनासँग मिल्दोजुल्दो पेगोडा शैली फेरि पाउनेछ।