एसिड आक्रमणबाट घाइते भएर वीर अस्पतालमा उपचार गराइरहेकी सीमा बस्नेतलाई दिउँसो एक फोटोपत्रकार आएर सोधे- फोटो खिच्न मिल्छ?
‘हाम्रो गल्ती होइन, अनुहार देखाउन के भयो र?’ छेउमै बसेका सीमाका अंकल सन्तोष घिमिरेले भने।
सीमाले पनि स्वीकृतिको इसारा गरिन्।
गोरो अनुहारमा एसिडले डढाएका खत निधार र अनुहारभरि छन्। तर, उनी डराएकी छैनन्। बोली पनि टाठै छ।
आइतबार झिसमिसेमै ट्युसन सेन्टर पुगेकी सीमा र उनका दुई साथीमाथि एसिड आक्रमण भयो। अनुहार पोल्न थालेपछि आत्तिदैँ घर पुगेकी सीमालाई आमाबुबाले ट्याक्सीमा राखेर वीर अस्पताल ल्याए। अनुहारभरि मल्हम लगाइयो। सलाइनमार्फत् औषधी दिएपछि उनलाई अहिले ‘गाह्रो’ भएको छैन। अस्पतालमा पत्रकार आएर अनेक प्रश्न सोधे। सीमाले जवाफ दोहोर्याइरहिन्।
* * *
सधैँ ५ बजे नै जान्थेँ। तर, आज ट्युसन सेन्टर पुग्दा ६ बजेको थियो। म्याथ पढाउने सर आउनुभएको थिएन। त्यसैले साइन्स पढ्न मात्रै गएको। संगीता मगर र हिमु त्यहीँ थिए। मैले कति छिटो आएको भनेर सोधेँ। उनीहरू त अझ मन्दिर घुमेर आएको भन्थे। संगीतालाई एकाउन्टको हिसाब आउँदो रहेछ। मैले सिकाइदिन भनेँ। उसैको पछि बसेर हिसाब गरिरहेकी थिएँ। ढोका लगाएर बसेका थियौँ। सर आइपुग्नु भएको थिएन। ९ जना साथीमध्ये हामी तीन जना मात्रै थियौँ।
अकस्मात बाहिरबाट भुइँचालोझैँ कोही आयो। ढोका खोल्यो। मैले ढोकातिर हेरेँ। उसले पछाडिबाट सानो बोतल झिक्यो र हामीतिर हुत्यायो। मेरो अनुहारमा छिटा पर्यो। संगीताको भने छाती र हातमा पर्यो।
त्यो केटा गइहाल्यो। सुन्तला रङको हुक लगाएको थियो। उसले टाउको हुककै टोपीले छोपेको थियो। हल्का अग्लो, त्यस्तै १९-२० वर्षको होला। मैले यति नै याद गर्न सकेँ। पहिले त हामी अक्मकियौँ। पछि पोल्दै आउन थाल्यो। बल्ल मलाई होश आयो- त्यो केटाले एसिडले हानेर भाग्यो। किनभने, सावधान इन्डिया भन्ने कार्यक्रम (भारतीय टेलिभिजन च्यानलमा प्रशारित हुने अपराधसम्बन्धी एक कार्यक्रम) मा यस्तै घटना देखाउँथ्यो।
पोल्न थालेपछि म घरतिर दौडिएँ। मेरो पछिपछि संगीता पनि आइरहेकी थिई। उनको घर त ट्युसन सेन्टरबाट नजिकै थियो। हाम्रो घर भने गणेशस्थानमा। हाम्रोतिर आज पानी आउने पालो थियो, एकजना आन्टीको भाँडोबाट पानी खन्याएर मैले मेरो अनुहारमा छ्यापेँ।
घर पुगेर पनि मैले आमाबासँग ‘पोल्यो पोल्यो, मलाई अस्पताल लैजानुस्’ मात्रै भनिरहेकी थिएँ। अनि ट्याक्सीमा चढेर हामी अस्पताल आयौँ।
संगीता र हिमुलाई मैले ६ दिनअघि ट्युसन सेन्टरमै गएपछि चिनेकी हुँ। उनीहरूबारे मलाई केही थाहा छैन। तर, त्यो मान्छेले संगीतालाई एसिडले हान्न खोजेको थियो जस्तो लाग्छ। ठ्याक्कै भन्न सक्दिनँ। मलाई अहिलेसम्म कसैले कहिल्यै पिछा गरेको थिएन। मेरो दुस्मनी कसैसँग छैन। धम्की पनि कसैले दिएको छैन। एसिड हान्ने मान्छेलाई म चिन्दिनँ। यसअघि देखेकी पनि थिइनँ।
