पुरानो बानेश्वरका रञ्जन श्रेष्ठले चार कक्षामा पढ्दै गरेकी छोरी पारमिताले सरकारका नाममा लेखेको पत्र नपठाई सुखै पाएनन्। सरकारलाई यस्तो पत्रको कुनै अर्थ छैन भन्ने थाहा हुँदाहुँदै पनि पठाएको पत्रले अन्ततः मुख्य सचिव लीलामणि पौडेललाई परमिता पढ्ने सातदोबाटो ललितपुरस्थित प्रिमियर इन्टन्यासनल स्कुलमा पुग्न वाध्य पार्यो।
फेब्रुअरी २ मा रञ्जन श्रेष्ठले सामाजिक, आर्थिक र वातावरणीय विषयमा अनलाइन छलफल चलाउँदै आएको एनएनएसडी समूहलाई छोरीको पत्रसहित मुख्य सचिवलाई सम्वोधन गर्दै इमेल पठाए।
इमेलमा लेखिएको थियो– 'मेरी छोरीले नेपाल सरकारलाई एउटा पत्र लेखेकी छिन्। मैले नेपाल सरकारलाई यस्तो पत्र लेख्नुको कुनै अर्थ छैन भनेर उनलाई सम्झाउन सकिनँ। यसो हुन्नथ्यो भने हामी नेपालीले प्रत्येक दिन यसरी पीडित हुनु पर्ने थिएन।'
'तपाईं नेपाल सरकारको मुख्य सचिव हुनु भएकोले कृपया एक पटक पत्र पढ्नु होला र उनका प्रश्नले कुनै अर्थ राख्छ भने जवाफ दिनु होला,' उनले छोरीको हस्ताक्षरसहितको पत्र पठाउँदै लेखेका थिए।
पारमिताको पत्र पढेपछि एनएनएसडी समूहमा रहेका धेरै अचम्ममा परे। सबैले दैनिक जीवनमा भोगेका समस्या थिए। तर, तिनलाई आवाज भने यी बालिकाले दिएकी थिइँन्।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक मदन दाहालले पत्रप्रति संवेदनशील हुँदै लेखेका थिए, 'म यो पत्रले हामी धेरै नेपालीहरूको प्रतिनिधि भावना समेटेको ठान्छु,' उनले अगाडि लेखेका थिए– 'विशेषगरी पूर्वाधार र विकासका क्षेत्रमा के भइरहेको छ भन्नेमा युवा जमात निकै सचेत हुन थालेको प्रष्ट उदाहरण हो यो।'
दाहालले मेहनती र इमानदार कर्मचारीका रुपमा चिनिएका मुख्य सचिव पौडेललाई यी प्रश्नको जवाफ दिन समेत आग्रह गरेका थिए। नेपालीले भोग्नु परेका यस्ता प्रश्नमा सरकारलाई 'निर्दोष तर सशक्त साहसिक पत्र' लेखेकोमा धन्यवादसमेत दिएका थिए।
पारमिताका सरकारलाई प्रश्नहरू
सरकारलाई सञ्चोविसञ्चोबारे सोध्दै पारमिताले अंग्रेजीमा लेखेको पत्रको सुरुमै केही प्रश्न उठाएकी थिइन् :
१. किन हाम्रो देश जताततै फोहर र असरल्ल परेको?
२. निर्माण कार्य किन समयमै पूरा हुन नसकेको?
३. किन समयमै सडक पिच नभएको र त्यसको गुनासो गरिरहनु परेको हो?
'सरकारको बारेमा सोच्दा यी प्रश्न मेरो दिमागमा आइरहन्छन्,' उनले प्रश्न गरेकी थिइँन्– 'मेरो सबैभन्दा ठूलो प्रश्न बानेश्वर सडक किन बन्न नसकेको होला?'
