'महिनाको एक करोड तलबमा खर्च हुन्छ। तर, वार्षिक १८ करोड तलबमै सकिन्छ, कसरी? मलाई पनि थाहा छैन।' केही दिनअघि नेपाल टेलिभिजनको कार्यालय पुग्दा अध्यक्ष नीर शाहले भने। सरकारी संस्थानको बेहाल त सबै ठाउँमा छ। तर, शाह स्थापना गर्दा पनि नेपाल टेलिभिजनको प्रमुख थिए, अहिलेपनि छन्।
उनी नेपाल टेलिभिजनका अध्यक्ष मात्र होइनन्। नेपालको पहिलो टेलिभिजनकर्मी पनि हुन। त्यसो त टेलिभिजनकर्मीमात्र उनको परिचय होइन। उनी चलचित्र निर्माता, निर्देशक, कलाकार, गीतकार, प्रशासक र व्यापारी पनि हुन्। जीवनरुपी इन्द्रेणीमा उनलाई टेलिभिजन कर्म नै चहकिलो रङ बनेको छ। उनकै शब्दमा आत्मसन्तुष्टिका लागि उनी टेलिभिजन कर्ममा ६१ वर्षको उमेरमा पनि तल्लीन छन्।
व्यक्तिगत रहर र योजनाले उनी पहिलो टेलिभिजनकर्मी बनेका होइनन्। उनी त देशको राजनीति र प्रशासनलाई सराप्दै देश छोड्दा जीवनमा धेरै उपलब्धी पाउँछु भन्दै बेलायत भासिएका थिए।
तत्कालीन शाही नेपाल चलचित्र संस्थानका जागिरे शाहलाई विरोधीले सूचना विभागमा सरुवा गरिदिए। कलाकार मन भएका शाहको सूचना विभागमा कुनै काम थिएन रे। तै पनि उनी अफिस गए। थोत्रो अफिसमा उनले कागज र कलम भेटे। त्यसैमा उनले आफ्नो पहिलो चलचित्र वासुदेवको स्कृप्ट लेख्न भ्याए। 'सूचना विभागको कागज र मसी मलाई वासुदेवको स्कृप्ट लेख्न काम लाग्यो' शाह भन्छन्।
तीन दिन सूचना विभागको अफिसमा गएपछि उनलाई कामप्रति मात्र होइन, राजनीति र देशप्रतिनै वितृष्णा जाग्न थाल्यो। चौथो दिनमा उनले राजिनामा पत्र लेखेर अफिसमा बुझाए। त्यो स्वीकृत भयो या भएन उनले हेक्का राखेनन्। देशलाई धिकार्दै उनी बेलायततिर हान्निए। त्यतिबेला उनी ३० वर्षका थिए। उनीसँग जोश जाँगर थियो र महत्वकांक्षा पनि।
बेलायतमा उनी फिल्म पढ्न कलेज भर्ना भए। पहिलो सेमेष्टर सकिएपछि कलेज विदा भयो। शाह फ्रान्स घुम्न निस्कीए। बेलायत वा फ्रान्स जहाँ गएपनि उनी राजदुतको सम्पर्कमा रहिरहन्थे। पेरिसमा उनी नेपाली दूतावास नजिकैको होटलमा बसे। पेरिस घुमिनसक्दै राजदूतले उनलाई श्री ५ को सरकारले पठाएको एउटा टेलेक्स थमाए। शाहले सोचे– राजीनामा स्वीकृत भएछ।
टेलेक्स हेर्दा थाहा भयो उनको राजीनामा स्वीकृत भएको होइन रहेछ। बरु उनलाई नेपाल टेलिभिजन परियोजना प्रमुख नियुक्त गरेर हाजिर हुन सूचित गरिएको रहेछ। टेलेक्स हेरेर उनी फिस्स हाँसे। किनकी देशको राजनीतिलाई त उनले धिक्कारेका थिए। पेरिस पुगेपनि फेरि फर्कन चिठी आयो। फर्कनुपर्छ भन्ने लागेन। मज्जाले पेरिस घुमे।
लण्डन फर्केपछि सबैले उनलाई भने देशमा टेलिभिजन चलाउने कुरा भइरहेको छ, तपाईंलाई जिम्मेवारी दिएको छ। किन जानुहुन्न? उनी दोधारमा परे जाउ कि नजाउ? सोच-विचार गरेर निर्णयमा पुगे – जान्छु, सके राम्रै हुन्छ नसके फेरि परदेशको जिन्दगी त छँदैछ।
नेपाल पुगेपछि उनलाई तत्कालीन सञ्चार मन्त्रालयका सचिव जीवनलाल सत्यालले नियुक्ती पत्रको खाम दिँदै भने, 'ल, चलाउनुस् टेलिभिजन।' शाह सम्झन्छन् 'सत्यालको ब्यङ्ग्य मिसिएको हाँसोले मलाई झन दृढ बनायो। त्यतिबेलै अठोट गरे, 'टेलिभिजन त जसरी पनि चलाउँछु।'
सरकारले टेलिभिजन परियोजनाका लागि १ लाख रुपैयाँ छुट्याएको थियो। उनी आउन्जेल ६६ हजार खर्च भइसकेको थियो। बाँकी ३४ हजार बोकेर शाहले टेलिभिजन सुरु गर्ने संकल्प गरे। उनको साथमा त्यतिबेला थिए, नायव सुब्बा केदार भट्टराई र चालक बाबुकाजी महर्जन।