* * *
एसएलसीमा जसरी पनि पास हुनु छ सीमालाई। गणित र विज्ञानमा कमजोर छु भन्ने लागेर उनले ट्युसन पढ्ने विचार गरिन्। उनी कान्तिईश्वरी राज्यलक्ष्मी माध्यामिक विद्यालयमा पढि्छन्। आफ्नो स्कुलमा भन्दा झोँछेको ‘ए प्लस’ ट्युसन सेन्टरमा राम्रो पढाइ हुन्छ भन्ने सुनेर त्यहीँ भर्ना भइन्।
आमा भनिरहन्थिन्- जमाना र ठाउँ पनि गतिलो छैन, यति रातिराति उठेर पढ्न जानु पर्दैन।
‘पढ्न त पर्यो नि डराएर हुन्छ त,’ आमालाई सम्झाउने उनको जवाफ हुन्थ्यो।
नरदेवी पढ्दा पनि आमालाई छोरी घर नआएसम्म ढुक्क लाग्दैनथ्यो।
‘मलाई भने डर लाग्दैन, आफ्नो गल्ती नभई डराउने बानी छैन मेरो,’ सीमाले भनिन्।
‘एसिड हान्नेलाई अब के गर्नुपर्छ?’ पत्रकारहरूले प्रश्न गरे।
‘चिन्नु न जान्नु हामीले के गर्नु अब...’
आमाको बोली बीचैमा काटिन् सीमाले। ‘त्यस्तो भनेर कहाँ हुन्छ आमा? आज हामीलाई हान्ने मान्छेलाई छोड्यो भने अरुलाई पनि हान्छ नि।’
टेलिभिजन च्यानलहरूमा आउने अपराधसम्बन्धी कार्यक्रम उनी ९ कक्षा पढ्दा खुब हेर्थिन्। त्यहीबेला केटीहरूमाथि एसिड छ्यापिएको घटना पनि कार्यक्रममा आएको थियो।
अस्पतालको शैय्यामा बसेर अहिले उनी त्यो टिभी कार्यक्रम झल्झली सम्झिरहेकी छिन्- प्रेम प्रस्ताव अस्वीकार गरेपछि एसिडले हानेर भाग्ने केटालाई सजाय दिलाउन लडिरहेकी पात्र।
‘आफूमाथि पनि कसैले एसिड हान्ला भनेर कहिल्यै सोचेको थिइनँ,’ उनले सुनाइन्, ‘घटना त भइसक्यो दु:ख मनाउ गरेर के हुन्छ र अब।’
कुनै दाग नभएको आफ्नो अनुहारमा अर्काको अपराधको दाग देख्दा कसलाई पो रिस नउठ्ला।
‘डर पनि लागेको छ, आफ्नो अनुहार हो नि है,’ उनी गम्भीर भइन्, ‘औषधी लगाए पनि निधार भारी भएको छ। आँखामा पनि प्रेसर फिल भइरहेको छ।’
उनको आवाज दृढ थियो- त्यो एसिड हानेर हिँड्ने मान्छेलाई भने कारबाही नगरी हुन्न।
एक पत्रकारले सोधिन्,‘एसएलसी आइरहेको छ, पढ्न डिर्स्टब हुने भयो है?’
प्रश्न उनलाई मानसिक रूपमा कस्तो असर परेको छ भन्ने उद्देश्यले गरिएको थियो सायद। तर आफू मानसिक रूपमा कमजोर नभएको संकेत गर्दै उनले भनिन्, ‘केही हुन्न। अनुहारमा घाउ भए पनि, लेख्ने त हातले हो। मेरो अनुहार छिटै निको हुन्छ रे।’
उनकी साथी हिमुको हातमा मात्रै एसिड परेको थियो। उनी सामान्य उपचारपछि घर फर्किइसकेकी छिन्। तर सीमालाई आफ्नोभन्दा संगीताको बढी पीर छ। ‘अघि फोटोमा देखेकी थिएँ, संगीताको त छाती हात जताततै घाउ भएछ,’ उनले भनिन्।
उनलाई पनि त्यो मान्छे को होला भन्ने लागिरहन्छ। त्यसका लागि उनले सुझाव पनि दिइन्, ‘संगीता त बोल्न सक्दिनँ होला, तपाईहरू उसका साथीहरूलाई भेटेर सोध्नु न केही थाहा हुन्छ कि!’
यो पनि हेर्नुहोस्