वानेश्वर, भीमसेनगोलाको सडक निर्माण नभएको वर्ष दिन हुन लागिसक्यो। स्थानीय बासिन्दाका निम्ति कहिले काम थालेको भन्ने सम्झनाबाटै हराइसकेको थियो। तर पारमितालाई सधैँ स्कुल जाँदा हिड्ने त्यो बाटो भत्काएको दिन पनि सम्झना थियो।
'म कक्षा चारमा हुँदा टर्म एकको तेस्रो वा चौथो दिनमा निर्माण सुरु भएको थियो,' उनले अगाडि लेखेकी छिन्– 'अब म कक्षा पाँचमा जान लागेकी छु। यसको अर्थ एक वर्षमा पनि यो निर्माण परा भएको छैन।'
'त्यसकारण मेरा प्रश्नको जवाफ दिनुहोस् र यो मुलुकलाई सुधार्नुहोस्। त्यति भयो भने कोही पनि अरु देशमा जाँदैनन् र सधैँका निम्ति त्यही बस्दैनन्। यस्तो भइरह्यो भने नेपालको छवि अरु कमजोर हुनेछ।
मुख्य सचिवको जवाफ
त्यसको तीन दिनपछि फेबु्रअरी ६ मा मुख्य सचिव पौडेलले यो पत्रलाई संवोधन गर्न बढी समय लिनु परेको उल्लेख गर्दै जवाफ लेखे। समय बढी लाग्नुको कारण जिम्मेवार अधिकारीहरूबाट यसमा सुझाव लिनु पर्ने भएको पनि उनले खुलाए।
भीमसेनगोला सडक मेलम्ची खानेपानी आयोजनका निम्ति खनेपछि राम्रो समन्वयको अभावमा स्थानीय बासिन्दाले यस्तो दुखद अवस्था भोग्नु परेको उल्लेख गर्दै मुख्य सचिव पौडेलले यसमा धेरै कारण देखाउन सकिने भए पनि यो विषयमा आफूले पनि त्यही नगर्ने प्रतिवद्धता व्यक्त गरे।
'एउटी आठ वर्षकी बालिकाले सडकको अवस्थामात्र होइन सुशासनको विषयलाई उठाएकोमा मलाई भित्रैदेखि छोएको छ,' उनले लेखेका थिए– 'मसँग पूर्ण जवाफ नहुन सक्छ वा मैले उनलाई पूर्णरुपमा सन्तुष्ट नपार्न पनि सक्छु तर यसको कारण र मैले यसका निम्ति लिएका निर्णयबारे जानकारी गराउनै पर्छ।
नागरिकले सरकारका कामबारे जानकार हुनुपर्ने र तिनले आफ्नो जिम्मेवारी पूरा गरे/नगरेकोमा जवाफदेही हुनै पर्ने उनले लेखको छन्।
उनको जवाफमा भनिएको छ– 'सडकका केही भागहरूको निर्माण पूरा नहुनुले नागरिकको हामीप्रतिको अपेक्षा पूरा गर्ने क्षमता नभएको देखाउँछ। यो अवस्थालाई सवोधन गर्न मेरो कार्यालयमा धेरैपटक बैठक गर्यौं। मैले विभिन्न सचिवहरूसहित बिहान ६ बजे त्यो ठाउँको भ्रमण गरेर मूल्यांकन गर्यौं।'
सरोकारवाला सचिवहरूलाई मुख्य सचिव पौडेलले प्रश्न गरे– 'तपाईंहरू यो क्षेत्रमा बस्ने सामान्य नागरिक हुनुभएको भए यस्तो अवस्थामा के सोच्नु हुन्थ्यो?'
