अनन्तलिंगेश्वर नगरपालिका वडा नं १ बालकोटका जीतबहादुर खड्काको कपास र लुगा पेल्ने कारखानामा आज साँझ आगलागी भएको छ । आज राति ८ः४५ बजेदेखि अचानक आगलागी सुरु भएको हो । भक्तपुर नगरपालिका, ललितपुर उपमहानगरपालिका र काठमाडौँ महानगरपालिकाबाट तीनवटा दमकलको प्रयासले विहान मात्र आगो नियन्त्रणमा आएको छ ।
सडकको छेउमै रहेको कारखानामा आगलागी भएकाले बस्तीमा आगो फैलन नदिन स्थानीय बासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले प्रयास गरिरहेका छन् ।
कारखानाका सन्चालक खड्काका अनुसार तीन रोपनी क्षेत्रफलमा फैलिएको कारखाना भित्र रहेका कपडा, कपास र मेशिनमा एकैपटक आगलागी भएको बताउँदै कसैले नियतवश आगलागी गराएको आशंका गर्नु भयो । उहाँका अनुसार रु १५ लाखको मेशिनसहित रु ३५ लाख वरावरको क्षति भएको छ ।
स्थानीय बस्तीमा आगलागी फैलने सम्भावना नभए पनि राति ११ बजेसम्म पनि आगो नियन्त्रणमा आउन सकेको छैन । रासस