तीन जनाको टिमलाई एक कोठाको अफिस थियो। सरकारले टेलिभिजन चलाउने त भनेको थियो तर साँच्चै नेपालमा टेलिभिजन चल्ला र? भन्नेमा सबै शंका गर्थे। त्यस्तै भयो तत्कालीन राजा वीरेन्द्रको अष्ट्रेलिया भ्रमणमा। शाहले राजाको भ्रमण टेलिभिजनमा देखाउने योजना सुनाए। दरवारको संवाद सचिवालयले वैठक बोलायो। विभिन्न विभागका प्रमुख वैठकमा थिए। शाहले राजाको अष्ट्रेलिया भ्रमण टेलिभिजनमा देखाउन सकिने बताए। उनको कुरा सुनेर बैठकमा हाँसोको फोहरा छुट्यो। उनी भन्छन्, 'वैठकमा भएका सबै वेवकुफजस्तो लाग्यो। रिसको झोकमा दरबारबाट निस्कें।'
उनकै शब्दमा बेवकुफको मजाकलाई उनले यथार्थमा बदलिदिए। राजाको क्यानवेरा भ्रमणलाई श्याम चित्रकारले क्यामेरामा कैद गरे। दुर्गानाथ शर्माले बोले। त्यही भिडियोबाट नेपाल टेलिभिजनको नियमित प्रसारण सूरु भयो। र, त्यो अहिलेसम्म रोकिएको छैन।
तर, नीर शाहको जीवनमा भने उतारचढाव आइरह्यो। २०४९ सालमा उनी टेलिभिजनबाट राजीनामा दिएर 'जुँगा लाएर' फिल्म खेल्न थाले। उनले २ सय ७५ जति फिल्म खेले। केही निर्देशन पनि गरे। केहीमा लगानीसमेत गरे। उनले बनाएको पछिल्लो चलचित्र 'सेतो बाघ' यही चैत २७ गते रिलिज हुँदैछ।
फिल्ममा उनले धेरै किसिमका अभिनय गरेका छन्। अभिनय पनि महसुस गरेर नै गरे। धेरै पात्र र चरित्रलाई पर्दामा उतारे। त्यसमा हृदयघात भएर मरेको अभिनय पनि गरेका छन्। तर, त्यो अभिनय उनले रियल जिन्दगीमा भोग्नुपर्यो। गत असार १४ गते उनलाई छातीमा समस्या देखिएपछि अस्पताल भर्ना गरियो। वेडमा पल्टदा श्रीमतीलाई छेउमा देखेका शाह ब्युँझँदा डाक्टरले घेरिएका थिए। चार दिनसम्म कोमामा बसेपछि मात्र विसेक भएछ।
मृत्युको मुखबाट फर्केपछि शाहलाई थाहा भयो फिल्ममा गरेको 'हर्ट अट्याकको अभिनय त वाइयात रहेछ। उनले भने, 'हर्ट अट्याकको पीडा त शब्दमा वर्णन नै गर्न सकिँदैन।' कोमाबाट फर्केपछि उनले हृदयघातको कारण मानिएको चुरोट चटक्क छोडिदिए। गम्भीर हुँदै थपे, 'अब हर्टअट्याकको सिन गर्नु पर्यो भने पहिलेको भन्दा राम्रो गर्न सकुँला।'
घुम्दैफिर्दै शाह फेरि नेपाल टेलिभिजन पुगेका छन्। आफैले सुरु गरेको संस्थामा २३ वर्षपपछि फर्कदा उनलाई विछोडिएको परिवारसँग मिलन जस्तो भएको छ। तर, उनको त्यो परिवार आजपनि समस्याग्रस्त छ। ३ जनाबाट सुरु भएको नेपाल टेलिभिजनको यात्रामा अहिले सयौं कर्मचारीले साथ दिएका छन्। कर्मचारीको वार्षिक तलबमात्र १८ करोड पुग्छ।
सरकारले वर्षेनी करौडौं रुपैयाँ लगानी गरेको छ। 'तर, खर्च भएको रकमको उपादेयता हामीले देखाउन सकेका छैनौं' शाह भन्छन्, 'देशकै सर्वश्रेष्ठ च्यानल बन्नु पर्नेमा आज हामी कान्छा च्यानलले के कार्यक्रम बनाए त्यसैको नक्कल गर्न बाध्य छौं।' उनले नेपाल टेलिभिजनलाई जनउत्तरदायी सार्वजनिक प्रसारण संस्था बनाएरै छाड्ने संकल्प व्यक्त गरे।
उनले भनें 'धेरै विषयमा अध्ययन गरिरहेका छौं। रिर्पोट आएपछि कार्यन्वयन प्रक्रिया अघि बढ्छ।' उनलाई टेलिभिजन सुरु गर्दा जति उत्साह थियो अहिले त्यति नै साहस छ।
देशलाई धिक्कारेर विदेश भासिएका नीर शाहलाई देशले नबोलाएको भए के हुन्थ्यो? प्रश्न नसकिँदै उनले भने, 'यहि भन्ने त ग्यारेन्टी छैन, हुनसक्छ हलिउडमा ट्रली धकेल्दै हुनेथिएँ की।'
तस्विरहरू : प्रकाश लामा/ सेतोपाटी
पहिलो पटक २०७१ साल माघ १७ गते प्रकाशित यो स्टोरी पुनः प्रकाशन गरिएको हो- सम्पादक