मानिस जन्मेपछि सबैभन्दा ठूलो डर मृत्युको हुन्छ। त्यसैले होला कुनै धर्म वा शुभ कार्यको लागि बलिदान दिनुलाई अरबी भाषामा सहिद भनेर सम्मान गरिँदो रहेछ। पुराना धर्मिक कथा पढ्दा पनि महाभारतको लडाइँमा पाण्डवका तर्फबाट धेरैले सहादात हासिल गरेका थिए।
आज माघ १६ सहिद दिवस,
हामी ४ जना सहिद गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्री गरी अन्य धेरै सहिदहरुलाई सम्झने गर्छौ।
सहिद दिवसको नाममा सरकारी छुट्टी मनाउँछौ र फेरि आ-आफ्नो धुनमा हराइहाल्छौं।
के सहिद हुन सजिलो छ? गंगालाल श्रेष्ठलाई विष्णुमति किनारमा लगि गोली हानियो। तर, मलाई लाग्छ परिवर्तनका लागि लडेका उनी एउटै गोलीले पक्कै ढलेनन् होला। छातीमा बलेको स्वतन्त्र नेपाल प्रतिको आगो जाबो गोलीले के मारोस्?
दशरथ चन्दलाई पनि शोभा भगवतीमा लगेर गोली हानियो। उनको छातीमा गोलीले पारेको प्वालले उनको दृढ निश्चयलाई पक्कै पनि उनले आफ्नो अन्तिम साससम्म पनि तोडेनन्।
धर्मभक्त माथेमा र दशरथ चन्दलाई पनि राणाहरुले झुन्डाए। तर, घाँटीमा पासोले गर्दा झुन्डिएको शरीरले जब साथ छोड्दै गयो त्यसबखत पनि उनीहरु झुकेनन् बरु मृत्यु सहर्ष स्वीकारे। परिवर्तन चाहिएको देशमा उनीहरुले परिवर्तनको विगुल फुकी छोडे।
विसं १९९७ मा सहिद भएका नेपालका यी ४ देशभक्तले नेपालीलाई गुण लगाएको पनि ७४ वर्ष पुगिसक्यो। पहिले राणा हटे त्यसपछि राजा हटेर अहिले देशमा लोकतन्त्र आएको छ। हामी सब नेपालीलाई विदितै छ देश अहिले कुन स्थितिबाट गुज्री रहेको छ भनेर।
परिवर्तनको लागि आफ्नो ज्यान दिएका सहिदहरुलाई र उनीहरुको परिवारलाई देशले के दिएको छ। खाली माघ १६ मा सरकारी छुट्टी र सहिद सप्ताह।
वर्षभरि बन्द हुने सहिदगेटको ढोका आज खोलिएको छ सहिदहरुको मूर्तिमा माला चढाउन। के त्यति नै हो सहिदहरु प्रति हामी नेपालीहरुको कर्तव्य?