नवलपरासीको प्रगतिनगरस्थित पशुपति साङ्वेद आवासीय संस्कृत माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छजना विद्यार्थी तीन दिनदेखि सम्पर्क बाहिर रहेको छन।
विद्यालयमै रहेका चोरमाराका विकास रेग्मी, बागलुङका चिरञ्जीवी शर्मा, यज्ञराज आचार्य, कावासोतीका कविर तिवारी, पोखराका मनिष सिग्देल र काठमाडौँका रामप्रसाद सापकोटा बुधबार राति १० बजेदेखि हराएको प्रधानाध्यापक बाबुराम गौतमले बताए।
त्रैमासिक परीक्षाको नतिजा राम्रो नभएकाले सुधारको बारेमा आग्रह गर्दा उनीहरुले विद्यालय छोडेको बताइएको छ । छात्रावासमा दैनिक विद्यार्थी हाजिरी गर्दा छ जना नभेटिएपछि खोजी भएको हो । ७० जना विद्यार्थी यहाँ आवासीय रुपमा पढ्दै आएका छन् ।
बर्सेनी एक दुईजना विद्यार्थी यो अवधिमा हराउने र खोज्ने क्रममा हरिद्वार भेटिने गरेको थियो । अहिले उनीहरु कता गए भन्नेमा खोजी भइरहेको विद्यालयले जनाएको छ । घर पुगेकी भनेर अभिभावकलाई सोधखोज गर्दासमेत पत्ता लगाउन नसकेपछि प्रहरीमा खोजी गर्न आग्रह गरेका छौँ गौतमले भने ।
देशभरिबाट संस्कृत पढ्न यहाँ विद्यार्थी आउने गर्दछन् । आवासीय रुपमा बस्दा उनीहरुलाई नीति नियम कडा लाग्ने गरेकाले विद्यालय बाहिर जाने गरेको स्थानीयवासीले बताएका छन् ।
कर्मकाण्डका लागि ब्राह्मण जातका बालक यहाँ पढ्नका लागि ल्याइन्छ । हराएका विद्यार्थी खोजीका लागि प्रहरीले आफ्नो सक्रियता देखाएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ । रासस