दोलखाको पर्यटकीय नगरी जिरी जाने सडक मैनापोखरी बजारको विचैबाट जान्छ। मैनापोखरी बजारमै छ गोमा खड्काको पसल। ग्राहकहरुलाई कपडा छान्न लगाएर उनी कुराकानी गर्न लागिन्। '१३ वर्षको उमेरमा विवाह भयो। १६ वर्षमा छोरो जन्मियो। त्यसको ३ वर्षपछि छोरी जन्मिई।'
जेठी दिदिको विवाह हुने भयो। माईली दिदीको पहिल्यै विवाह भैसकेको थियो। एकै लगनमा २ छोरीको विवाह गरिदिन पाए खर्च जोगिने परिवारलाई लागेको थियो। उनलाई पनि माग्न छिमेकी गाविसका केटा आए। उनको विवाहको कुरा छिनियो। 'अहिलेजस्तो भए बालविवाहमा कानुन लाग्थ्यो होला!' काब्रे ६ कि गोमा खड्काले विवाहको प्रसङ्गबाट कुराकानी सुरु गरिन्।
२०५८ सालमा उनको विवाह भयो। गाँउमा भएको खेतबारीमा उब्जिएको अन्नले परिवार चलाउन गाह्रो थियो। २०६३ सालमा परिवारै काठमाडौं छिर्यो। काठमाडौं छिरेपछि परिवार पाल्न झनै समस्या भयो। श्रीमानको कामको टुङ्गो थिएन। उनि व्यापार गर्न लागिन्। 'कैले फुटपाथमा गरें। होलसेलमा गरें। के काम गरिएन र भाई!'
श्रीमानलाई मुखबाट रगत बग्ने रोग लाग्यो। श्रीमान विरामी भएपछि परिवार गाँउ फर्कने भयो। काम गर्दा बचाएको १५ हजार रुपैंया साथमा थियो। 'त्यही पैसाले २०६५ सालमा मैनापोखरी आएर यो पसल किनेकी हुँ। पसलमा अहिले १० लाखको सामान छ।'
सानो कोठामा व्यवस्थित पसल। चारैतिर मिलाइएका कपडाहरु। छेउमा रहेको फोटोको फ्रेममा श्रीमान र उनको तस्विर। अघिल्तीरको सो केशमा कपडासँगै बेच्न राखिएका महिला श्रृङ्गारका सामाग्री।
पसल सुरु गरेको १ महिनापछि श्रीमानको मृत्यु भयो। छोराछोरी सानै थिए। परिवार तथा गाँउलेहरुले यसले अव घर गरिखान्न भनेर कुरा काट्न लागे। पसलमा सामान थप्नका लागि ऋण कसैले पत्याएनन्। 'परिवारले पैसा लिएर (पोईल) हिँड्छे, नदिनु भनेछन। पैसा चाँही पाईयो तर मुस्किलले। कसैले यसरी टिकेर गरिखान्छे भन्ने त सोचेकै थेनन्।'
पसलमा सामान थाप्न स्थानिय जनसचेतन सहकारीका कर्मचारीहरु नै जमानी बसेपछि सहकारीले उनलाई ५० हजार रुपैंया ऋण पत्यायो। त्यसपछि उनको व्यापारलाई देखेर सहकारीहरुले ऋण पत्याँउन लागे। 'अहिले त ५ लाख ऋण सहकारीबाट लिएको छु।'
व्यापारबाट मासिक ३० हजार जतिको कारोबार हुन्छ र नाफा १० हजार जति हुन्छ। सहकारीका किस्तामा कहिल्यै पनि हर्जाना लागेको छैन। यस व्यवसायबाट म जनसचेतनसहित ५ ओटा सहकारीमा वचत गर्छु। छोरा सुमन १४ वर्ष भयो र छोरी सुमित्रा ११ वर्ष। छोरो ८ कक्षामा र छोरी ६ कक्षामा हनुमन्तेश्वर उ.मा.वि मा पढ्छन। परिवारको खर्च लगायत अन्य खर्च धान्ने श्रोत यहि पसल हो।
औपचारिक शिक्षा लिनका लागि उनी कहिल्यै विद्यालय जान पाईनन्। पसलमा हुने लाखौंको हिसाब उनले मुखैले राखेकी छिन। पहिला पहिला ल्याप्चे लगाउँथीन। एउटा संस्थामा ऋणका लागि फरम भर्दा ल्याप्चे लगाउन लाग्दा कर्मचारीले पत्याएनन। 'त्यत्रो पसल चलाएकी मान्छे। तिमीले सही गर्न नि नजान्ने!', यो भनाईले उनलाई आफ्नो नाम लेख्ने प्रेरणा दियो। यसपछि उनले आफ्नो नाम लेख्नका लागि छोराछोरीसँग सिकाई मागिन। 'उनिहरुसँग सिकेर अहिले नामचाँही लेख्छु।'
'जती दूखः पाउनु पाइयो। अव नपाइए हुन्थ्यो। व्यवसाय गर्दै जाँदा काम गर्न सक्छु भन्ने विश्वास पलाएको छ। 'हिजो कसैले पनि घर गरि खान्छे भन्ने सोचेका थिएनन्। अहिले मेरो प्रगतिमा सबैजना छक्क परेका छन्' कुराकानीको अन्तमा उनले भनिन्।