लेटाङ–भोगटेनी नगरपालिकाको कार्यालय। पहिले गाविस रहेकै स्थानमा नगरपालिका कार्यालय राखिएको छ। तस्बिर : खिलानाथ/सेतोपाटी
लेटाङ नगरपालिका (साबिक वडा नं. ७)का छबिरमण भट्टराईलाई आफू बसेको स्थान नगरपालिका भइसक्यो भन्दा सपनाजस्तो लाग्छ।
गत शुक्रबार लेटाङ–भोगटेनी नगरपालिकाको कार्यालय लेटाङ बजारमा क्रसर उद्योगका कारण गाउँ सखाप हुन लागेपछि के गर्ने भन्ने विषयको अन्तरक्रिया कार्यक्रममा बोल्ने क्रममा उनी झुक्किए, 'लेटाङ गाविस कि नगर पो रे!'
हलमा हाँसोको फोहरा छुट्यो।
उनले फेरि भने – नगरपालिका हो भन्ने अनुभूति भएको छैन।
कुनै पनि हिसाबले भर्खरै फस्टाउँदै गएको गाविसलाई सरकारले एकैपल्ट नगरपालिका घोषणा गर्दा यहाँका स्थानीय छक्कमात्र परेका छैनन्, नगरपालिकाबाट के सुविधा पाइएला विश्वास गर्न सकिरहेका छैनन्।
नगरपालिकाका निमिक्त प्रमुख जीवन भण्डारी आफैं यहाँको समस्यादेखि दिक्क छन्।
लेटाङ नगरपालिकामा बर्खा सुरू भएपछि स्थानीय गाग्रो बोकेर पिउने पानी खोज्न मुहान खोज्दै हिँड्छन्। यहाँ ब्रिटिश सरकारले बनाइदिएको खानेपानी आयोजनाको भर छ।
यो २४ वर्षपहिलेको हो।
त्यतिबेला थोरै बस्तीलाई लक्षित गरेर बनाइएको खानेपानी आयोजना अहिले कयौं गुणा जनसंख्या बढे पनि थप विकसित हुन सकेको छैन।
'यहाँ ट्युबेल लगाउने प्रयास गरियो तर पानी आएन,' लेटाङ क्याम्पस व्यवस्थापन समिति अध्यक्ष टेकबहादुर खड्का भन्छन्, 'बर्खा लागेपछि थाप्लोमा नाम्लो लगाएर पानी खोज्दै हिँड्नुपर्ने बाध्यता छ।'
पहाडको फेदी भएका कारण ट्युबेलमा पानी नआएको स्थानीयको भनाइ छ।
नगरपालिका बनेपछि अब भने केही राहत पाइएला कि भन्ने उनलाई लागेको छ।
गुवाबारीमा रहेको सानो खानेपानी आयोजनाको भरमा यहाँका स्थानीय टिकेका छन्। तर यो पर्याप्त छैन। पानीमा लोडसेडिङ भइरहन्छ।
निमिक्त प्रमुख भण्डारीका अनुसार अहिले साना सहरी खानेपानी आयोजनामार्फत लोखरा खोलामा ओभरहेड ट्याङ्की बन्ने अवस्थामा छ। यो लेटाङ बजारबाट डेढ किलोमिटर उत्तर पर्छ। त्यसैगरी, लक्ष्मीखेतमा पम्प गाड्ने काम भइरहेको छ। यी दुई खानेपानी आयोजना सफल भएमा केही राहत पाउन सकिने आश छ।
निमिक्त प्रमुख भण्डारीको नजरमा यो त केही समस्यै हैन। भोगटेनी गाविस मिसाएर सरकारले नगरपालिका घोषणा गरेपछि अब त्यहाँका जनताले पाउने दुःख कसरी निदान गर्न सकिएला भन्ने पीरमा भण्डारी छन्।
टेलिफोन र मोबाइल सम्पर्कसमेत कठीन हुने भोगटेनी गाविसका स्थानीयले नगरपालिका कार्यालय आइपुग्न २८ किलोमिटर पैदल हिँड्नुपर्छ।
यो २८ किलोमिटर पार एकदिनमा हम्मेहम्मे हुन्छ।
विवाह दर्ता, जन्मदर्ता वडा समितिबाटै हुन्छ। यी सुविधा पहिले गाविसले उपलब्ध गराउँथ्यो।
तर नाता प्रमाणित गर्न नगरपालिका आइपुग्नैपर्छ। गाउँठाउँमै गाविसमा हुने नाताप्रमाणित भोगटेनीबासीका लागि अब महंगो भएको छ।
कामफत्ते गरिकन घर पुग्दा तीन दिन समय चाहिन्छ।
'गाविस रहिरहेको भए,' भोगटेनीका स्थानीय होमबहादुर मगर भन्छन्, 'नाता प्रमाणित गर्न यत्रो हिँड्नुपर्छ भने नगरपालिका भएको के अर्थ भो र!'
उनका अनुसार त्यहाँको १,२,३ र ४ नम्बर वडा केराबारी पायक पर्छ। यहाँका स्थानीयले लेटाङलाई हैन, भइहाले केराबारीमा नगरपालिका राख्नुपर्ने माग गरेका थिए। जिल्ला विकास समितिदेखि स्थानीय विकास मन्त्रालयसम्म यहाँका स्थानीयको डेलिगेशन नै गएको थियो।
भोगटेनीका स्थानीयलाई केराबारीजति पायक पर्ने सहर कतै छैन। भोगटेनीको १ नम्बर वडा त केराबारीसँगै जोडिएको छ।
भोगटेनीका स्थानीयलाई बजार किनमेल गर्न तराई नै झर्नुपर्ने बाध्यता छ। भोगटेनीमा किनमेल गर्न सुविधासम्पन्न बजार छैन।
'हाम्रो बजार भनेकै केराबारी हो, बस्तुभाउ बिक्री वितरणदेखि खाद्यान्न ओसारपसार त्यहाँ हुन्छ,' मगर भन्छन्, 'लेटाङ त त्यस्तै काम परेमात्र गइन्थ्यो, नगरपालिकाको कार्यालय नै त्यहीँ भएपछि अब नगएर सुख पाइँदैन।'
निमिक्त प्रमुख भण्डारीका अनुसार नगरपालिका भएका कारण अब त्यसका नियम कानुन पालना गराउन भोगटेनी गाविसलाई निकै मुस्किल पर्छ।
जग्गाको नक्साङ्कन, सिमांकन, चार किल्ला प्रमाणित गराउनुपरे भोगटेनीका मान्छे लेटाङ आउनैपर्छ। नआए कानुनअनुसार कारबाही गर्नैपर्ने हुन्छ।
'यतिका हिँडेर कोही नक्सा पास गर्न आउँदैनन्,' उनी भन्छन्, 'नगरपालिका न निल्नु न ओकल्नुजस्तै भएको छ, हेरौं विस्तारै विकास होला नि।'
लेटाङ–भोगटेनी कच्ची रोडको ट्र्याक खुले पनि यहाँ कुनै सवारीसाधन गुड्दैनन्। यातायातको पहुँच नभएकाले हिँड्नुको विकल्प छैन।
सरकारले गत पुस महिनामा थप ७२ वटा नगरपालिका घोषणा गरेको थियो। जम्मा तीन हजार ९ सय १६ गाविसमध्ये २८३ गाविस घटाएर ती नगरपालिका घोषणा गरिएको थियो।