सडकको काम समयमा पूरा नभएकोमा उनले पारमितालगात स्थानीय बासिन्दासँग माफी पनि मागेका छन्। मुख्य सचिवका रुपमा आफूले काम नभएकोप्रति सम्बन्धित अधिकारीहरुलाई यसबारे जानकारी गराउन, उनीहरूको काममा सघाउन सहयोग बताएका छन्। तथापि, दशकौंदेखिका अव्यवस्थापनका कारण कतिपय जटिल समस्या समाधान गर्न आफ्नो क्षेत्राधिकारका सीमा रहेको समेत जानकारी दिएका छन्।
आफूले पारमितालाई सान्त्वना दिन नसकेको खण्डमा उनको सरकारप्रतिको विश्वास कमजोर हुने र त्यसले नागरिकको राष्ट्रियताप्रतिको भावना नै कमजोर भएर जानसक्ने समेत मुख्य सचिव पौडेलले उल्लेख गरेका छन्। 'यो महत्वपूर्ण घडीमा हामीमा रहेको न्यून राष्ट्रिताको भावनाले मुलुक प्रभावित हुनुहुँदैन,' उनले लेखका छन्– 'म उनलाई हाम्रो सरकारी प्रणाली, यसका कमजोरी र सरकारी प्रणालीलाई बढी जिम्मेवार बनाउन नागरिकको दायित्वबारे राम्ररी जानकारी गराउन रन्जनजीलाई विनम्रतापूर्वक अनुरोध गर्छु।
मुख्य सचिव पौडेललाई यो पत्र लेखेर मात्रै पनि चित्त बुझेन। उनी शुक्रबार दिउँसो पारमिताको स्कुल पुगे। सरकारलाई सजग गराउने यस्तो पत्र लेखेकोमा उनले धन्यवाद दिए। यस्तो काम जिम्मेवार नागरिकले गर्नुपर्छ भनेर उनले हौस्याए पनि। र, अर्कोदिन फेरि स्कुलमा आएर छलफल गर्ने आश्वासन दिएर उनी फर्के।
पारमिताले किन लेखिन् पत्र?
उनको स्कुलमा सरकारको बारेमा पनि पढाइ हुन्छ। कुनै पनि विषयमा पढाइ भएपछि त्यसबारे कुनै पनि प्रक्रियाहरूमा उनीहरू सहभागी हुनुपर्छ। 'हामीले समाजको एउटा अंगको रुपमा सरकारबारे पढाएका थियौं,' स्कुलकी निर्देशक/प्रिन्सिपल पवित्रा लिम्बूले भनिन्, 'पढिसकेपछि उनीहरूले यसका आधारमा कुनै काम गर्नुपर्छ।'
पारमिताको कक्षामा सरकारले गर्ने कामबारे पनि छलफल भएको थियो। भीमसेन गोलाको बाटो भत्काए पनि उनीजस्तै साना विद्यार्थीहरूले टाढाको वसस्टपमा पुगेर स्कुल बस समात्नु परेको थियो। त्यति मात्र होइन स्कुलबाट थाके फर्कदा पनि उनीहरु घर अगाडि ओलिन पाउँदैनथे।
'सरकारको बारेमा पढेपछि यो बिग्रेको बाटोबारे पत्र लेख्नु पर्छ भन्ने मेरो दिमागमा आएको हो,' पारमिताले भनिन्– 'चिठी लेखेको दुई/तीन दिनमै एउटा बाटो पनि बन्यो, मलाई खुसी लाग्यो।'
उनले सरकारलाई चिठी लेखिसकेपछि त्यो चिठी पठाउन उनका पिता रन्जनलाई आग्रह गरेकी थिइन्। चिठीको कतै सुनुवाइ नहोला भन्ने ठानिरहेका बेला मुख्य सचिव पौडेलले नागरिकलाई जवाफ दिएर जिम्मेवारी पालना गर्न आफ्नै संयन्त्रलाई समेत एउटा पाठ सिकाएका छन्।
मुख्य सचिव नै स्कुलमा आउने भएपछि शुक्रबार विद्यार्थी, शिक्षक र अभिभावक सबै तरंगित भएका थिए। पत्र लेखक पारमितालाई कस्तो लाग्यो त? उनले आफ्नो पत्रजस्तै निर्दोष जवाफ दिइँन्– 'मलाई राम्रो लाग्यो।'