तिप्लिङ गाउँको फोटोः हिमाली बस्ती तिप्लिङ धादिङ जिल्लालाई चीनको स्वशासित क्षेत्र तिव्वतसंँग सीमाना जोडिएकोे जिल्लाकै सबैभन्दा माथिको बस्ती हो। केही समय अघि खिचिएको तस्बिर।
धादिङको वेनिघाट गाविसको हर्कपुर माविमा मदिरासेवन गरी कार्यालय कक्ष भित्र प्रवेश गरेको समूहले प्रधानाध्यापक र शिक्षकमाथि हमला गरेको घटना सेलाउन नपाउँदै जिल्लाकै तिप्लिङ गाविसमा कक्षा कोठा भित्र पढिरहेका विद्यार्थी काटिएका छन।
धादिङ जिल्लाको उत्तरी भेगको अति विकटमा रहेको तिप्लिङ गाविस वडा नम्बर ३ को दोङ्देन माध्यामिक विद्यालयका एक विद्यार्थीमाथि पढिरहेको ठाउँमै खुकुरी प्रहार भएको हो।
विद्यालयको कक्षा ९ मा पढिरहेका १५ वर्षीय अशोक भनिने एलेरोङ तामाङलाई विहिबार दिउँसो हतियारसहित कक्षाकोठा भित्र प्रवेश गरेको समूहले खुकुरी प्रहार गरी घाईते बनाएको हो। तामाङ, घले र थोरै संख्यामा दलित समुदायको वसोबास रहेको तिप्लिङ गाविस जिल्लाको सबैभन्दा विकटमा रहेको हिमाली बस्ती हो।
तिप्लिङकै वडा नम्बर ५ का सुलेमान तामाङ सहित ५/६ जनाको समूहमा आएका यूवाहरुले कक्षाकोठा भित्र प्रवेश गरी एक्कासी खुकुरी कुटपिट गर्दै खुकुरी लगायतका धारिलो हतियार प्रहार गरि घाईते बनाएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। दुई समूहमा रहेका विद्यार्थीहरु बिच पहिलेदेखि जारी रहेको मनमुटावका कारण सोही विद्यालयमा पढ्ने विद्यार्थीहरुको एक समूहले बिहीवार तामाङमाथि खुकुरी हानेको स्थानीयले वताएका छन।
धारिलो हतियार प्रहारबाट तामाङको टाउको, हात र खुट्टामा गम्भीर चोट प्रहरीले जनाएको छ। खुकरी प्रहारबाट सख्त घाइते भएका तामाङलाई तिप्लिङ स्वास्थ्य चौकीमा प्राथमिक उपचार गराई थप उपचारका लागि काठमाडौंबाट झिकाईएको हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ। शिक्षकले पढाउँदै गरेको बेला कक्षाकोठाभित्र हातमा खुकुरी र अन्य हतियार सहित कक्षाकोठा भित्रपसेको समूहले कुटपिट गर्दै खुकुरी प्रहार गरी भागेको स्थानीयले बताएका छन।
त्यस्तै सोही गाविसको वडानं ३ मा बुधबार राति युवाहरुको बिचमा भएको झगडामा खकुरी प्रहार हुँदा चे घले घाइते भएका थिए। दुबै घटनामा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। घटनास्थल अति विकटमा रहेको छ भने सडक र प्रभावकारी सञ्चारको पहुँच समेत पुग्न सकेको छैन। गाविसभरीका वासिन्दाको लागि तिप्लिङ ठूलो गाउँमा रहेको २ लाईन भिस्याट फोनबाट महंगो शुल्क तिर कुराकानी गर्नुपर्ने वाध्यता छ।